काठमाडौँ । ब्राजिलको जेलमा चार दर्जन कैदी मृत फेला परेका छन् । उत्तरी ब्राजिलस्थित छुट्टाछुट्टै जेलमा ४२ जना कैदी मृत फेला परेका हुन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार स्थानीय अधिकारीका अनुसार केही घाइते अवस्थामा रहेका छन् । जेलभित्रै झडप हुँदा १५ जनाको कैदी मारिएको एक दिनपछि यो घटना सार्वजनिक भएको बीबीसीले जनाएको छ ।
एमेजन राज्यको राजधानी मेनोसमा राज्यमा पछिल्लो घटना भएको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीहरूको ज्यान गएको हो ।
निरीक्षणका क्रममा चारवटा कारागारमा कैदीहरू मृत फेला परेको अधिकारीहरूको भनाइ छ । ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमवारको घटनामा अन्य कैयौँ कैदीहरू घाइते भएका छन् ।
सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्शियरी कम्पलेक्समा आइतवार कैदीहरूसँग भेटघाट गर्ने समयमा झडप भएको थियो । अधिकारीहरूका अनुसार कैदीहरूलाई तीखा ब्रशले घोचिएको थियो भने घाँटी थिचिएको थियो ।
कैदीका आफन्तहरूले समेत देखेको सप्ताहन्तमा भएका घटनाबारे छानबिन भइरहेको बताइएको छ ।
जेलको क्षमताभन्दा बढी कैदी रहेकोले आपसमा विवाद बढ्दै गएको हो । एक कैदीका अनुसार जेलभित्रको अवस्था भद्रगोल छ । दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिनेगरी कैदीहरूबीच झगडा भएको थियो।
ब्राजिलमा कैदीहरूको सङ्ख्या विश्वमै तेस्रो स्थानमा आउँछन् । आधिकारिक तथ्याङ्क अनुसार यो वर्षको एप्रिलसम्म त्यहाँ सात लाख १२ हजार ३०५ जना कैदी छन् । उक्त सङ्ख्या ब्राजिलका कारागारहरूले थेग्न सक्नेभन्दा तीन गुणाले बढी हो ।







