सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनै पनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन्। उनले उक्त सहमतिले कतै राष्ट्र टुक्राउने कुरालाई वैद्यता त प्रदान गर्दैन् ? भन्दै प्रश्न समेत तेर्साए।

सरकार र सीके राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले भने, ‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन्। सरकारले त्यस्तो प्रयास गर्नुपर्छ। तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन्।’

उनले थपे, ‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थैं। तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन्। उहाँले यसअघि राष्ट्र विरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन र म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन।’

रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्देश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सीके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा देशको एक इन्च पनि भूमि टुक्रयाउन पाइँदैन भनेर बोलेको उल्लेख गर्दै रावलले भने, ‘तर, हिजो स्वतन्त्र मधेश संगठन र सरकारबीच सहमति भएको छ। यसले के अर्थ दिन्छ? स्वतन्त्र मधेश भनेको के हो? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ।’

रावलले हिजोको सहमतिसँगै अब स्वतन्त्र मधेश गठबन्धन भन्ने पार्टी देशैभरि खुल्ने पनि सुनाए। उनले भने, ‘सामान्य अर्थमा भन्ने हो भने नाम नै पार्टीको काम हो, यो कुरा हाम्रा साथीहरुले बुझ्नुपर्छ। नाम मात्रै भन्ने हो भने हाम्रो पार्टीको नाम पनि भृकुटीमण्डप पार्टी राखे भैहाल्यो नि।’ उनले समग्रमा हिजोको सहमति त्रुटीपूर्ण रहेको सुनाए। उनले भने, ‘यसले सिँगो देश र जनतालाई आघात पुर्याएको छ।’

हिजोको सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई बैद्यता त प्रदान गर्दैन भन्दै उनले प्रश्न गरे। उनले भने, ‘कतिपय कुराको परिणाम तत्काल आउँदैन्। ५, १० र २० वर्षपछि परिणाम आउँछन्।’

पार्टीभित्र छलफल नभएकोमा आक्रोश 

यत्रो सहमति गर्दा पनि पार्टीभित्र छलफल नभएकोमा आक्रोश पोख्दै रावलले भने, ‘पार्टीमा यस विषयमा छलफल गर्नुपर्दैन? मैले त सहमति हुन्छ भन्ने थाहा पाएपछि नेताहरुमार्फत आफ्नो मत प्रेषित गरेको थिएँ। हाम्रै पार्टीका साथीहरुले पनि भाषाहरु परिवर्तन गर्नुपर्छ भन्नुभएको थियो। तर, सच्याइएन। पार्टी भनेको सामूहिकतामा चल्नुपर्छ। एक/दुई जनालाई जे मन लाग्यो, त्यही गर्ने भए किन पार्टी चाहियो?’

सहमति गर्नुअघि किन यो कुरा बाहिर पारदर्शी रुपमा नआएको भन्दै रावलले प्रश्न गरे। उनले भने, ‘सुनियोजित र अन्य कुरा छैन भने बैठकमा कुरा राख्न किन गाह्रो भयो?’ रावलले उक्त सहमतिबारे पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने माग गरे। उनले थपे, ‘यस विषयमा बहस हुनुपर्छ। यस्तो संवेदनशील विषय आउँदा बैठक बोलाउनुपर्देन्? यसले भोलि सिँगो राष्ट्र र पार्टीलाई क्षति हुन्छ। र, भोलि देश र जनता नै प्रताडित हुने अवस्था आउँछ।’

‘गृहमन्त्रीको राजीनामाबारे पार्टीमा छलफल हुन्छ’

उनले यो सहमतिमा हस्ताक्षर गर्ने गृहमन्त्री रामबहादुर थापाको राजीनामाबारे अब बस्ने बैठकमा छलफल हुने पनि जिकिर गरे। उनले भने, ‘अब बस्ने पार्टीको बैठकमा यो विषयमा छलफल हुन्छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार