
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ क्रान्तिकाे उद्घाेष गरिरहेका नेत्र विक्रम चन्द विप्लव र राप्रपा नेता कमल थापालार्इ निस्तेज पार्ने चेतावनी दिएका छन् ।
सोमवार काठमाडाैंमा अायाेजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राजसंस्थाको एजेण्डा बोक्ने राप्रपा र अर्काे जनयुद्धको त्रास फैलाइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई संकेत गर्दै निमिट्यान्न पार्ने धम्की दिएका हुन्।
ओलीले विप्लव नेकपालार्इ चन्दा लिने र लुटपाट गर्ने समुहकाे रूपमा चित्रित गर्दै त्याे सरकारलाई मान्य नहुने धम्की दिए। ‘देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधी सरकारलाई मान्य हुँदैनन्’, उनले भने, ‘कोही मृत संस्था जिवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन्। ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ।’
साेमबारै मात्र सत्ताधारी नेकपाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि विप्लव नेतृत्वको पार्टीलाई कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा आउन आग्रह गरे।
पोखरामा आयोजित पत्रकार सम्मेलनमा दाहालले सरकारले सबैलाई समेटेर अघि बढ्ने स्पष्ट पारे।
नेपालमा विस्फोट तथा हतियारको राजनीतिको अब कुनै अर्थ नरहेको बताउँदै उनले वर्तमान परिस्थिति गुणात्मकरूपमा परिवर्तित भइसकेको र विस्फोट तथा हतियारको राजनीति अब सम्भव नभएको र त्यस सम्बन्धमा राज्य चुप लागेर नबस्ने चेतावनीसमेत दिए।







