
मंगलबार राती काभ्रेको रोशी गाउँपालिका वडा नम्बर २ काफल डाँडामा नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका कार्यकर्तासँग दोहारो भिडन्त भएको खबर सार्वजनिक भयो। भिडन्तका क्रममा विप्लव नेकपाका चार जना कमाण्डर पक्राउ परेको पनि प्रहरीले बताएको छ।
उनीहरुको परिचय खुलाइएको भने छैन। गस्तीको टोलीमाथि विप्लव नेकपा कार्यकर्ताले फायर खोलेपछि दोहोरो भिडन्त भएको प्रहरीको दाबी छ। तर प्रहरीको दाबी र रोशी २ काफलडाँडा जहाँ दोहोरो भिडन्तको खबर आएको छ, वास्ताविकता भने फरक भएको स्थानीयको भनाइले पुष्टि गरेको छ।
कस्तो छ भिडन्त भनिएको ठाउँ ?
काभ्रेको रोशी गाउँपालिका वडा नम्बर २ मा ३२ घरधुरी छन्। केही घर काठमाडौं र केही कामको सिलसिलमा बाहिर गएका छन्। यो गाउँमा एउटा तामाङ र एउटा भुजेलेको बाहेका बाँकी ३० घरधुरी मगर समुदायको छ। मंगलबार राती भिडन्त भएको भनिएको ठाउँको नाम पाखाबारी हो।
पाखाबारीमा महाभारत प्राविको भवन बन्दैछ। विद्यालय भवन भएको ठाउँ र भिडन्त भनिएको स्थल नजिकै पर्छ। यो ठाउँमा बीपी राजमार्गको कटुन्जेबाट मोटरसाइकालमा जाँदा डेढ घण्टाजति लाग्छ। हिँडेर जाँदा साढे २ घण्टा जति। यो गाउँ महाभारत लेकको तलपट्टि पर्छ र यो गाउँभन्दा माथिल्लो भेगतिर मानव वस्ती छैन, महाभारत श्रृंखलाको जंगलै जंगल पर्छ। घटनास्थल भनिएको ठाउँ वरपर कुनै घर छैन। ठाउँ सुनसान छ। पाखोबारी, खाली ठाउँ छ।
के हो वास्ताविकता ?
यो गाउँमा विप्लव नेकपाको कुनै प्रभाव छैन। सोमबार साँझ विप्लव नेकपाका २० जनाजति कार्यकर्ता काफलडाँडा पुगेको खबर गाउँमा गाइँगुइँ सुनियो। उनीहरु गाउँमा ककसको घरमा बसे के के भने के गरे गाउँलेले बताउन चाहेका छैनन्। यसअघि विप्लव नेकपाको नाम लिएर कुनै पनि मान्छे यो गाउँ पसेका थिएनन्। सोमबार राती मात्रै पहिलो पटक गएका हुन्।
मंगलबार दिउँसो उनीहरु कहाँ गए र के गरे पनि थाहा नभएको काफलडाँडाका गाउँलेले बताए। मंगलबार साँझपख तिनै अपरिचितमध्येका २ जना गाउँबाट तल झरे (बीपी हाइवेतिर)। ती दुईजना र उनीहरु चढेको बाइक पछि गाउँ फर्किएन। उनीहरु झरेको एकाध घण्टापछि सुरक्षाकर्मीको गाडी काफलडाँडातिर आयो। हेड लाइट नबालिकनै।
गाडीमा प्रहरी थिए वा सैनिक गाउँलेले थाहा पाएनन्। उनीहरुका अनुसार गाडीमा सिभिल ड्रेसका १५,२० जना थिए। उनीहरु माथितिर आउँदै गरेको बेला झम्के साँझ परेको थियो। करीब ७ बजेतिर। ठीक त्यही बेला अघिल्लो राती गाउँ पसेका दुुईजना तल झर्दै रहेछन्। महाभारत प्रावि नजिकको पाखाबारी मोडमा गाडीका मान्छे र उनीहरुको जम्का भेट भयो।
गाडीको पछाडी केही मान्छे हिँडेर पनि आएका थिए। सायद, सुरक्षाकर्मीले उनीहरुलाई रोकेर केरकार गर्न थालेपछि उनीहरु भाग्न खोजे र भाग्न खोजेपछि प्रहरीले फायर खोल्यो। ४ राउण्ड गोली चलेको आवाज सुनिएको काफलडाँडाका पूर्व नेकपा माओबादी केन्द्रका वडा कमिटि अध्यक्ष बीरबहादुर मगरले जानकारी दिए।
त्यही बेला उनीहरु पक्राउ परेको हुनसक्ने उनको अनुमान छ। तर कति पक्राउ परे भन्ने गाउँलेलाई थाहा छैन। तल पाखाबारीमा फायररिंग भएपछि, अलिक माथि डाँडोमा बसेका विप्लव नेकपाका अरु कार्यकर्ता भने भागे। प्रहरीको गाडी भने करीब पौने घण्टाजतिपछि, यो ठाउँबाट फर्कियो।
भिडन्तको प्रमाण के छ ?
काभ्रे रोशी गाउँपालिका २ को काफलडाँडा, प्रहरी चौकी खहरे पाँगुबाट मोटरसाइलमा करीब ४० मिनेटमा पुगिन्छ। हिँडेर जाँदा साढे दुई, साढे दुई घण्टा जस्तो लाग्छ।
भिडन्त भएको भनिएको ठाउँमा आज बिहान स्थायनीय खहरे पाँगु प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार सहितको टोलीले अबलोकन गरेको छ। तर घटनास्थलमा रुपाल, टोपी, मोबाइल, रगतका टाटा जस्ता कुनै पनि भिडन्तको दसी नदेखिएको, अनुमगनमै संलग्न स्थानीय माओबादी केन्द्रका कार्यकर्ता बीर बहादुर मगरले जानकारी दिए।
के भन्छ स्थानीय प्रहरी ?
प्रहरी चौकी खहरे पाँगुका हवल्दार हेमा लामाले, भिडन्तबारे आफुहरुलाई मंगलबार राती कुनै जानकारी नभएको बताए। यसअघि काफलडाँडमा गस्ती लगायतका सुरक्षा गतिविधि समेत केही नगरिएको उनले जानकारी दिए। यहाँ विप्लव नेकपाको गतिविधि र केन्द्रीय प्रहरीको एक्सनबारे कुनै सुइँको नपाएको उनको भनाइ छ।
गाउँमा विप्लव नेकपाको गतिविधि र सुरक्षाकर्मीको आकश्मिक सक्रियाता पछि गाउँलेहरु नचिनेका मान्छेसँग बोल्न पनि डराउन थालेका छन्।
जिल्ला र स्थानीय प्रहरी इकाइलाई समेत थाहा नदिइ महानगरीय अपराध अनुसन्धान महाशाखा महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली काभ्रेमा थियो।
विप्लव नेकपाको गतिविधि बढेको सूचना पाएपछि परिचालित यो टोलीले उनीहरुलाई फलो गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीको दाबी छ। विप्लव नेकपाले भने यो घटनाबारे बोलेको छैन। २८ फागुनको मन्त्रिपरिषद बैठकले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएपछि, प्रहरीले सक्रियता बढाएको छ।
२८ फागुन यता विप्लवका पोलिटब्युरो सदस्य मोहन कार्की सहित करीब जना नेता कार्यकर्ता पक्राउ परिसकेका छन्।
काभ्रेबाट हाम्राकुरा अनलाइनले तयार पारेकाे रिपाेर्ट ।







