
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्धारा वैशाख ५ गते आयोजित नेपाल बन्दलाई सफल बनाइदिन देशभक्त, गणतन्त्रवादी र सच्चा लोकतन्त्रवादीहरूमा अपिल गरेको छ ।
उक्त पार्टीको केन्द्रीय कार्यालयद्वारा यस्तो अपिल गरिएको छ । ‘ओली सरकारको फासिवादी हर्कतका विरुद्ध सबैले दबाब सिर्जना गरौं’ भन्दै बन्दको आव्हान गरिएको नेकपाले जनाएको छ ।
‘केपी सरकारको अति अत्याचार सहन नसकेर उसको प्रतिबन्ध, सुदर्शन कमरेडलगायतको रिहाइ, झूट्टा मुद्दा खारेजी, सारा भ्रष्टाचार, तस्करी, राष्ट्रघातका विरुद्ध बाध्य भई यही वैशाख ५ गते नेपाल बन्द गरेका छौँ । उक्त दिन सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार व्यवसाय बन्द गरौँ । अनैतिक फासिवादी सरकारलाई राजनीतिक मार्गमा तान्न प्रयत्न गरौँ ।’ नेकपाको अपिलमा भनिएको छ।
फासिवादी दमनको प्रतिकारका लागि बन्दको आयोजना गरिएको भन्दै अपिलमा भनिएको छ –
‘अधकचल्टो क्रान्तिले केही व्यक्ति र नेताहरूलाई सत्ताभोगी लुटेरा वर्गमा पतन गरिदिन्छ । जनयुद्धलाई हामी यसबाट बचाउन चाहन्थ्यौँ । अपसोच ! प्रचण्डहरूको गद्दारीले गर्दा मुठीभर माओवादीहरू (धेरै त त्यहाँ पनि उत्पीडित नै छन्) लाई दलाल पुँजीपति (अर्बपति, करोडपति) वर्गमा पतन गरायो । उनीहरूलाई उदाहरण बनाएर सारा क्रान्ति नै असम्भव भन्दै जनताको मुक्तिमार्गलाई बन्द गरिदिने षड्यन्त्र चलिरहेको छ । यसबाट सबै सचेत बनौँ । पुँजीवाद—दलाल पुँजीवाद रहेसम्म न जनता मुक्त हुनेछन्, न त सुखी र समृद्ध नै हुनेछन् । यी सबै कुरा दलाल वर्गका थैली भर्ने फट्याइँ मात्र हुन् । यस्ता नयाँ जोगीहरूको उचालाइमा लागेर सेना–प्रहरीहरूका जवान र अफिसरहरू पनि धेरै चकचक नगरौँ । तसर्थ आउनुहोस् जनसमुदाय मुक्ति, अधिकार र स्वाधीनताका लागि सारा एक हौँ र केपी वली सरकारको फासिवादी दमनको प्रतिरोध गरौँ ।’
भ्रष्टचारको नाममा ओली सरकारले कतिसम्म देशमा लुट मच्चाइरहेको छ भन्दै अपिलमा भनिएको छ-
‘केपी वली सरकार आएपछि कति जनघाती–राष्ट्रघाती अपराध र काण्डहरू भए । खै सुन तस्करहरूको हिसाब, खै ठूलो जहाज काण्डको ६ अर्ब रुपैयाँ, खै चिनी काण्डका अपराधीहरू, खै एनसेलकाण्ड रच्ने कमिसनखोरहरू, खै बूढीगण्डकीका कमिसनखोरहरू, खै निर्मलाका बलात्कारी र हत्याराहरू, खै अरुण तीन र माथिल्लो कर्णाली बेचेर खानेहरू ? खै प्रहरी–प्रशासनलाई घूसखोरी, चाकरी–चाप्लुसीमा फसाएर इमानदारलाई कारबाही र ठगलाई पुरस्कृत गर्ने फटाहाहरू ? भाषणमा त केपी वलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेको होइन ?! आज के हुँदैछ जनसमुदाय ? केपी बस्ने बालुवाटारसमेत बेचेर खाने, आफ्नो नाममा बनाउने विष्णु पौडेलहरूलाई के भयो ? तारागाउँको सयौँ रोपनी जमिन लिलाम गरेर खानेहरूलाई के भयो ? भ्रष्टाचारको छानबिन गर्ने भन्ने अख्तियारका भ्रष्टाचारीहरूलाई के भयो ? के यो केपीको पाखण्डी, निकृष्ट र अधमपन होइन ? यो त ‘मुखमा रामराम, बगलीमा छुरा’ भनेको भएन ? म भ्रष्टाचरमा डुब्छु र अरूलाई पनि भ्रष्टाचारमै बगाउँछु भनेको भएन ?! यी अपराधी त उल्टो हामीलाई गोली हान्ने आदेश दिँदै पो हिँडेका छन् त ! अनि यस्ता अपराधीहरूलाई कारबाही हुनुपर्छ र यो सत्ताको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ भन्दा हामीमाथि प्रतिबन्ध लगाउनुपर्छ ? जनताले नै भन्नुस्, प्रतिबन्ध हामीलाई कि देश डुबाउने, जनता कङ्गाल बनाउने, जनतामाथि दमन गर्ने र राजनीतिक अधिकार नै खोस्ने भ्रष्ट, तस्कर, कमिसनखोर, दलाल केपी सरकारमाथि लगाउने ?’
अपिलको पूरा पाठ यस्तो छ –








