
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेपछि नयाँ शक्तिका केही नेताहरु असन्तुष्ट बनेका छन् । फोरममा पार्टी विलय गराएको भन्दै असन्तुष्ट समूहहरुले बाबुरामलाई ज्ञापनपत्र बुझाउने तयारी गरिरहेको छ ।
ललितपुरस्थित तत्कालीन नयाँ शक्तिका नेता मदन राईको घरमा नयाँ शक्तिका असन्तुष्ट केही नेताहरु आजमात्रै भेला भई पछिल्लो समय पार्टीमा कसरी अगाडि जाने भन्नेबारे छलफल समेत गरेका थिए ।
बाबुरामले एकलौटी निर्णय गरी पार्टीलाई फोरममा विलय गराएको निश्कर्ष आज बसेको भेलाले निकालेको तत्कालिन नयाँ शक्तिका केन्द्रीय सदस्य तथा नेता नारायण तिवारीले जानकारी दिए ।
तिवारीले भने, ‘पार्टी एकताको विषयमा बाबुरामले पार्टीभित्र छलफल नै नगरी एकता गरे । यसरी निर्णय लिनु अलोकतान्त्रिक हो । त्यसैले बाबुरामलाई ज्ञापनपत्र बुझाउने तयारीमा छौं ।’
विवाद ल्याउन खोजेको होइन पार्टी राम्रो बनोस् भन्नी चाहना मात्र रहेको तिवारीले बताए । पूर्वसभासद कल्पना धमला, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, राम बहादुर बोहोरालगायत नेताहरु असन्तुष्ट बनेका छन् ।
यस्तै आजमात्रै तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरेका थिए ।







