नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विप्लव नेकपालाई चिढ्याएर सरकारले मुलुकमा असुरक्षाको वातावरण सिर्जना गर्न थालेको बताएका छन्।

विप्लव नेकपासँग वार्ता र संवादको माध्यमबाट निकास खोज्नुको साटो झनै चिढ्याएर मुलुकलाई अशान्तिको बाटोमा धकेल्ने प्रयास सरकारले गरेको उनको भनाइ छ। कांग्रेसले विप्लव नेकपालाई संरक्षण गरेको भन्ने प्रधानमन्त्रीको भनाइतर्फ इंगित गर्दै देउवाले भने, ‘हामीहरूले त वार्ताका माध्यमबाट समाधान खोजौं मात्रै भनेका हौं।’

नेपाल प्रेस युनियन दाङ लमहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले सरकारले एक वर्षको अवधिमा जनताको हितका पक्षमा कुनै काम गर्न नसकेको दाबी गरे।

‘वर्तमान सरकारको अहिलेको अवधिसम्म कुनै पनि काम गर्न सकेको छैन,’ उनले भने, ‘निर्मला पन्तको हत्यारालाई कारबाही सम्म गर्न नसकेको सरकारका कुनै पनि काम जनहितका पक्षमा अहिले सम्म देखिन सकेका छैनन्।’ प्रधानमन्त्री केपी शर्मा ओली एकपक्षीय ढंगबाट अघि बढिरहेको भन्दै देउवाले आफू प्रतिपक्षी दलको नेतासँग कहिल्यै कुनै पनि समन्वय नगरेको बताए। सिके राउतसँगको सहमतिबारेसमेत आफूलाई कुनै जानकारी नभएको बताउँदै उनले भने, ‘राष्ट्र विखण्डनजस्तो मुद्दामा सक्रिय व्यक्तिसँगको सहमतिका बेला समेत मसँग कुनै समन्वय भएन, अरु के विषयमा सहमति होला र ?’

बलियो प्रतिपक्षीका रूपमा कांग्रेस रहेको दाबी गरेका सभापति देउवाले सरकारका हरेक कदमलाई कांग्रेसले सुक्ष्म तरिकाले नियालिरहेको बताए। सरकारका गलत कदमका बिरुद्धमा कांग्रेस खरो रूपमा प्रस्तुत भइरहेको भन्दै प्रतिपक्षीका नाममा तोडफोडमा कांग्रेस उत्रन नसक्ने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार