
वैशाख ५ गतेको नेपालबन्दको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशैभर मशाल जुलुस प्रदर्शन गरेको छ ।
विप्लव नेकपाले पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध वैशाख ५ गते बन्दको आह्वान गरेको थियो ।
नेपालबन्दको पूर्व सन्ध्यामा काठमाडौं उपत्यकासिहत सुदूरपश्चिमका कैलाली, अछाम, डडेल्धुरा, बझाङ, बाजुरा, कञ्चनपुरका विभिन्न स्थानहरुमा मशाल जुलुस प्रदर्शन भएका छन् । नेकपाका कार्यकर्ताहरुले मशाल जुलुस बालेको समाचार प्राप्त भएका छन् ।
उनीहरुले पार्टीमाथिको प्रतिबन्ध फिर्ता गर, धरपकड र गिरफ्तारी बन्द गर जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
नेकपाका कार्यकर्ताहरुले काठमाडौंमा सरकारविरुद्ध नारा लगाउँदै मशाल जुलुस बालेको भिडियोहरु सामाजिक संजामाल पोष्ट गरिएका छन् ।
नेकपाको पुर्वि कमान्ड अन्तर्गत झापाको १५ वटै निकायमा नेकपाका नेता कार्यकर्ताले नाराबाजी सहितको मसाल जुलुस गरेका छन् । झापाको मेचिनगर, भद्रपुर, दमक, विर्तामोड, बुद्दशान्ति, शनिश्चरेलगायतका विभिन्न क्षेत्रमा नेकपाले केपि वलि सरकारको तीव्र आलोचना गरेका छन् ।
त्यस्तै पुर्वका इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा पनि नेकपाका नेता कार्यकर्ताले बन्दको पुर्व सन्ध्यामा नारा सहितको मशाल जुलुस गरेका छन् ।
दाङको शान्तिनगर, तुलसीपुर, लमही, घोराहीका विभिन्न ठाउँमा मसाल जुलुस गरेको नेकपाले जनाएको छ ।
बझाङको सदरमुकाम चैनपुरमा अहिले समय अगाडि नेकपाका कार्यकर्ताहरुले मशाल बाल्नुको साथै सरकारविरुद्ध नारा लगाएका छन् ।
स्थानीयका अनुसार चैनपुरमै शक्तिशाही बम विस्फोट समेत भएको छ । प्रदर्शन लगत्तै विस्फोटको ठूलो आवाज आएको थियो । विस्फोटका क्षतिबारे कुनै जानकारी आएको छैन । विस्फोटको जिम्मा कसैले लगेको छैन ।
केही दिनअघि मात्र नेकपाका जिल्ला सेक्रेटरी भरत मल्ललाई प्रहरीले गिरफ्तार गरेको थियो । त्यसैगरी जिल्लाका अरु नेताहरुका घरमा खान तलासी गर्ने, परिवारलाई मानसिक यतना दिएको भन्दै नेकपाका नेता कार्यकर्ता आक्रोसित भएका छन् ।







