काठमाडौं । आफु सरकारी स्कुलमा पढाएर आफ्ना छोराछोरी निजी स्कुलमा पढाउनेप्रति सरकार गम्भीर भएर लागेको छ । यो बिचमा छोरालाई निजी विद्यालयमा पढाएको भन्दै माण्डवी गाउँपालिकाले सामुदायिक विद्यालयकी एक शिक्षिकालाई जागिरबाट निकालेको छ ।

माण्डवी–५ वागीश्वरी माविमा कार्यरत निजी स्रोतकी शिक्षिका गीता भट्टराईलाई गाउँपालिकाले निष्कासन गरेको जानकारी दिएको छ । कक्षा चारमा पढ्ने आफ्ना छोरालाई उनले स्थानीय एक निजी विद्यालयमा पढाउँदै आएकी थिईन् ।

गाउँपालिकाले सरकारी सेवा–सुविधा लिने सबैका बालबालिका अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने जनाएको छ ।

निर्णयपछि गाउँपालिका अध्यक्ष, प्रधानाध्यापक लगायतले आफ्ना बालबालिका निजीबाट निकालेर सामुदायिक विद्यालयमा पढाउँदै आएका छन् । भट्टराईले भने सामुदायिक विद्यालयमा छोरा भर्ना नगरेकाले निष्कासन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपाराम आचार्यले जानकारी दिए ।

सरकारले सरकारी कर्मचारी, जनप्रतिनिधि, शिक्षक सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो । सरकारको निर्णयलाई आफुहरुले कार्यान्वयन गरेको उहाँले स्पष्ट पार्नुभयो ।

यता, विद्यालयमा पढाउँदै आएकी शिक्षिका भट्टराईले भने गाउँपालिकाले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएकी छिन् । प्रधानाध्यापकसहित विद्यालयका अन्य शिक्षकले पनि आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउँदै आएको उनको आरोप छ ।

छोरालाई निजीबाट सामुदायिक विद्यालयमा ल्याउन खोज्दा नमानेको भट्टराईको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार