फाइल तस्बीर ।

प्रहरीले चलाएको गोली लागेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ ।

भोजपुर सदरमुकामबाट ७० किमी टाढा जंगलमा हतियारसहित विप्लवका कार्यकर्ता रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई हतियार देखाएर तर्साउन खोजेपछि प्रहरीले गोली चलाउनुपरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

“हिजो दिउँसो उनीहरु हतियारसहित छन् भन्ने सूचनाका आधारमा पुगेको प्रहरीको टोलीमाथि हतियार देखाएपछि प्रहरीले गोली चलाएको थियो,” खतिवडाले  भने, “तिघ्रामा गोली लागेका तीर्थराज घिमिरेको उपचारका क्रममा धरानमा राति मृत्यु भएको हो । गोली लागेको जंगलबाट ५ घण्टाबाट बोकेर तल सडकमा ल्याइएको थियो । त्यसपछि एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो । बाटोमा पहिरो खसेकाले एम्बुलेन्स पनि केहीबेर रोकियो । अर्को एम्बुलेन्स खोजेर राति १ बजे धरान पु¥याइएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भयो ।”

उनले जिल्लामा विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा प्रहरीले निरन्तर गस्ती गरेको बताए ।

“यहाँ माथिल्लो क्षेत्रमा सुरक्षाकर्मीले निगरानी गरिरहेका थिए,” उनले भने, “उनीहरु हतियारसहित बसेका रहेछन् । धेरैजसो भागे तर उनले प्रहरीलाई नै हतियार देखाएर तर्साउन खोजेपछि प्रहरीले गोली चलाएको रहेछ ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार