सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो। वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

सरकारको प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले गौमुखी मिडिया सम्मेलनमा भने, ‘छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने, बाबुआमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने कुराको थिति सधैं राख्न सकिँदैन, राखिँदैन।’

२०७४ सालमा सम्पन्न निर्वाचनमा वृद्धभत्ता बढाउन दलहरुबीच प्रतिस्पर्धा नै चलेको थियो। चुनावी घोषणापत्रमा प्रमुख दलहरुले वृद्धभत्ता बढाएर ५ हजार पु-याउने उल्लेख गरेका थिए। त्यति बेलाको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले वृद्धभत्ता ६५ वर्षमै पाउने व्यवस्था लागु गरेको थियो। त्यसपछि बनेको नेकपा नेतृत्वको सरकारले पुरानै व्यवस्था (७० वर्ष पुगेपछि पाउने) लागु ग-यो। नेकपाले घोषणापत्रमा उल्लेख गरेअनुसार वृद्धभत्ता पनि बढाएन।

यसअघि वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वकै अघिल्लो सरकारले वृद्धभत्ता बढाएर २ हजार रूपैयाँ पु-याएको थियो भने त्यसअघिकाे सुशील काेइराला नेतृत्वकाे सरकारले १ हजार पुर्याएकाे थियाे। अहिले चुनावबाट निर्वाचित भएर आएको कम्युनिस्ट सरकारले घोषणापत्रअनुसार वृद्धभत्ता नबढाएको भन्दै आलोचना भइरहेका बेला सरकार वृद्धभत्ता व्यवस्थित गर्नतिर लागेको छ।

सञ्चारमन्त्री बाँस्कोटाले वृद्धभत्ताको सुरुआत् कम्युनिस्टले नै गरेको भन्दै बढाउने वा व्यवस्थित गर्ने कुरामा अरुले चिन्ता लिनुनपर्ने बताए। उनले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने र त्यसपछि यसलाई हटाइने स्पष्ट पारे। ‘पैसा त थप्छौं तर सधैं सरकारले वृद्धभत्ता दिएर पाल्ने कुराको थिति रहँदैन’, उनले भने।

सन्तानलाई आमाबुवाप्रति उत्तरदायी बनाउने योजना सरकारको रहेको उनले सुनाए। ‘छोराछोरी जन्माउने, हुर्काउने, तातेताते गर्दिने, स्कुल पठाइदिने, केही गाह्रोसाह्रो पर्दा बाबुनानी खायौं, खाएनौं भनी सोध्ने, ठूलो मान्छे बनाइदिने बाबुआमा जब बुढो भएर हेरविचार गर्नुपर्ने अवस्थामा आउँछन्, त्यो बेला छोराछोरीले वृद्धाश्रम कहाँ छ, सरकार कहाँ भनेर खोजेर हिड्न पाइन्छ’, मन्त्री बाँस्कोटाले प्रश्न गरे।

मन्त्री बाँस्कोटाले थपे, ‘त्यसकारण जसले कमाउनेछ उसले बाबुआमाको नाममा खाता खोलेर पैसा राख्नुपर्छ। मैले मेरो बुवाको नाममा पैसा राख्नुपर्छ। मेरो तलब २० हजार छ भने कम्तीमा ५ देखि १० प्रतिशतसम्म दिनुपर्छ। यो मापदण्ड बन्दैछ।’

पाहुनालाई समेत पाल्ने नेपाली समाजमा जिन्दगीभर छोराछोरी हुर्काउने आमाबुवा जीवनको उत्तरार्धमा सरकारी वृद्धभत्ता र आश्रमको शरणमा बाँच्नुपर्ने खराब संस्कार विकसित हुन नदिन सरकार सचेत रहेको उनले बाँस्कोटाले सुनाए। ‘काठमाडौंका कतिपय ठाउँमा करोडपति छोराहरु, बुहारीहरु बाबुआमालाई पशुपतिको वृद्धाश्रममा राखेर समाजमा प्रधान बनेर हिँड्न खोजेका छन्’, उनले भने, ‘यो भ्रष्ट पुँजीवादी संस्कृतिका विरुद्ध हाम्रो लडाइँ जारी हुन्छ। त्यहाँनेर हामी वृद्धवृद्धलाई सम्मान गर्छाैंं।’

मन्त्री बाँस्कोटाले ज्येष्ठ नागरिकको जीवनको सुरक्षाका निम्ति सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य हुने र यसैका लागि सरकारले एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा कार्यक्रमको सुरुआत् गरेको बताए। ‘वृद्धभत्ता बढेन भनेर चिन्ता नगर्नुस्, बिमा गर्नुस्। बिरामी पर्नुभयो भने जीवन सुरक्षा गर्ने जिम्मा सरकारको हो। सरकारले पैसा तिर्छ’, उनले भने, ‘महिला, वृद्धको सामाजिक सुरक्षाको विषयमा क्षमताले भ्याएसम्म दिने हो।’ श्रोत नागरिक न्युज

यो पनि पढ्नुस

दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् ।सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ ।दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति:

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।

त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार