
दश विध्यार्थी संगठनका नेताहरुले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’सँग भेटेर विप्लव नेकपामाथि प्रतिवन्ध हटाउनेबारे भेटघाट तथा छलफल गरेकाे छ ।
केन्द्रीय कार्यालय बुद्धनगरमा महासचिव वैद्यसहित पार्टीका स्थायी समिति सदस्य सीपी गजुरेलकाे उपस्थिति रहेकाे भेटमा विध्यार्थी नेताहरुले राखेको जिज्ञासामा वैद्यले वर्तमान ओली सरकारको दुई तिहाइको तम्भ तोड्न विद्यार्थी नेताहरूलार्इ सशक्त रुपमा अगाडि बढ्नु पर्ने विचार व्यक्त गरेका थिए ।
महासचिव किरणले रेशम चौधरीको जन्मकैद, सिके राउतसँग गरिएको ११ बुँदे सम्झौता र नेकपा विप्लवमाथि लगाएको प्रतिबन्धको विरोधका साथै प्रतिपक्षीय विद्यार्थी आन्दोलनको साझा मुद्दाको रुपमा राष्ट्रिय स्वाधीनताको मुद्दा र शिक्षा क्षेत्रमा बढ्दो निजीकरण, व्यापारीकरण तथा माफियाकरणको विषयलाई पनि सशक्त रुपमा उठाउनु पर्ने सुझाव दिएका थिए ।
महासचिव किरणले हालै पार्टीको स्थायी समितिको बैठकले ओली सरकारले रेशम चौधरी र नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएका विषयहरु राजनीतिक भएकाले समाधान पनि राजनीतिक हिसाबले गरिनु पर्ने र प्रशासनिक ढंगले हल गर्न खोजिनु गलत र निन्दनीय भएको निष्कर्ष निकालेको समेत बताएका थिए । पृथकतावादी आन्दोलन चलाइरहेका सिके राउतसँग रहस्यमय ढंगले अप्रत्यासित रुपमा गरिएको ११ बुँदे सम्झौता देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डतासँग अभिन्न रुपमा जोडिएको संवेदनशील विषय भएकोले पार्टीले गम्भीर रुपमा लिएको महासविच किरणले बताए ।
साे भेटमा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, महासविच पेशल दाहाल लगायतका नेताहरुले समन्वय गरेको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा नेकपा विप्लवको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, नेपाली कांग्रेसको विद्यार्थी संगठनका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाही, नेकपा (माले) निकट अनेरास्ववियू (पाँचौं) का अध्यक्ष घनश्याम मिश्र, नेकपा (माके)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी सहभागी थिए ।
त्यसैगरी साेही भेटमा नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अखिल नेपाल विद्यार्थी युनियन प्रविण मिश्र, राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्याल, समाजवादी विद्यार्थी फोरमका प्रतिनिधि रञ्जित झा, राजपाको विद्यार्थी संगठनको तर्फबाट श्याम यादव लगायतका नेताहरुले देशमा गम्भीर राजनीतिक संकट उत्पन्न भएको र राजनीतिक निकासका लागि सदन र सडकबाट आन्दोलनको आँधिवेहरीको उठान गर्नुपर्ने आवश्यकता औल्याउँदै त्यसका निम्ति पहल गर्न र लिन महासविच वैद्यको ध्यानाकर्षण गराएका थिए ।







