
विप्लव नेकपाका पोलिटव्युरो सदस्य कृष्ण धमला गंभीरले अमेरिकी सिआइएको डिजाइनअनुसार आफ्नो पार्टीमाथि ओली सरकारले प्रतिबन्ध लगाएको भन्दै त्यसको सशक्त प्रतिरोध गरिने चेतावनी दिएका छन् ।
जनपाटी अनलाइन टिभीसँगको अन्तर्वार्तामा नेता धमलाले ओली सरकारले बेलगाम आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्धले आम नेपाली जनताको बीचबाट आफै सरकार नांगिएको प्रतिक्रिया दिए ।
प्रतिबन्धपछि पहिलोपटक मिडियामा आएका नेता धमलाले प्रधानमन्त्री ओलीले आफ्नो पदको मर्यादा बिर्सेर आफ्नो पार्टीमाथि तथानाम बोलिरहेको भन्दैं त्यसले मुलुकलाई नै लज्जाको अनुभूति दिलाएको बताएका छन् ।
ओली सरकारले आफ्नै बुद्धि विवेकले नभई विदेशी शक्तिकेन्द्रको आदेशमा आफुहरुमाथि दमन थोपर्न लागिपरेको भन्दैं त्यसको आफ्नो पार्टीले प्रतिरोध गरिछाड्ने चेतावनी दिए ।
प्रतिबन्धपछि आफ्नो पार्टी सिंगो देशमा बलियो शक्तिको रुपमा स्थापित भएको भन्दैं नेता धमलाले अब आफुहरु वैकल्पिक शक्ति भएको दाबी गरे ।
वार्ताका लागि आफ्नो पार्टी कहिल्यैं विरोधी नभएको भन्दै धमलाले सरकार वार्ता चाहन्छ भने त्यसका लागि सरकारले आफुहरुमाथि धरपकड र गिरफ्तार रोक्नुपर्ने बताए ।







