
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका मोरङ जिल्ला इन्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई तत्काल रिहा गर्न माग गरेको छ ।
पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले विज्ञप्ति जारी गरेर बिनाकारण ‘सामाजिक दलाल फासिवादी सरकार’को निर्देशनमा प्रहरी प्रशासनले पार्टीका जिल्ला इन्चार्ज श्रेष्ठलाई गिरफ्तार गरेर श्रेष्ठलाई झुठा मुद्धामा फसाउन खोजेको भन्दै निन्दा गरेका छन् ।
श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचामा हिडिरेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो । श्रेष्ठलाई हातहतियार तथा खरखजना सम्बिन्धि मुद्धा लगाएर फसाउन खोजिएको भन्दै इन्चार्ज विरहीले बिरोध गरेका छन् ।
राष्ट्रियता र जनताको पूर्ण अधिकारको लागि राजनीतिक आन्दोलन चलाइरहेको अवस्थामा पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ता र समर्थकमाथि दमन र धरकपड मच्चाएको भन्दै कमान्डले विरोध गरेको छ ।
इन्चार्ज विरहीद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली उत्पीडित तथा श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध र नेता कार्यकर्ताको गिरफ्तार फासिवादको भद्दा नमूना हो, यसबाट केपी–बादल कम्पनीले सामाजिक दलाल पुँजीवादबाट सामाजिक फासिवादतर्फ पतन हुन्दैछ” भन्ने कुरा पुष्टि भएको छ ।’
गिरफ्तार सबैलाई तत्काल बिनासर्त रिहा नगरिए जनप्रतिरोधमार्फत संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
‘‘गिरफ्तार परेका कमरेडहरुलाई तुरुन्त रिहा नगरिए जनप्रतिरोधमार्फत कडा कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी पनि सम्बन्धित पक्ष नै हुनेछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।








