नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दका कारण गन्तव्य जलजला भ्रमणको उद्घाटनका लागि थबाङ पुगेका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन हेलिकोप्टरबाट सदरमुकाम लिबाङ अवतरण भएका छन्।

बुधबार गाडीमा थबाङ पुगेका मन्त्री पुनको टोली बन्दकै कारण हेलिकोप्टरबाट फर्किएका हुन्। फुसका छानो भएका सहिद परिवारलाई टीन वितरण गर्न मन्त्री पुन हेलिकोप्टरबाट लिबाङ फर्किएको सत्ताधारी नेकपाले दावी गरेको छ।

पटकपटक हुँदै आएको बन्दले रोल्पाको जनजिवन प्रभावित हुने गरेको छ। लिबाङ, सुलिचौर, होलेरी, घर्तीगाउँ, बागमारा लगायतका बजार सुनसान छन्। लामा र छोटो दूरीका कुनैपनि सवारी साधन नचल्दा यात्रु अलपत्र परेका छन्।

सदरमुकाम लिबाङ भित्रिने रात्री बसहरु रोल्पा र प्यूठानको सिमाना खुंग्रीमा अलपत्र छन्। अलपत्र परेका सवारीसाधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पुर्‍याउने व्यवस्था मिलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बन्दले यातायात क्षेत्र बढी प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लिला आचार्यले जानकारी दिए।

बन्दको पूर्वसन्ध्यामा विप्लव समूहले जिल्लाका कतिपय ठाउँमा मशाल जुलुससहित नाराबाजी गरेका थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार