स्थायी समिति सदस्य सुदर्शनसति देशभर गिरफ्तार नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेकपाले यही चैत्र १६ गते नेपालबन्दको घोषणा गरेको छ ।

नेकपाका महासचिव महासचिव नेत्र विक्रम चन्द विप्लवले सोमबार राती एक प्रेस विज्ञेप्ती जारी गर्दै ओली सरकारले देशमा सबै पार्टी, नागरिक समाज र अगुवाहरुको विरोधका बाबजुद घोषणा गरेको प्रतिवन्धका विरुद्ध पनि आफुहरुले बाध्य भएर नेपालबन्दको घोषणा गर्नु परेको बताएका छन् ।

महासचिव विप्लवले ओली सरकारले आफ्नो संकटलाई ढाकछोप गर्न प्रतिबन्धको घोषणा गरेको बताएका छन् ।

‘‘केपी सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको छ । हाम्रा पार्टीका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शन, पीबीएम कमरेड जीवन्त, केन्द्रीय सदस्यहरू कमरेड प्रज्वलन, कमरेड बन्धुलगायत दर्जनौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ भने देशव्यापी अप्रेसन सञ्चालन गरिरहेको छ ।”विज्ञप्तिमा भनिएको छ, ”केपी वली सरकारको यो फासिवादी, निरङ्कुश, दमनकारी, आपराधिक दमनका विरुद्ध र कमरेड सुदर्शनलगायत नेताहरूको रिहाइका निम्ति स्थायी समितिको निर्णयअनुसार यही चैत १६ गते शनिबार देशव्यापी आमहड्तालसहित नेपाल बन्दको आह्वान गर्दछौँ ।’’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल बन्द हाम्रो चाहना नभई फासिवादी दमनका विरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौँ । यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ । यसैगरी केपी वलीको फासिवादी सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको छ । यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछौँ । तथापि हाम्रो बन्द हाम्रै आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएकाले १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन आग्रह गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अन्त्यमा हामी सबै देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट, विभिन्न क्षेत्रका उद्योगी–व्यवसायी र आमजनतालाई बन्द सफल पारी केपीको फासिवादलाई प्रतिरोध गर्न विशेष अनुरोध गर्दछौँ ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार