
नेपाल कम्युनिस्ट पार्टीले केही दिन अघि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेकाप्रति आपत्ति जनाएको छ ।
महसचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै अाफ्नाे पार्टीका विरूद्ध निराधार समाचार लेखेर जनतामा भ्रम छरिएकाे भन्दै अापत्ति जनाएका छन् ।
‘‘केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेका छन् । शृंखलाबद्ध र योजनाबद्धरुपमा सम्प्रेशित यस्ता भ्रामक समाचारहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।” विज्ञेप्तीमा भनिएकाे छ, ”नेपालमा भएका सबै परिवर्तनकामी आन्दोलनहरुको बैठान गलत तरिकाले हुन गई देश र जनताले अहिलेसम्म धोका पाइरहेको परिप्रेक्ष्यमा हाम्रो पार्टीले यी सबैखाले धोकाधडी, षडयन्त्रहरुलाई चिर्दै जनतामा झाँगिएको अविश्वासलाई विश्वासमा, निराशालाई आशामा बदल्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नै पुनर्गठित गर्दै अघि बढिरहेको पार्टी जसले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई सशक्त रुपमा उठाइरहेको छ, उक्त पार्टीका विरुद्ध हुँदै नभएका कपोलकल्पित समाचार सम्प्रेशण गर्नु वास्तवमा पत्रकारिता हुँदैन ।”
महासचिव विप्लवले भ्रामक समाचार नछाप्न र नलेख्न सबै मिडियाहरूलार्इ अनुराेध गरेका छन्।
”म्यानुफ्याक्चरिङ कन्सेन्टको नीतिका आधारमा लगानी र विज्ञापन बढाउन कसैको निर्देशन र दवावमा यस्ता समाचार उत्पादन गर्नु ठीक होइन । विगतमा जनताद्वारा सञ्चालित परिवर्तनकामी आन्दोलनहरुमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहेको छ ।” विज्ञेप्तीमा भनिएकाे छ, ”तर भ्रामक र असत्य समाचारहरु जनता र राष्ट्रकालागि घातक हुन जान्छन् । तसर्थ हाम्रो पार्टीका बारेमा बिना तथ्य, अनावश्यक, असत्य र भ्रामक समाचार सिर्जना गरी सम्प्रेशण नगर्न सम्बन्धित सबैमा अपील गर्दछ ।’’








