
नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले ओली सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिवन्धको घोर विरोध गरेका छन् ।
विप्लव नेकपालाई सरकारले कुनै सार्थक वार्ताको प्रयास नगरिकन हठातमा प्रतिबन्ध घोषणा गरेर अधिनायकवादी हैकम लाद्न खोजेको आरोप लगाएका छन् ।
जनपाटी अनलाइनसँगको वार्तामा कांग्रेसका केन्द्रीय सदस्य घिमिरेले विप्लव नेकपाले कुनै युद्धको घोषण नगरेको बेला सरकारले युद्ध शुरु भएजस्तै गरेर प्रतिबन्धमार्फत दमनको बाटो अख्तियार गरेको भन्दै त्यो कदम बेठीक भएको बताएका छन् ।
दश वर्षे जनयुद्धबाट आएका प्रचण्डले आफ्नै पूर्व सहकर्मी विप्लवलाई प्रतिबन्ध लगाउँदा ठूलो बेज्जत भएको भन्दै कांग्रेस युवा नेता घिमिरेले वार्ताबाट निकासका लागि पहल गर्न प्रचण्डलाई अनुरोध गरे ।
विप्लव नेकपाका गतिविधि हिंशात्मक भएको खण्डमा त्यसलाई आफ्नो कानुनअनुसार कार्वाही गर्नु उचित भएपनि सिंगो राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउनु बेठीक भएको प्रतिक्रिया दिए ।
अहिले देशमा विप्लव नेकपाका नेता कार्यकर्तालाई धमाधम गिरफ्तार गरेर सरकारले आफ्नै संविधानको खिल्ली उडाएकोमा नेता घिमिरे आक्रोश व्यक्क्त गरे ।
ओलीको हठातले देश द्धन्द्धतिर जाने भन्दै प्रधानमन्त्री ओलीले गंभीरतापूर्वक वार्ताको पहल गर्नुपर्ने नेता घिमिरेको तर्क छ ।







