
नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिपक्षमा रहेका राजनीति दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले मंगलबार माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वमा भएको प्रदर्शन र सभामा उनीहरुले वर्तमान सरकारले भ्रष्टाचारलाई बढवा दिएको तथा महँगी नियन्त्रणमा चासो नदेखाएको भन्दै सरकारको चर्को आलोचना गरे । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरुले सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने गरेपनि व्यवहार ठिक विपरित भइरहेको बताए ।
सार्वजनिक जग्गासमेत सत्तारुढ दलको नेताको नाममा हडप्ने काम गरिएको, मुलुकमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसालगायतका घटना नियन्त्रण गर्न सरकारको ध्यान नगरेको उनीहरूको आरोप छ ।
विद्यार्थीहरुले शिक्षा क्षेत्रको शुल्क वृद्धि घटाएर माध्यामिक तहको निःशुल्क शिक्षा व्यवहारतः कार्यान्वयन गर्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाही गर्नु पर्ने लगायतका मागहरु पनि उनीहरूले राखेका छन् ।
विद्यार्थीहरुको जुलुस माइतीघरबाट र्यालीसहित बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेविसंघका नेताहरु ऋषिकेश शाह, मोतिलाल भण्डारी लगायतले महंगी र भ्रष्टाचार नियन्त्रण नगरे वर्तमान सरकारको हालत ज्ञानेन्द्र शाहकै जस्तो हुने चेतावनी दिएका थिए ।







