लामो सशस्त्र संघर्ष अन्त्य भई विस्तृत शान्ति सम्झौताअनुसार संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने श्रेय भोजराज पोखरेललाई जान्छ । प्रमुख निर्वाचन आयुक्तको कार्यकाल छँदै राजीनामा दिई उनी अध्ययनका लागि अमेरिका हानिए।

कान्छो मुलुक दक्षिण सुडान स्थापनार्थ राष्ट्रसंघका तर्फबाट विज्ञको रूपमा पनि सहभागी भए। पछिल्लो समय कोफी अन्नान फाउन्डेसनमा सक्रिय पोखरेल नेपालको राजनीतिक र सामाजिक अवस्था देखेर निकै दुःखी छन्। नेपालको पछिल्लो राजनीतिक अवस्था, राजनीतिक चेत, समाज र कूटनीतिक टकरावको पिरलोलगायतका विषयमा अन्नपूर्ण पोस्ट्का चन्द्रशेखर अधिकारीले पोखरेलसँग गरेको कुराकानीको सानो अंश ।

पछिल्लो राजनीतिक अलमललाई कसरी नियाल्नु भएको छ ?       

पहिलो त, हामीले परिवर्तन नियाल्नुपर्छ। हाम्रो ‘क्यारेक्टर’ के भयो ? हामी परिवर्तनको संवाहक मात्र बनिरह्यौं। परिवर्तन कसरी हुन्छ र कुन रूप लिन्छ भन्नेबारे पनि ख्याल गर्नु आवश्यक छ। परिवर्तनमा केही असहमति हुन्छ। असहमतिबीच परिवर्तन अघि बढ्छ। कतिपय विषयमा असहमति जनाउने र विद्रोह गर्नेहरूलाई रूपान्तरण गरेका छौं। किन १०/१० वर्षमा परिवर्तन भए। किन जनताले परिवर्तन खोजे ? आकांक्षा पूरा नभएपछि परिवर्तनको लहर आउँछ। हामीकोमा छिटोछिटो परिवर्तन भए तर त्यसको व्यवस्थापन भएन। ‘ र्‍याडिकल’ परिवर्तन भए, व्यवस्थापन सहज भएन। यस्ता परिवर्तन सफल पार्न नेतृत्व, स्रोत र सोचाइ क्षमताबीच मेल भएन।

फेरि आन्दोलन र विद्रोहमा जनता उद्वेलित हुँदैछन्।  र्‍यडिकल परिवर्तन व्यवस्थापनमा नेतृत्वको क्षमता, स्रोत र सोचाइको अभाव छ। जनताका न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्न नसक्ने तर सपना र गफ ठूला गरिरहँदा नेतृत्व स्खलित हुँदै गएपछि पुनः परिवर्तनको लहर आउने छ। सपना देखाउने होइन स्पष्टताबाट सबैलाई आह्वान गरेर सुधारको पाटोबाट जनतामा आशा जगाउन सक्नुपर्छ। नेतृत्व अस्वस्थ प्रतिस्पर्धामा उत्रिनु हुँदैन।

नेतृत्वको अनावश्यक प्रतिस्पर्धा र तानातानले यस्तो भएको भन्न खोज्नुभएको ?     

हो, मुलुकमा सबैथोक गर्न सक्ने सबल नेतृत्वले हो। विकासमा मूलतः नेतृत्वको सबलता जोडिन्छ। नेपालमा ठूला परिवर्तनपछि नेतृत्वबाट जुन दृष्टिकोण आउनुपथ्र्यो त्यो आउनै सकेन। जनतामा आशा पनि थियो। नेतृत्वले सबैभन्दा पहिले गर्न सक्ने र नसक्ने विषयमा ध्यान दिन जरुरी छ। जे पनि हुन्छ भन्दै सपना देखाउने होइन। सपना देख्नुपर्छ तर देखिने सपनामा हतारो गरेर गफ दिनु हुन्न। तत्काल गर्न सक्ने र नसक्ने विषयको सूची बनाएर जनतालाई स्पष्ट धारणा दिन सक्नुपर्छ। यहाँ त नेतृत्वबाटै उसले यो भन्यो म यो भन्छु भन्दै हावामा महल बनाउने काम भएका छन्।

मुलुकको क्षमता यो हो, हामीले यतिसम्म गर्न सक्छौं भन्न सक्नुपर्छ। प्राथमिकीकरण गरेर अघि बढ्न सक्नुपर्छ, परिवर्तनपछि जस कसले लिने भन्ने होइन। यसलाई साझा उपलब्धि मानेर अब के दिन सकिन्छ त्यसतर्फ उन्मुख हुनुपर्छ। एकले अर्कोलाई दोष थोपार्दै आफू राम्रो भन्ने प्रचलनमा सुधार ल्याउनुपर्छ।

परिवर्तन भए तर नेतृत्व उही प्रकृतिका भएकाले समस्या भयो भन्ने यहाँको बुझाइ हो ?       

२००७ छोडौं। हाम्रो पुस्ताले २०३६, २०४६, २०६२ मात्र होइन २०७२ को संविधानसम्म निकै नजिकबाट हेरिसक्यो। संविधानपछिको परिकल्पना सुखद थियो तर जनतामा निरासाको ‘ग्राफ’ बढ्दो छ। परिवर्तनका लागि हुने आन्दोलनलाई जनताले साथ दिए, अझै दिने अवस्था छ। आखिर जति आन्दोलन भए/गरे पनि निचोड निकाल्ने नेतृत्वले हो। त्यस्तो नेतृत्वको अभाव हामी झेलिरहेका छौं। नेताको सीपले असल शासन, कानुनी शासन, भ्रष्टाचारमुक्त मुलुक, स्रोतसाधनको न्यायोचित विभाजनलगायतका काम हुने हो। यहाँ प्राकृतिक स्रोतसाधन प्रशस्त भए पनि आम्दानीको ठूलो स्रोतको कमी छ। सीमित स्रोतको उपयोग गरेर मुुलुकलाई अघि बढाउन सक्नुपर्छ। यहाँ त जिम्मेवार नेताले जे बोले नि हुने अवस्था छ। यहाँ राम्राले स्थान नपाउने आफन्त, गुट र दलकाले मात्र अवसर पाउने भएकाले मुलुकको अवस्थामा जर्जर हुँदैछ।

साँच्चै भन्ने हो भने मुलुक यतिबेला कुशासनको दुष्चक्रमा परेको छ। मुलुक शक्ति र पहुँचवालाको मात्र भएझैं देखिएको छ। नेपालीको माग ठूलो छैन, अन्याय नहोस् भन्ने मात्र हो। यसलाई नेतृत्वले बनाउन सक्छ। थिति बसाल्न पैसा लाग्दैन। ध्यान पुगेको छैन। चेत खुलेको छैन। नेतृत्वले मनखुुुसी गर्ने अनि जनताका लागि भनिदिने प्रथा हावी भएको छ। शक्तिमा जानेबित्तिकै त्यसको दुरुपयोगको बाटो खोज्ने। अवसर आफ्नालाई दिनुपर्छ भन्ने मान्यता राख्ने। यसैले गर्दा मुुलुक कुशासनको दुष्चक्रमा पर्‍यो। नेतृत्वको चेत नखुलेसम्म हामी यही मारमा परिरहने अवस्था छ।

नेतृत्वकै कारण मुलुक गलत बाटोमा गएको हो ?      

बाटो सही र गलतभन्दा पनि नेतृत्व गर्नेहरूको दृष्टिकोण नै स्पष्ट छैन। उनीहरू दिशाहीन छन्। लामो समयदेखि देखिएका अनुहारले मात्र मुलुक चलाएका छन्। युवा र महिला अनुहार पनि त्यही संयन्त्रमा पुगिसकेपछि मात्र नेतृत्व गर्ने अवस्थामा पुग्छन् सायद। यो प्रणालीबाट कसरी सुधार गर्न सकिन्छ भनेर। जोगी हुनलाई राजनीति गरेको होइन भन्नेहरू नै नेतृत्वमा रहने र आफ्नालाई डकार्न पुग्ने कमाउ गर्ने शैलीको अन्त्य जरुरी छ।

मैले नेपाल सरकारको मात्र होइन विदेशमा पनि विभिन्न स्थानमा पुगेर काम गरें। अमेरिका सम्झँदा लाग्थ्यो यति धेरै विविधतामा यो मुलुक कसरी टिकेको होला ? अमेरिका प्रवेश गरेपछि त्यहाँ अमेरिकी भन्न सक्ने र गर्व गर्ने अवस्था सिर्जना गरिँदो रहेछ। हरेक नागरिकको घरमा झन्डा राख्न दिइने। अमेरिकामा कमाएर अन्यत्र पैसा लैजान सकिने। कमाएको धनको खोजी नहुने। विदेशी लगानीलाई सहज पहुँच दिने। जनताको सबै सेवा एकै स्थानमा दिने। अनि न मुलुकप्रति नागरिक गर्व गर्छन्। जनतालाई राजधानी कहाँ भन्ने मतलव नहुने अवस्था सिर्जना गरिदिएको छ। सबै काम स्थानीय स्तरमा हुन्छ, अन्यत्र धाउन पर्दैन। अनि न जनता कर तिर्न आनन्द अनुभूति गर्छ। हामीकोमा कर तिर्न जाँदासमेत बिचौलिया लगाउनुपर्ने अवस्था सिर्जना गरिदिएका छौं। सबै नेता भद्रगोलमा गोल हान्ने सोच बोकेका देखिन्छन्।

सरकार आलोचित हुने बाटो आफैंले तय गरेको हो ?

पक्कै। सरकारले आफू आलोचित हुने बाटो तय ग र्‍यो। जनताको आकांक्षाको खात हुँदाहुँदै थप सपना बाँड्यो तर नतिजा निकाल्न सकेन। पैसै नलाग्ने काममा पनि सरकार उदासीन देखियो। सरकार यति बलियो भइदियो कि कुनै पनि निकाय सरकारको अगाडि गरुढको छायाँमा सर्प परेजस्तो अवस्था आयो। कार्यकारी बलियो हुँदा ‘चेक एन्ड ब्यालेन्स’ लल्याकलुलुक भएर गएको छ। संवैधानिक आयोग पिछलग्गु झैं बनेका छन्। न्यायालयको अवस्था सबै छर्लंग छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार