
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपालाई चैत महिनाभित्र नियन्त्रण गरिसक्ने दाबी गरेका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक महिनापछि विप्लवका गतिविधि कतै नभेटिने दावी गरे ।
‘वहाँहरु (विप्लव) सहमतिमा आए ठिकै छ नत्र विप्लव समुहका अतिवादी क्रियाकलाप चैत भित्रै सरकारले नियन्त्रण गर्छ,’ ओलीले भने ।
कतिपयले कम्युनिस्ट नाम भएकाले लुटेको पनि ठीकै छ भनेको भन्दै उनले सरकारले छुट नदिने बताए ।
विप्लवप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले थपे, ‘यस्तो प्रवृतिलाई सरकारले चैतभित्रै नियन्त्रण गर्छ ।’
प्रधानमन्त्री ओली विप्लव समूहका बाँकी नेताहरुलाई पनि पक्राउ गर्ने संकेत गरेका छन् । उनले भने, राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउँछौं । सहज आउनुहुन्छ भने आउनुहुन्छ, आउनु हुन्न भने जेलमा बसेर आउनुहुन्छ ।’
उनले सरकारले असाधारण काम गरेपनि पार्टी भित्रैबाट प्रचार हुन नसकेको गुनासो पनि गरेका छन् ।







