आफ्ना दुई केन्द्रीय सदस्य गिरफ्तारपछि नेकपाका महासचिव नेत्र विक्रम चन्दले कडा विज्ञेप्ती जारी गरेका छन् ।

महासचिव विप्लवले यदि सरकारले आफ्नो पार्टी र जनवर्गीय संगठनमाथि लगाएको प्रतिबन्ध नहटाउने र नेता, कार्यकर्ताको गिरफ्तारी नरोक्ने हो भने सरकारको कार्वाही विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

यही बैशाख ७ गते ढिलो गरि निकालिएको वक्तव्यमा भनिएको छ, “सामाजिक फासिवादी केपी—प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै आएको उत्कृष्ठ संविधानको बर्खिलाप गएर प्रतिबन्ध लगाएदेखि नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर चरम याताना दिइराखेको छ । यसै सिलसिला फासिवादी सरकारले बैशाख ६ गतेका दिन केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र विश्वलाई पुनः गिरफ्तार गरेको छ । सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं । यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं । हामी अहिले पनि भन्दैछौं, हामीलाई बाध्य नपारियोस् । जनतालाई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार नै हुनेछ ।”

स्मरण रहोस् केपी सरकारले गत फागुन २८ गतेदेखि विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । त्यसपछि ठूलो संख्यामा नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।

विज्ञप्तिकाे पूर्णपाठ….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार