
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं नै जंगलजस्तो लागेको बताएका छन्।
आइतबार कार्ल माक्सको २०१ औं जन्मजयन्तीमा काठमाडौंमा आयोजित ‘समृद्धि र समाजवाद, हामी कहाँ छौं’ कार्यक्रममा दाहालले जनयुद्धकालीन बेला र अहिलेको परिस्थितबारे तुलना गर्दै भीडभाड काठमाडौं जंगलजस्तो लाग्ने गरेको बताए।
‘हिजो जंगलमा सुतियो, जंगलजस्तो लाग्दैनथ्यो। लाखौं, करोडौंको बीचमा भएजस्तो लाग्थ्यो,’ दाहालले भने, ‘लाखौंको भीड भएको काठमाडौंमा अहिले एक्लै हुन थालियो। के भएको हो?’
अहिले पार्टीका नेता/कार्यकर्तामा जनयुद्धको बेलाजस्तो उर्जा, त्याग र उत्साह नभएको दाहालको भनाइ छ।
‘जनयुद्धको स्प्रीट, त्याग, उत्साह हामीमा कति छ? भन्दा बडो विचित्र लाग्छ। हामी कता गइरहेका छौं,’ उनले भने, ‘विचार गर्नुस् त विचित्र छैन त कमरेडहरू, काठमाडौंमा करोडौंको बीचमा हुँदा पनि एक्लो भए जस्तो हुन्छ। किन होला?’
उनले जनयुद्धमा थौरै मान्छे हुँदा पनि संसार जितेझैं आत्मबल आएको तर अहिले लाखौं कार्यकर्ता हुँदा पनि केही गर्न सकिन्न भन्नेजस्तो लागेको बताए।
‘थौरै मान्छे हुँदा संसार जित्ने आत्मबल आउथ्यो। अहिले पार्टी विशाल छ, तपाईं, हामी एक्लै-एक्लै छौं क्यारे भनेजस्तो छ,’ उनले भने, ‘हिम्मत हारेजस्तो, उत्साह मरेजस्तो किन भयो? समीक्षा गर्नुपर्छ।’
उनले कार्ल मार्क्स अहिलेका कम्युनिस्टजस्तो सुविधा भोगी नभएको बताए।
‘हामी कार्ल मार्क्सभन्दा सुविधा भोगी भयौं, गाडी घोडा कार्ल मार्क्ससँग थिएन,’ प्रचण्डले भने, ‘कार्ल माक्र्स सर्वहारा वर्ग, श्रमजीवि वर्गको त्याग तपस्या गरेरनै वित्नुभयो । तर, अहिले हामी उहाँ भन्दा सम्पन्न भएका छौँ । हाम्रा आफ्ना घर, गाडी सबै सुविधा छन्, प्रचण्डले भने, ‘त्यसकारण अहिले कहिँन कहिँ केही ‘मिस’ भएको छ । अब त्यसलाई खोज्नुपर्ने, अनुसन्धान गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । हामीले एकपटक साँच्चै संकल्प गर्यौँ भने यो परिस्थितिलाई बदल्न सकिन्छ । र हामीले बदल्नुपर्छ ।’







