काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले लगातार सरकारको विरोध गर्दै आएको छ । अहिले नेपाली कांग्रेसले गृहमन्त्री राम बहादुर थापाको राजीनामा पनि माग गर्दै आएको छ ।

यो बिचमा केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट सरकारका अबका चार वर्षमा देश बर्बाद हुने चेतावनी दिनुभएको छ ।

नेविसंघले दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेका सरकारका गतिविधि चल्दै गएमा अब ४ वर्षपछि देश बर्बाद हुने आंकलन गर्नुभएको हो ।

उपयुक्त वातावरण अभावमा अहिले उद्योग धन्दा बन्द हुन थालेको भन्दै थापाले अबका चार वर्षमा यो संख्या अझै बढ्ने उल्लेख गर्नुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘लेखेर राख्नुस् अबका चार वर्षमा अझ धेरै उद्योग धन्दा बन्द हुँदैछन् । रोजगारी पनि घट्नेछ ।’

नेता थापाले सरकार अझ अनुदार बन्ने र भावी दिनको चुनाव पनि नाम मात्रको हुने आशंका गर्नुभयो । चीनको अवस्था फरक भएको भन्दै उहाँले कुनै पनि कम्युनिस्टको नेतृत्व भएको मुलुकले समृद्धि हाँसिल नगरेको जिकिर गर्नुभयो ।

थापाले भन्नुभयो, ‘प्रधानमन्त्री ओली देशलाई क्याम्बोडिया बनाउन चाहँदै हुनुहुन्छ ।’ गणतन्त्रवादी नेता थापाले देशमा केही भएन भनेर व्यवस्था परिवर्तन गर्नु नपर्ने भन्दै यही व्यवस्थामा सही विचारले नेतृत्व गरे मात्र देश बदलिने स्पष्ट पार्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार