
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको गजुलस्थित एनसेल टावरमा आगजनी भएको भन्दै जिल्ला प्रहरी कार्यालयलले मंगलबार विप्लवविरुद्ध मुद्दा दायर गरेको हो ।
प्रहरीले विप्लवसँगै जिल्लाका अन्य एक दर्जन नेताहरुविरुद्ध पनि मुद्दा दायर गरेको छ । परिवर्तन गाउँपालिका इरिबाङमा जन्मिएका विप्लवविरुद्ध रोल्पामा पहिलो पटक मुद्दा दायर भएको छ । जनयुद्धकालभरी समेत विप्लवविरुद्ध रोल्पामा मुद्दा दायर भएको थिएन ।
एनसेल टावरमा आगजनीको आरोपमा प्रहरीले नेकपाका स्थानीय नेता टिकाराम नेपाली, लालबहादुर परियार र सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँका दिपेन्द्र सिंहलाई गिरफ्तार गरेको छ । प्रहरीले उनीहरु एनसेल टावरमा आगजनीमा संलग्न भएको आरोप लगाएको छ ।
यसैबीच शान्तिपूर्ण राजनीति कार्यक्रममाथि हस्तक्षेप गरेको नेता–कार्यकर्ताहरुलाई धरपकड, दमन र गिरफ्तारी बढेको भन्दै नेकपाले प्रतिरोध गर्ने बताएको छ । प्रहरीलाई झुटा रिपोर्ट दिएको, दमन गर्न उक्साएको भन्दै नेकपाका कार्यकर्ताले गंगादेवी गाउँपालिकाका अध्यक्ष वीरबहादुर केसीको गाडीमा आगजनी गरेका छन् । त्यस्तै त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तराज ओलीको गाडीमा पनि आगजनी भएको छ ।
नेकपा रोल्पाले यसअघि विज्ञप्तीमार्फत गिरफ्तार नेताकार्यकर्ताहरुको रिहाई र दमनको अन्त्य नगरिए संघर्षमा जाने चेतावनी दिएको थियो ।
नेकपाल एनसेलमाथिको कारवाहीको जिम्मा दिँदै कर छलेको कारण चेतावनी स्वरुप देशभरका कारवाही गरिएको बताएको थियो ।
महासचिव विप्लवले एउटामा लामो आलेख लेख्दै एनसेलमाथि मात्र कारवाही नभएको र उसँको संरक्षण गर्ने–साँठगाँठ गर्नेलाई समेत कारवाही गर्ने चेतावनी दिएका थिए ।







