सफलताः यो एउटा एकदमै आकर्षक शब्द हो । केहीले व्यापारजगतमा उन्नति हासिल गरेका छन् र धनी बन्ने अनि नाम कमाउने सन्दर्भमा ठूलो सफलता प्राप्त गरेका छन । अरू कतिपयले भने सफल हुने सपना देखेका छन् तर पूरै असफल भएका छन ।
तपाईं आफ्नो जीवनमा जुन कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठान्नुहुन्छ, सफलता धेरै हदसम्म त्यसैमा निर्भर हुन्छ । अर्को दुइटा महत्त्वपूर्ण तत्त्व हुन् आफ्नो समय तथा शक्तिको प्रयोग कसरी गर्नुहुन्छ र आफै अग्रसर हुनुभएको छ/छैन।
थुप्रै ख्रीष्टियनले प्रचारकार्यमा पूरापूर भाग लिँदा गहिरो सन्तुष्टि महसुस गरेका छन् । पूर्ण-समय सेवालाई आफ्नो पेसा बनाउँदा जवान तथा वृद्ध दुवैले सफलता प्राप्त गर्न सकेका छन् । तैपनि कतिपयले प्रचारकार्यलाई अलि झन्झटिलो महसुस गर्न सक्छन र अन्य लक्ष्यहरूको पछि लागेर यसलाई दोस्रो स्थानमा राख्छन्। यस्तो किन हुन सक्छ ? साँच्चै मूल्यवान् कुराबाट आफ्नो दृष्टि नगुमाउन तपाईं के गर्न सक्नुहुन्छ ? अनि तपाईं कसरी ‘सबै मार्गहरूमा सफलता पाउन सक्नुहुन्छ’ ?
अतिरिक्त क्रियाकलाप र सोख
ख्रीष्टियन युवाहरूले साँचो परमेश्वरको सेवा गर्ने र अतिरिक्त क्रियाकलापमा भाग लिनेबीच उचित सन्तुलन कायम गर्नु आवश्यक छ। यसो गर्नेहरू जीवनमा सफलताको मार्गतर्फ अघि बढिरहेका छन र तिनीहरू न्यानो प्रशंसा पाउन योग्यका छन।
तथापि, केही जवान ख्रीष्टियनहरू अतिरिक्त क्रियाकलापहरूमा तथा आफ्नो सोख पूरा गर्नमा तल्लीन हुन्छन। यस्ता क्रियाकलापहरू आफैमा त अस्वीकार्य नहोला । तर जवान ख्रीष्टियनहरूले आफैलाई सोध्नुपर्छ: ‘यस्ता क्रियाकलापहरूले मेरो कति समय खान्छ ? सरसङ्गतबारे नि ? यस्ता क्रियाकलापमा भाग लिँदा म कस्तो मनोभाव राख्न पुग्छु ?
अनि मेरो जीवनको प्रमुख चासो के हुनेछ ?’ कुनै मानिस यस्तो क्रियाकलापमा तल्लीन हुँदा परमेश्वरसितको सम्बन्ध कायम राख्न ऊसित पर्याप्त समय र शक्ति नै हुँदैन भनेर सायद तपाईंले बुझ्नुभएकै छ । प्राथमिकताहरू निर्धारण गर्नु किन महत्त्वपूर्ण छ भनेर अब तपाईंले थाह पाउनुभयो होला ।
भिक्टरको अनुभवलाई विचार गर्नुहोस । तिनी भन्छन्: “बाह्र वर्षको हुँदा म भलिबल क्लबमा सामेल भएँ । समयको दौडान मैले थुप्रै पुरस्कार जितें । मसित स्टार बन्ने मौका थियो।” तर पछि गएर, खेलकुदले यहोवासितको सम्बन्धमा पारिरहेको असरले भिक्टरलाई बेचैन पाऱ्यो । एक दिन, बाइबल पढ्ने कोसिस गर्दागर्दै तिनी भुसुक्कै निदाए । साथै प्रचारकार्यबाट पनि त्यति आनन्द प्राप्त गर्न नसकेको तिनले महसुस गरे । “खेलकुदले मेरो शक्ति त हरण गरिरहेकै थियो तर यसले गर्दा यहोवाको सेवासित सम्बन्धित क्रियाकलापप्रति मेरो जोस पनि सेलाइरहेको मैले चाँडै महसुस गरें। आफूले सक्नेजति गरिरहेको थिइनँ भनेर मलाई थाह थियो।”
उच्च शिक्षा
आफ्नो परिवारको हेरविचार गर्नु ख्रीष्टियनको धर्मशास्त्रीय जिम्मेवारी हो अनि यसमा उनीहरूको भौतिक आवश्यकता पूरा गर्नु पनि समावेश छ। तर के यसको लागि कलेजको वा विश्वविद्यालयको डिग्री साँच्चै आवश्यक छ ?
उच्च शिक्षाको पछि लाग्दा यहोवासितको सम्बन्धमा कस्तो असर पर्ला भनेर विचार गर्नु राम्रो हो। एउटा धर्मशास्त्रीय उदाहरणद्वारा यो कुरा बुझौं । बारूक भविष्यवक्ता यर्मियाका सचिव थिए । एकचोटि बारूक यहोवाको सेवा गर्ने सुअवसरमा ध्यान केन्द्रित गर्नुको सट्टा महत्त्वाकाङ्क्षी भए । यहोवाले यो कुरा याद गर्नुभयो र यर्मियाद्वारा तिनलाई यस्तो चेतावनी दिनुभयो: “के तँ चाही आफ्नै निम्ति ठूला कुराहरू खोज्छस ? ती नखोज।”
बारूकले खोजिरहेका “ठूला कुराहरू” के थिए ? तिनी यहूदी समाजमा आफ्नो नाम राख्ने प्रलोभनमा परेका हुन सक्छन । अथवा भौतिक संवृद्धि पनि तिनको लागि ठूला कुराहरू भएको हुन सक्छ । परिस्थिति जेसुकै होस्, तिनले अझ महत्त्वपूर्ण कुरा अर्थात यहोवासित नजिक भइरहन मदत गर्ने कुरालाई बिर्सेका थिए । तर बारूकले यर्मियामार्फत यहोवाले दिनुभएको चेतावनी सुने र युद्धको लुटको धनसरह तिनको ज्यान जोगियो ।
यस विवरणबाट हामी के सिक्न सक्छौं ? बारूकले सल्लाह पाएको घटनाले के सङ्केत गर्छ भने केही न केही गडबडी थियो । तिनले आफ्नै लागि ठूला कुराहरू खोजिरहेका थिए । तपाईं जीवन धान्न सक्नुहुन्छ भने आफ्नो वा आफ्ना आमाबाबु वा अन्य नातागोताको आकाङ्क्षा पूरा गर्न मात्र थप शिक्षाको लागि समय, पैसा र प्रयास खर्च गर्नु के आवश्यक छ र ?
घेजोस नाम गरेका एकजना कम्प्युटर प्रोग्रामरलाई विचार गर्नुहोस । आफ्ना सहकर्मीहरूको लहलहैमा लागेर तिनले विशेष प्रकारको थप तालिम लिन एउटा विस्तृत कोर्स लिए । तर चाँडै यहोवाको सेवासित सम्बन्धित गतिविधिको लागि तिनीसित समय भएन । तिनी सम्झन्छन्: “म सधैं लखतरान हुन्थें। यहोवाको सेवासित सम्बन्धित आफ्नो लक्ष्यमा पुग्न नसकेकोले मेरो अन्तस्करणले मलाई घोच्थ्यो।”







