
तपाईंको नजरमा विप्लव कस्ता व्यक्ति हुन् ?
विप्लवजीलाई म राम्रै मान्छु । राजनीतिमा जुझारु, फुर्तिलो, नयाँ केही गर्नुपर्छ भन्ने व्यक्ति हुन् । वैचारिक रूपमा कतिपय कुराहरु हाम्रा मिलेनन् । त्यसमा हाम्रा विमतिहरु भए । नत्र केही गर्नुपर्छ भन्ने आँटिलो युवा हुन् ।
विप्लवलाई सुझाव के छ ?
वार्ताबाट समस्या समाधान गरिनुपर्छ । उहाँहरुले मान्ने नमान्ने छुट्टै कुरा भयो । तर वार्ता गर्नुपर्छ । पहिला सरकारले राजनीतिक व्यवहार गर्नुपर्यो । राजनीतिक व्यवहार नगरिसकेपछि वार्ताको अर्थ हुँदैन । तर पनि फेरि भन्छु विप्लवजीलाई सही राजनीति अवलम्बन गरेर जानुस् ।
सरकारले विप्लवलाई सघाउनेलाई पनि कारबाही हुन्छ भनेको छ नि ?
कुन प्रसङ्गमा भन्नुभयो त्यही थाहा भएन । तर पनि विज्ञप्ती निकालेका सबैलाई कारबाही गर्नुहुन्छ भने पहिला नेपाली काँग्रेसलाई गर्नुपर्यो । उहाँ (प्रधानमन्त्री) जसरी बोल्नुभएको छ, त्यो तरिका ठीक होइन । हामीले राजनीतिक भाषा बोलेका छौँ । अन्य दलले पनि राजनीतिक भाषा बोलेका छन् । प्रतिबन्ध गलत हो । त्यो राजनीतिक समस्या हो, राजनीतिक तवरले नै हल गरिनुपर्छ ।
एकताको कुरा पनि भएको थियो, तपाईंहरुबीच ?
पहिला हामीले कुरा गरेका थियौँ । त्यसबेला हाम्रा कुरा मिलेनन् । पछिल्लो समय कुरा चलेको छैन । तर एकता गर्न सकिन्छ । त्यसका लागि वैचारिक राजनीतिक कुरा मिल्नु पर्यो ।
सरकारले विप्लव नेतृत्वको पार्टीका नेताहरु नै धमाधम प्रक्राउ गरेको छ । विप्लवलाई सङ्गठन जोगाउनै गाह्रो हुनेजस्तो देखिन्छ हैन र ?
त्यो के हुन्छ त अहिले हामीले भन्न मिल्दैन । तर त्यसरी प्रक्राउ गर्नु हुँदैन । राजनीतिक समस्या हो, राजनीतिक तवरबाटै हल गरिनुपर्छ । धरपकड गरेर, याताना दिएर, दमन गरेर समस्याको समाधान हुँदैन ।
प्रतिबन्धलाई लिएर राजनीतिक ध्रुवीकरण बढेको देखिन्छ । त्यसको असर के हुन्छ भन्ने लाग्छ ?
हेरौँ अब कसरी जान्छ । अहिले नै यो हुन्छ भनेर भन्न सकिने स्थिति छैन । तर सरकारको व्यवहारले विप्लवजीहरुले बढी सहानुभूति पाउने कुरा भयो । प्रतिपक्षीदेखि अन्य पार्टी सबैले प्रतिबन्ध समाधान होइन, त्यसलाई राजनीतिक तवरले लिइयोस् । प्रशासनिक रूपमा विषयलाई नलिइयोस् भनेर सबैले भनेका छन् । त्यो विप्लवप्रतिको सहानुभूतिको कुरा हो । यो कुरा सरकारले बुझ्नुपर्छ ।
फासीवादी व्यवहार भनेको के ?
राजनीतिक समस्या समाधानका लागि राजनीतिक रूपमै जानुभन्दा पनि दमनात्मक तरिका अपनाएर सबैलाई सिध्याउन सकिन्छ भन्नु नै हो । पहिले पहिलेका राज्यले पनि त्यही गर्थे । बाहिरबाट हेर्दा कम्युनिस्टको सरकार भनेर गइसकेपछि अर्को कम्युनिस्ट पार्टीलाई कसरी ‘डिल’ गर्ने भन्ने हुनुपर्यो । यद्यपि उहाँहरु वास्तवमा कम्युनिस्ट होइन । तर पनि उहाँहरुले त आफूलाई कम्युनिस्ट भन्नुहुन्छ । कम्युनिस्ट नभएर लोकतान्त्रिक भन्नु हुन्छ भने पनि लोकतान्त्रिक पद्धति अपनाएर जानुपर्यो । कुनै पार्टीसँग ‘डिल’ गर्दा चरण, प्रक्रिया हुन्छन् । यी कुनै नअपनाई एकै पटक उत्कर्षमा पुगेर त्यस किसिमको व्यवहार गर्नु राम्रो होइन । त्यसले कुनै हालतमा राम्रो गर्दैन ।
सरकारले विप्लवलाई सघाउनेलाई पनि कारबाही हुन्छ भनेको छ नि ?
कुन प्रसङ्गमा भन्नुभयो त्यही थाहा भएन । तर पनि विज्ञप्ती निकालेका सबैलाई कारबाही गर्नुहुन्छ भने पहिला नेपाली काँग्रेसलाई गर्नुपर्यो । उहाँ (प्रधानमन्त्री) जसरी बोल्नुभएको छ, त्यो तरिका ठीक होइन । हामीले राजनीतिक भाषा बोलेका छौँ । अन्य दलले पनि राजनीतिक भाषा बोलेका छन् । प्रतिबन्ध गलत हो । त्यो राजनीतिक समस्या हो, राजनीतिक तवरले नै हल गरिनुपर्छ ।
रातोपाटी अनलाइनसँगको कुराकानीको सानो अंश ।







