प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रोल्पाका एक नेताले सरकारलाई जग्गा दान गरेका छन् । नेकपाका राप्ती ब्युरो सदस्य दलबहादुर खत्री ‘जागृति’ले सरकारी संरचना निर्माण गर्न आवश्यक पर्ने जग्गा निःशुल्क दान गरेका हुन् ।

सुरक्षाफौजले नेकपाका नेता-कार्यकर्ताको व्यापक खोजी गरिरहेका बेला उनले सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा प्रदान गरेका हुन् ।

रोल्पा नगरपालिका-६ कोटगाउँ कोजक निवासी खत्रीले आफ्नो गाउँमा वडापालिकाले निर्माण गर्ने सहरी स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने ०१६७५ वर्गमिटर क्षेत्रफलको जग्गा निःशुल्क रुपमा प्रदान गरेका हुन् । सरकारी मूल्यांकनको आधारमा उक्त जग्गाको मूल्य करिब ५ लाख जति पर्छ ।

स्रोतका अनुसार खत्रीले वैशाख १२ मा सदरमुकाम लिबाङस्थित मालपोत कार्यालयमा उपस्थित भई जग्गा पास गरिदिएका हुन् । उनी वडाध्यक्ष तुलबहादुर घर्तीमगरका साथ लिबाङ आएका थिए । स्रोतका अनुसार राज्यले नेकपाका नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले धमाधम पक्राउ गरिरहेका बेला उनी त्रासपूर्ण अवस्थामै लिबाङ आएका थिए । करिब ५ मिनेट मात्रै उनी मालपोत कार्यालयमा अडिएका थिए । खत्रीले यसअघि पनि सामाजिक कार्यका लागि सरकारकै नाममा आफ्नो केही जग्गा निःशुल्क रुपमा प्रदान गरेका थिए ।

खत्री पूर्व शिक्षक हुन् । शिक्षक रहेकै बेला तत्कालीन राज्यले उनीविरुद्ध राजनीतिक मुद्दा लगाएपछि भूमिगत भएका खत्रीले त्यसैबेला पत्नी गुमाएका थिए । उनकी पत्नी वीरमालीलाई सुरक्षाकर्मीले २०५८ फागुन १ मा घरबाट पक्राउ गरी हत्या गरिदिएका थिए । त्यसबेला खत्री भूमिगत थिए । खत्रीले सशस्त्र द्वन्द्वमै पहिलो पति मोहन पुनलाई गुमाएकी इरिबाङकी शान्ति बुढासँग २०६० साउनमा दोस्रो विवाह गरेका छन् । खत्रीका दुई छोरा र एक छोरी छन् ।

खत्रीलाई प्रहरीले यसअघि पक्राउ गरेको थियो । २०७४ को स्थानीय निर्वाचन अघि जिल्ला इन्चार्ज रहेका खत्रीसहित तत्कालीन जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले पक्राउ गरी एक महिना लिबाङकै हिरासतमा राखेको थियो । निर्वाचनपछि दुवै हिरासतमुक्त भएका थिए । माओवादी सशस्त्र युद्धताका खत्री लडाकुका एक कम्पनीका राजनीतिक कमिसारसमेत भएका थिए ।

कान्तिपुर दैनिकका लागि पत्रकार काशीराम डाँगीले रोल्पाबाट यो समाचार लेखेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार