
बालुवाटारको सरकारी जग्गा हडप्ने काममा पार्टी महासचिव विष्णु पौडेलसमेतको नाम जोडिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन् । पौडेलको छोराका नाममा दर्ता, स्रेस्ता कायम रहेको जग्गा सरकारले रोक्का नै गरिसकेकाले पौडेलमाथि कारबाही गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ ।
दाङका सांसद एवम् नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले त महासचिव पौडेलले किनेको नभइ भूमाफियाका नाममा जग्गा दर्ता गर्न सघाउ पुर्याएकाले उपहारमा जग्गा पाएको जिकिर गर्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क अघि सारेका छन् ।
साविक लुम्बिनी अञ्चल र अहिले पाँच नम्बर प्रदेशका केन्द्रीय सदस्यहरूले महासचिव पौडेललाई पदबाट हटाउन लबिङ नै शुरू गरेका छन् । “महासचिवजस्तो मान्छे भूमाफियासँग मिलेर सरकारी जग्गा हडप्न संलग्न रहेको विषय कारबाही योग्य हो, उनलाई यो, वा त्यो बहानामा जोगाउनु हुँदैन, तुरुन्तै बर्खास्त गरिनुपर्छ,” एक केन्द्रीय सदस्यले भने।
पार्टी नेतृत्वको निकट रहेर पटकपटक पद, प्रतिष्ठाको लाभ ग्रहण गरेका पौडेलले भूमाफियासँग मिलेर अन्यत्र पनि जग्गा हडपेको हुन सक्ने र सरकारले छानबिन गर्नुपर्ने आवाज पाँच नम्बर प्रदेशका केन्द्रीय सदस्यहरूले उठाएका छन् ।
“उहाँको चरित्र विगतदेखि पार्टी संस्था र सत्तासँग निकट रहने सुविधाभोग गर्ने देखिन्छ । उहाँको विगतको हैसियत बालुवाटारको जग्गा खरिद गर्ने तहको होइन, पार्टी नेतृत्वको निकट रहेर उहाँ कसरी त्यो हैसियतमा पुग्नुभयो ? सरकारले मिहिन ढंगले छानबिन गर्नुपर्छ,” एक केन्द्रीय सदस्यदले बाह्रखरीसँग भने ।
हरि पराजुलीदेखि दीर्घ सोडारीसम्म जसले बेहोरे अनुशासनको कारबाही
साविक एमालले आयोग नै बनाएर नेतृत्वलाई पार्टी अनुशासनमा राख्थ्यो । धेरै पर नजाऊँ, तत्कालीन एमालेको अनुशासन आयोगले थुप्रै नेता–कार्यकर्तालाई कारबाहीको भागिदार बनाएको छ ।
स्थानीय तह निर्वाचनकाबेला थुप्रै नेता–कार्यकर्तामाथि टिकट बिक्रीको प्रश्न उठाइयो । तत्कालीन पार्टी सचिव भीम आचार्यदेखि केन्द्रीय कमिटीको वैकल्पिक केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठकाबारेमा पार्टी मुख्यालय धुम्बाराहीमा उजुरी दर्ता भयो । जिल्ला सहइन्चार्ज रहेका श्रेष्ठले मोरङको विभिन्न स्थानीय तहमा उमेदवार छनोट गर्दा आर्थिक चलखेल गरेको आरोप लागेको थियो ।
सफाइको मौका नै नदिइ, एकीकरणका बेला उनलाई केन्द्रीय कमिटीबाट हटाइएको नेकपाका नेताहरू बताउँछन् । पार्टी नेतृत्वविरुद्ध सार्वजनिक आलोचना गरिएको र आत्मकथाका नाममा नेतृत्वप्रति तुष पोख्ने र अतिरञ्जित लाञ्छना लगाइएको भन्दै एकीकरणका बेला अर्का केन्द्रीय सदस्य राधाकृष्ण मैनालीलाई पनि गलहत्याइएको थियो ।
स्थानीय तह निर्वाचनका बेला पार्टीको आधिकारिक उमेदवारविरुद्ध बागीविद्रोही खडा गरेको, अन्तर्घात गरेका पार्टीका उमेदवार हराउन लागिपरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली कै गृहजिल्ला झापा, ताप्लेजुङ, सोलुखुम्बुसहित विभिन्न जिल्लाका सयभन्दा बढी नेता–कार्यकर्ता कारबाहीको भागिदार बनाइएका थिए । तीमध्ये कतिपयको राजनीतिक जीवन नै धरापमा परेको छ ।
पार्टीले आगामी दिनका जिम्मेवारी दिँदा अनुशासनका कारबाही परे–नपरेको समेत हेर्ने भएकाले कतिपयको राजनीतिक जीवन समाप्त नै भएको छ । ०७२ असार १५ गते काठमाडौंको मूलपानीको रोपाईंमा अतिथि बनेर गएका तत्कालीन कृषिमन्त्री हरि पराजुलीले अश्लील हर्कत गरेको भन्दै पदबाट राजीनामा दिनुपरेको थियो ।
बाह्रखरी अनलाइनले तयार पारेको रिपोर्ट ।







