प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेस नेता एवं सांसद गगनकुमार थापाले आगामी चार वर्षमा नेपाल बर्बाद भइसक्ने दाबी गरेका छन् ।थापाले चार वर्षमा कम्युनिष्ट सरकारका कारण देश बर्बाद हुने दाबी गरेका हुन् ।

काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले तनहुँको दमौलीमा मंगलबार गरेको कार्यक्रममा थापाले केपी ओली नेतृत्वको सरकार मुलुकलाई बर्बादीतिर धकेल्न उद्दत रहेको आरोप लगाए ।

प्रधानमन्त्री केपी ओली मुलुकलाई कम्बोडिया बनाउन अग्रसर बनेको आरोप उनले लगाए । ‘हुन सेन हाम्रा प्रधानमन्त्रीका आदर्श हुन्’, थापाले भने, ‘उहाँ नेपाललाई कम्बोडिया बनाउन उद्दत हुनुहुन्छ ।’

सरकार जनताका लोकतान्त्रिक अधिकारप्रति अनुदार बन्दै गएको र आगामी निर्वाचनमा थप अनुदार बन्ने आरोप उनको थियो । वर्तमान सरकारले नै निर्वाचन गराउने हो भने उक्त निर्वाचन निस्पक्ष हुन नसक्ने थापाले दाबी गरे ।

सरकारका कारण मुलुकमा उद्योगधन्दा बन्द हुने क्रम तीव्र भएको र यो चार वर्षमा त्यो धेरै बढ्ने बताए । ‘कम्युनिष्ट सरकारका कारण मुलुक बर्बाद हुन्छ’, थापाले भने, ‘लेखेर राख्नुस् चार वर्षमा अझै धेर उद्योगधन्दा बन्द गरिन्छन् र रोजगारी खोसिन्छ ।’

थापाले कम्युनिष्ट नेतृत्वको सरकार भएका मुलुकले विकास र समृद्धि हासिल गरेको उदाहरण कतै नभएको तर्क गर्दै उनले नेपालमा पनि त्यो सम्भव नरहेको जिकिर गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार