
प्रसंग बदलौं, विप्लव नेतृत्वको नेकपालाई क्रान्तिकारी माओवादीको हेर्ने दृष्टिकोण के हो ?
विप्लव नेतृत्वको नेकपालाई हेर्ने हाम्रो दृष्टिकोण भौतिकवादी द्वन्द्ववाद हो, त्यस समूहका कमीकमजोरी वा दुर्बल पक्षको हामीले सैद्धान्तिक रुपमा आलोचना तथा विरोध र सबल पक्षलाई प्रोत्साहित गर्दछौं ।
वार्ता टोलीसमेत निर्माण गरी कार्यगत एकता र पार्टी एकताका प्रक्रियाहरु अगाडि बढाइएका थिए । त्यो किन अगाडि बढ्न सकेन ?
विप्लव नेतृत्वको नेकपासित कार्यगत एकता र पार्टीको एकताको आवश्यकता प्रक्रियाबारे हामीले गम्भीर जिम्मेवारीबोधका साथ निरन्तर पहल गर्यौं । परन्तु, उहाँहरुले विषयलाई गम्भीरतापूर्वक लिनु भएन ।
क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपाबीच रहेका सैद्धान्तिक वैचारिक तथा नीति कार्यक्रमहरुमा रहेका भिन्नताहरु के हुन् र विप्लव नेतृत्वको नेकपा लगायत अन्य क्रान्तिकारी समूह तथा व्यक्तिहरुसँगको एकताको आधार के हुन सक्छ ?
विप्लव पक्षसित मार्क्सवाद–लेनिनवाद–माओवादलगायतका कतिपय विषयमा समान समझदारी भए पनि नेपाली क्रान्तिको आधारभूत कार्यक्रम, नीति र कार्यदिशाका बारेमा हाम्रा कैयौं भिन्नताहरु पनि छन्, उहाँहरु नेपाली क्रान्तिको वर्तमान चरणमा कहिले एकैसाथ नयाँ जनवाद तथा समाजवाद दुवै र कहिले समाजवाद भन्नुहुन्छ । अनि उहाँहरुले भन्ने गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा अत्यन्त अमूर्त, अस्पष्ट र रहस्यमय देखिन्छ ।
त्यसैगरी उहाँहरु सत्ता साझेदारीको कुरा गर्दै आउनुभएको छ । त्यो पनि के हो अस्पष्ट छ । अनि उहाँहरुले मजदुर वर्गको ठाउँमा मध्यमवर्गलाई क्रान्तिकारी बताउनुहुन्छ । त्यस्तै उहाँहरु उत्तर–साम्राज्यवादको कुरा गर्नुहुन्छ । उत्तर साम्राज्यवादी पदावलीले त साम्राज्यवाद समाप्त भएको भन्ने अर्थ दिन्छ । उहाँहरुको के कुरा हो, त्यो पनि स्पष्ट छैन । भिन्नताका कुरा यस्तै यस्तै छन् । यी विषयबारे हाम्रो कहिल्यै स्पष्ट र खुला छलफल र बहस भएको छैन ।
जहाँसम्म विभिन्न क्रान्तिकारी कम्युनिष्ट समूहहरुसित पार्टी एकताको आधारहरुको कुरा हो, ती मूलतः यी हुन् : (१) मार्क्सवाद, लेनिनवाद, माओवाद (२) नयाँ जनवाद (३) बल प्रयोगको सिद्धान्त (४) जनवादी केन्द्रीयताको मान्यता । यी पार्टी एकताका मोटामोटी आधार हुन् । यस अतिरिक्त अन्तर्राष्ट्रिय र नेपाली कम्युनिष्ट आन्दोलनसित सम्बन्धित विषयमा पनि समान समझदारी हुन जरुरी छ ।
नेपाली कम्युनिस्ट आन्दोलनभित्र क्रान्तिकारी धारको मूल नेतृत्व तथा शिखर व्यक्तित्वको हैसियतमा यहाँले छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा ल्याउन पहलकदमी पटकपटक गर्नुभयो र गरिरहनु भएको छ । यसमा के कस्ता चिन्तन र प्रवृत्तिहरुले अवरोध उत्पन्न गरिरहेका छन् ?
हो, यस सम्बन्धमा पहलकदमी बारम्बार तथा निरन्तर गरिएको छ । यस प्रक्रियामा अवरोध पैदा हुनुमा मूलतः वैचारिक तथा राजनीतिक कारणहरुले काम गरेका छन् । अझै ठोसरुपमा भन्नुपर्दा सम्बन्धित पक्षको मूल नेतृत्वपंक्तिमा विद्यमान केही संकीर्णता, केही अहम् र दक्षिणपन्थतिरको सन्निकटकताजस्ता चिन्तन र प्रवृत्तिले काम गरेको देखिन्छ ।
नेकपा (क्रान्तिकारी माओवादी)ले क्रान्तिको आम कार्यदिशा भनेर नयाँ जनवादी क्रान्ति भनेको छ । क्रान्ति पूरा भयो, बन्दुकको औचित्य सकियो, अब आर्थिक क्रान्तिको पालो हो भनेर कम्युनिस्टकै आवरणमा एकथरि मानिसहरुले कोकोहोलो मच्चाइरहँदा संक्षिप्तमा नयाँ जनवादी क्रान्तिका आधारहरुबारे प्रष्ट पारिदिनुस् न ।
कम्युनिष्ट आवरणमा रहेका कतिपय तत्वहरुले नेपालमा राजनीतिक क्रान्ति पूरा भएको अब आर्थिक क्रान्ति गर्नुपर्छ भनेर कोकोहोलो मच्चाइरहेका छन् । राजनीतिक क्रान्ति र आर्थिक क्रान्ति बेग्लाबेग्लै चरणमा गरिने क्रान्ति होइनन्, ती एउटै समग्रताका भिन्न पक्ष हुन् । वस्तुतः नेपालमा नयाँ जनवादी क्रान्ति अझै सम्पन्न भएको छैन । नेपालमो नेपाली जनवादी क्रान्ति गर्नु वा हुनुपर्ने आधार वा कारण मूलतः यी हुन् : पहिलो, हाम्रो देश अझै पनि अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा मूलतः नवऔपनिवेशिक अवस्थामा छ ।
आन्तरिक रुपमा यहाँको प्रतिक्रियावादी शासकवर्गले वैदेशिक प्रतिक्रियावादसित साँठगाँठ गरेर आफ्नो आयु लम्ब्याएको छ भने बाह्य रुपमा यहाँ राजनीतिक, आर्थिक, सामाजिक तथा सामरिक क्षेत्रमा विभिन्न प्रकारका हस्तक्षेप जारी नै छन् । भारतीय विस्तारवादसित गरिएका व्यापार, पारवहन, जलविद्युतलगायत तमाम क्षेत्रमा भए गरिएका असमान सन्धिहरु कायमै छन् । दोस्रो, यहाँ एकातिर दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्ग र अर्काेतिर साम्राज्यवाद तथा विस्तारवादको दोहोरा शोषण उत्पीडन कायमै छ ।
तेस्रो, यहाँ स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र र औद्योगिक पुँजीको विकास हुन सकेको छैन, दलाल तथा नोकरशाही पुँजीको आधिपत्य छ । चौथो, यहाँ अझै पनि भूमि समस्याको समाधान भएको छैन । जमिनमाथि सामन्ती उत्पीडन तथा निर्वाहमुखी कृषि प्रणाली कायमै छ । कृषिको आधुनिकीकरण तथा व्यावसायीकरण हुन सकेको छैन । किसानहरु अझै मुक्त हुन सकेका छैनन् । पाँचौं, यहाँ महिला, दलित, जनजाति, मुस्लिम तथा मधेसी समुदाय उत्पीडनको मारमा छन् । क्षेत्रीय उत्पीडन र असन्तुलन कायमै छन् । छैठौं, यहाँ राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरुको अझै समाधान हुन सकेको छैन । उक्त सबै आधारहरुमाथि ध्यान दिंदा यहाँ नयाँ जनवादी क्रान्तिको आवश्यकता अझै छ ।
नयाँ जनवादी क्रान्तिको तयारी क्रान्तिकारी माओवादीले कसरी गरिरहेको छ ? क्रान्तिका कार्यनीतिक स्टेपहरुमा पार्टी अलमलिएको र अकर्मण्यतामा फसेको हो कि भन्ने पनि इतर वृत्तबाट आउने गरेका छन् । यसबारेमा स्पष्ट पारिदिनुस् न ।
हामी आफ्नै किसिम र तरिकाले नयाँ जनवादी क्रान्तिको तयारीमा लागिरहेकै छौं । हाम्रो कार्यक्रम, नीति तथा कार्यदिशासम्बन्धी सोच र मान्यता पनि मूलतः सही र्नै छन् । यी विषयमा परस्थितिको आरोह–अवरोध जटिलतासितै विकास पनि गर्दै जानु पर्दछ । जहाँसम्म कार्यनीतिको स्टेपहरुमा अल्मलिएको र अकर्मण्यतामा पार्टी फसकेको हो कि भन्ने प्रश्न छ । यसलाई दुई ढंगले हेर्दा र बुझ्दा राम्रो हुन्छ ।
पहिलो कुरा त हामीमा केही कमी–कमजोरी तथा सीमा पनि छन् । तिनलाई सच्याउँदै र तिनमा विजयहरुसित गर्दै जानुपर्छ । दोस्रो, अहिले हामी एकातिर अजङ्गको दक्षिणपन्थी, अवसरवादी पहाडलाई फोर्दै र अर्काेतिर निम्न पुँजीवादी अधैर्यका बारबन्धनहरुलाई तोड्दै क्रान्तिको बाटो खन्न गइरहेका छौं । अझै हामी क्रान्तिका बाङ्गाटिङ्गा गोरेटा र घोरेटा हुँदै अगाडि बढ्नुपर्दछ । हाम्रो गन्तव्य स्पष्ट छ र भविष्य समुज्ज्वल छ ।
नेपालको भूराजनीतिक विशिष्टता र क्रान्तिको मोडलका बारेमा संक्षिप्तमा बताइदिनुस् न । किन नेपालको वाम वा लोकतान्त्रिक आन्दोलनमा इण्डिया हाबी र निर्णायक भइरहन्छ ? स्वतन्त्र हैसियतमा नेपालमा किन राजनीतिक आन्दोलनहरु निर्णायक बन्न सकिरहेका छैनन् ? यसलाई कसरी चिरेर जान सकिन्छ ?
भूराजनीतिक विशिष्टता नेपाली क्रान्तिका निम्ति अवश्य नै एउटै विशिष्ट मननीय विषय हो । त्यसैले नेपाली क्रान्तिको मोडेल पनि नेपालकै भूराजनीतिका विशिष्ट तथा आधारित हुन्छ । रुसी, चिनी वा अन्य कुनै मोडेल हाम्रा निम्ति आदर्श मिसन हुन सक्छन्, सन्दर्भ पनि हुनसक्छन् ।
तर जे–जस्तो भए पनि नेपाली क्रान्तिको मोडेल विशिष्ट अर्थमा नेपाली नै हुन्छ । हो, इण्डिया हावी हुने कुराले हाम्रो टाउको दुखाएकै छ । आफ्नै पहल र आफ्नै खुट्टामा उभिएर स्वतन्त्र राजनीतिका आन्दोलनलाई निर्णायक बनाउन राजनीतिक, सामाजिक, आर्थिक तथा सामरिक पक्ष र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विशिष्टता र समग्रतामा रणनीति र कार्यनीतिका श्रृंखलाहरुको विकास र विन्यास गर्नुपर्छ ।
यस निम्ति हामीमा कसैसित नझुक्ने अदम्य साहस तथा संकल्प र क्रान्तिकारी दृढता तथा लचकताको द्वन्द्वात्मक संयोजन आवश्यक पर्दछ । नेपाली क्रान्तिका भूविशिष्टताबाट पैदा हुने प्रतिकूलतालाई भूराजनीतिक विशिष्टताकै अनुकूलतामा ढाल्न सकिन्छ र ढाल्नु पर्दछ । किनकि जहाँ प्रतिकूलता छ, त्यहाँ अनुकूलता पनि हुन्छ । द्वन्द्ववादले हामीलाई यही सिकाउँछ ।
मूलबाटो अनलाइनसँगको कुराकानीको छोटो अंश ।







