तपाईं आफैँ सम्मिलित भएको जनयुद्धको आवश्यकता र औचित्यमाथि नयाँ शक्ति पार्टी नेपालको आफ्नै मत छँदैछ । हिजोको जनयुद्धको इतिहासप्रति गौरवान्वित हुँदै विप्लव समूहले पुनः जनयुद्धको हुँकार गरिँदैछ, यसलाई कसरी हेर्नुभएको छ ?

जनयुद्ध शुरू गरिहाल्ने पक्षमा उनीहरू छैनन् । समाजमा असन्तुष्टि हुन्छन् । आक्रोश हुन्छन् । त्यो विभिन्न ढंगले व्यक्त हुन्छ । समाजका यस्ता विद्रोह, आक्रोश निरङ्कुशताका विरुद्ध संसारभरि चलेको घटना हो । नेपालमा पनि राणा शासनविरुद्ध बीपी आफैँले हतियार उठाउनुभयो । पछि एमालेले पनि पञ्चायतविरुद्ध हतियार उठायो । हामी आफैँले पनि राजतन्त्रविरुद्ध हतियार उठायौँ । त्यो एउटा कालखण्ड थियो ।

अहिले यही संविधानभित्रबाट, यही संविधान टेकेर शान्तिपूर्ण जनसङ्घर्ष गरेर नभएका कुरा पूरा गर्दै जान सकिन्छ । पुनः हतियारबन्द सङ्घर्ष गर्न आवश्यक छैन । त्यसैले विप्लव नेतृत्वको नेकपाले जुन गतिविरोधी गर्न खोजेको छ, त्यो युवाहरूमा रहेको असन्तुष्टि खासगरी गरिबी, बेरोजगारी र भ्रष्टाचारबाट वाक्कदिक्क भएका मानिसहरूको निराशा, फ्रस्टेसन छ, त्यसको उनले दोहन गर्न खोजेका हुन् । त्यसले कहीँ पनि पुर्‍याउँदैन । त्यसको खास म भविष्य देख्दिनँ ।

केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचार व्याप्त बनायो । आर्थिक विकास, समृद्धि, सुशासनको प्रत्याभूति दिन सकेन, त्यसले नै विप्लवजस्ता प्रवृत्तिको जन्म भएको हो ।

हिजोको क्रान्तिलाई संस्थागत गर्न नसकेको, चरम संसदवादमा भासिएको भन्दै विप्लव समूहले त तपाईंहरू खासगरी प्रचण्ड र बाबुराम भट्टराईलाई पनि आरोपित गरिरहेको छ नि !

बहस छलफल त भइनै रहन्छ । को कहाँ भासियो, उत्रियो भनेर त इतिहासले पुष्टि गर्ने कुरा हो । लोकतन्त्रलाई अझ उन्नत लोकतन्त्र बनाउँदै जान हामी प्रतिबद्ध छौँ । लोकतन्त्रले मुख्यढोकामात्रै खोलेको छ । अरू सहायक ढोकाहरू, भित्री ढोकाहरू त खोल्दै जानुपर्छ । त्यसैले यो सधैँका लागि अन्त्य भयो, हामीले कहीँकतै भनेका छैनौँ ।

संसार गतिशील छ, परिवर्तनशील छ, नियमित अघि बढिरहन्छ । हामी नयाँ शक्ति पार्टी नेपाल पछिल्लो ज्ञान–विज्ञानमा आधारित शक्ति हो । यसले लोकतन्त्रलाई अझै लोकतान्त्रिकरण गर्छ । सुशासन र सदाचार कायम गर्छ । देशका सवै वर्ग, जाती, लिङ्ग, समूदायलाई लोकतन्त्रको प्रत्याभूति गराउँछ । देशमा दीगो विकास र समृद्धि ल्याउँछ ।

नयाँ शक्ति नेपालले विप्लव नेतृत्वको नेकपालाई हतारमा प्रतिबन्ध लगायो भनेर टिप्पणी गरेको छ, किन ? 

यसमा सरकारले बुद्धि पुर्‍याएन । ढङ्ग पनि पुगेन । हिजो आफैँ विद्रोह गरेर आएको शक्तिहरूले दमन गरेर, प्रतिबन्ध लगाएर कुनै पनि राजनीतिक समूह सिध्धिँदैन भनेर बुझ्नुपर्दैन ? पञ्चायती व्यवस्थाले कांग्रेस–कम्युनिस्टलाई प्रतिबन्ध लगाएको होइन ? उनीहरू सिध्धिए ? हिजोको पछिको व्यवस्थाले माओवादीमाथि प्रतिबन्ध लगाएको होइन ? सिध्धियो त माओवादी ? प्रतिबन्धले समस्याको हल हुँदैन, उहाँहरूले बुझ्नुपथ्र्यो ।
समस्याको मूल जरो कारण त्यसलाई समाधान गर्नुपर्छ भन्नेमा ध्यान नदिइनु सरकारको कमजोरी हो ।

बाह्रखरी अनलाइनसँगकाे कुराकानीकाे सानाे अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार