नेपालबन्दका क्रममा चितवनलगायत देशैभर शक्तिशाली बम विस्फोट भएको खबर आएको छ । यसैक्रममा चितवनका पाँच स्थानमा बम विस्फोट भएका छन् ।

विहीबार विहानै राप्ती नगरपालिकाको पम्पापुर, खैरेनी नगरपालिकाको चैनपुरचोक, रत्ननगर नगरपालिकाको डाँडीबजार, कालिका नगरपालिकाको कालिकाचोक र भरतपुर महानगरपालिकको एक स्थानमा बम विस्फोट भएको बताइएको छ ।

स्थानीयका अनुसार बम विस्फोटको आवाज ठूलो आएपनि क्षतिको विवरण भने आएको छैन । बम कसले विस्फोट गराएको हो भन्ने खुलेको छैन । बन्दको आह्वान गरेको नेकपाका कार्यकर्ताहरुले विस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ ।

यसैबीच मकवानपुरमा दुई स्थानमा गाडीमा आगजनी भएको छ । थाहा नगरपालिका र भिमफेदी गाउँपालिकामा बिहिबार बिहानै अज्ञात समूहले गाडीमा आगजनी गरेको हो ।

नवलपुरमा जल्दै गरेको गाडी

जिल्लाको उत्तरी क्षेत्र पालुङबाट हेटौँडातर्फ जाँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी र भिमफेदी गाउँपालिका– ९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

उता नवलपुरमा भारतको गुजरातबाट काठमाडौं जानका लागि आउँदै गरेको आर जे ०२ जिबि २८७० नंबरको ट्रकमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगलागिबाट ट्रकको अगाडि भागमा क्षती पुगेको छ । ट्रकमा एसिडसमेत प्रयोग गरिएको थियो ।

समयमै शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर ट्रकमा लागेको आगो निभाउन सफल भएको थियो ।बन्दकै क्रममा विभिन्न स्थानमा बम तथा विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ । यस्तै यता रुपन्देहीको कोटिहवा स्थीत टाईगर प्यालेस होटल जाने बाटोमा, कन्चन गाउपालिका, धकधैइ, लुम्बिनी लगायतका क्षेत्रमा शंकास्पद बस्तु भेटिएको छ ।

पत्रकार शिव डुम्रेका अनुसार लुम्बिनीका कपिलवस्तु, नवलपरासी, रुपन्देही, नवलपुर, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्ला पूर्ण रुपमा बन्द भएका छन् ।

प्रहरीले नवलपुरबाट नेकपाका जिल्ला सदस्य पुरुषोत्तम रेग्मी र पाल्पाबाट किसान संगठनका जिल्ला अध्यक्ष टोपराज बस्याललाई प्रहरीले गिरफ्तार गरेको छ ।

पार्टीमाथिको प्रतिबन्ध र धरपडक तथा गिरफ्तारीविरुद्ध नेकपाले आज नेपाल बन्दको घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार