काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । तर, दाहालले दिएको शुभकामना सन्देशमा आफैंको नेतृत्वमा सञ्चालित जनयुद्धबारे एक शब्द पनि उल्लेख छैन ।
राजतन्त्रात्मक शासन अन्त्य गरी गणतन्त्र स्थापना गर्ने भन्दै प्रचण्डकै नेतृत्वमा वि.सं. २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध घोषणा भएको थियो । २०६२÷६३ को दोस्रो जनआन्दोलनबाट राजतन्त्र अन्त्य भएसँगै माओवादी नेतृत्वमा सञ्चालिन जनयुद्ध पनि रोकिएको थियो । १० बर्षसम्म चलेको युद्धमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए ।
प्रचण्डले शुभकामना सन्देशमा युद्धकालकै झझल्को दिने केही शब्दहरु राखेका छन्, तर गणतन्त्र प्राप्तिका लागि हतियार बोकेर जीवन हत्केलामा राखी लडेकाहरुले सम्झिईरहने जनयुद्धलाई यो पटक प्रचण्डले भुसुक्कै बिर्सिदिएका हुन् ।
‘सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको छ । सर्वप्रथम म गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ ।
साथै प्रचण्डले गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेको जनाएका छन् ।








