
दिवंगत राजा वीरेन्द्र शाहसँग केपी ओलीको सम्वन्ध निकै गाढा रहेको खुलासा भएको छ ।
दरबार हत्याकाण्डमा गोली चल्दै गर्दा नारायणहिटीमा प्रवेश गर्ने शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले १८ वर्षपछि लेखेको ‘दरबारको दुःखान्त’ पुस्तक बजारमा आउने भएको छ । दरबार हत्याकाण्ड र राजपरिवारसँग आफ्नो सम्बन्धमा आधारित रहेर उनले पुस्तक लेखेका हुन् ।
तत्कालीन राजा, रानी र युवराजको पाश्र्ववर्तीका रूपमा १७ वर्ष दरबारमा बिताएका रानाले पुस्तकमा दरबारबारे आफ्नो अनुभव सार्वजनिक गर्न लागेका हुन् ।
ओलीले वीरेन्द्रलाई धेरै भेट्थे, गफ पनि धेरै गर्थे
०५१ सालको मध्यावधि निर्वाचनबाट एमाले सबभन्दा ठूलो दलका रूपमा स्थापित भयो । तर, संसद्मा बहुमत ल्याउन सकेन ।
अनि एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमत सरकार गठन भयो । त्यो सरकारको गृहमन्त्री हुनुहुन्थ्यो, केपी शर्मा ओली । उहाँ महाराजाधिराजसँग दर्शनभेटका लागि बरोबर आउने गर्नुहुन्थ्यो । तर, जहिल्यै निर्धारण गरेभन्दा दोब्बर समय बिताइदिनुहुन्थ्यो ।
०५१/५२ सालमा गृहमन्त्री छँदा उहाँका लागि प्रायः ४५ मिनेट छुट्याइएको हुन्थ्यो । तर, जहिल्यै ९० मिनेटभन्दा बढी बसिदिनुहुन्थ्यो । निर्धारित समय सकिएपछि एडिसीले ढोका ढकढक गरेर भित्र पसी संकेत गर्नुपर्ने हुन्थ्यो ।
त्यसो हुँदा म ठीक ४५ मिनेट भएपछि ढोका ढकढक्याउन जान्थेँ ।‘एकछिन पख, कुरा सकिएको छैन,’ महाराजाधिराज आफैँले समय बढाइबक्सन्थ्यो ।







