दरवार हत्याकाण्ड छानविन आयोगको प्रसंग

म तपाईंहरुलाई एउटा प्रसंग सुनाउँछु  । दरवार हत्याकाण्डको भोलिपल्ट बेलुकी सैन्य अस्पतालमा एउटा बैठक बसेको थियो । त्यहाँ ज्ञानेन्द्र, राजपरिषद्को अध्यक्षको हैसियतले ज्ञानेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष मोहम्मद मोहसीन, प्रतिपक्षी दलका नेताको हैसियतले म, राजसभा स्थायी समितिका सभापति केशरजंग रायमाझी, प्रधानन्यायाधीश केदारप्रसाद उपाध्याय र पशुपतिभक्त महर्जन समेतको बैठक बस्यो ।

त्यहाँ गिरिजाबाबुले मलाई तपाईं बोल्नुहोस् भन्नुभयो । मैले दरवार हत्याकाण्डको छानबिन आयोग गठन हुनुपर्छ भनें तर ज्ञानेन्द्र त्यसका लागि तयार भएन । उनले पत्रकार सम्मेलन गरेर सबै कुरा क्लियर गरिदिन्छु भने । मैले कसैले पत्याउँदैन, त्यो हुँदैन, प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग बनाउनुपर्छ भनें र त्यसको लागि जोड दिने काम गरें । अन्ततः आयोग बनाउने टुंगोमा पुगेपछि र त्यहाँ मेरो नाम पनि राखिएपछि मैले टाउको मात्र हल्लाएँ, विरोध गरिनँ । मैले ठानेको थिएँ, त्यसमा गिरिजाबाबु पनि रहनुहोला । तर पछि कांग्रेस नरहने म मात्रै रहने भएपछि म त्यसमा बस्न सहमत भइनँ । कांग्रेसको कोही नबस्ने, म मात्र बस्नुपर्ने हो भने त म फँस्ने भइहालें नि ! कांग्रेसले त जहिले पनि एमालेलाई औंला देखाइरहने भयो, यही हो, दरवार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसक्ने भनेर । त्यो पत्ता लाग्ने घटना नै थिएन । मान्छे मरिसकेको छ, मैले गरेको हुँ भनेर कसैले मान्नेवाला छैन । त्यसको आधारमा रिपोर्ट ल्याउँदा के हुन्छ ? अतः म त्यसमा बस्न मानिनँ ।

सक्रिय स्वभावले मिलेको केमिस्ट्री

मेरो स्वभाव र प्रवृत्ति जहिले पनि सक्रिय रहने हो । म जहिले पनि नेतृत्व गर्ने गर्छु, चुप लागेर बस्नै सक्दिनँ । म राष्ट्रपतिमा जान चाहन्नँ भन्नुको कारण पनि त्यही हो । अझै पनि मेरो उमेर त्यति भइसकेको छैन, म किन जान्छु । हरेक पटक मैले त्यो प्रस्तावलाई अस्वीकार गरें ।

मेरो यही स्वभाव र प्रवृत्ति कारण स्वभाविक रुपमा अघिल्लो कालमा मिल्न नसकेको गिरिजाबाबुसँगको मेरो केमेस्ट्री पछिल्लो कालमा मिल्दै गयो । प्रचण्डजीसँग पनि मेरो केमेस्टी मिल्दै गयो । बहस पनि गर्ने, विवाद पनि गर्ने र मिल्दै पनि जाने ।

थानकोट आक्रमणले उठाएको रिस

प्रचण्डजीसँग हाम्रो आन्दोलनलाई कुनै हस्तक्षेप नगर्ने असर पर्ने काम नगर्ने भन्ने समझदारी थियो । तर उहाँहरुले थानकोटमा आक्रमण गरेपछि मलाई रिस उठ्यो । यो त सोझै दमन गर्नका लागि उकास्ने र आधारभूमि प्रदान गर्ने काम थियो । तत्कालै मैले प्रतिवाद गरेपछि साथीहरुले विचारै नपुर्याएर काम गरेको अब म रोक्छु भन्ने कुरा प्रचण्डजीबाट आयो ।

यो स्थितिमा समग्र रुपमा मैले नेतृत्वदायी भूमिका खेलेको हो । गिरिजा बाबुलाई पनि मैले नै भनेको हो । प्रचण्डजीलाई पनि मैले नै बोलाएको हो र हामी मिलेर सहमति भएको हो ।

बेबी किंगको भारतीय प्रस्ताव

गणतन्त्रको सन्दर्भमा कुरा गर्दा पछिल्लो कालमा वैशाख ८ गतेको कुरा जोड्न चाहन्छु । वैशाख ६ गतेको दिनमा मलाई ककनीको थुनुवाबाट मुक्त गरियो । म बल्खु जाँदा भारतबाट करणसिंह आएका थिए । कांग्रेस आईका सोनिया गान्धीका राजनीतिक एवं परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार थिए उनी । बल्खुमा पनि उनले बेबी किंगको प्रस्ताव लिएर आए । मैले अब अति ढिलो भइसक्यो, यो सम्भव छैन भनें । त्यही प्रस्ताव माघ फागुनतिर आएको थियो भने केही सोच्न सकिन्थ्यो कि ! तर शेरबहादुरजीको सरकार बनाएर पनि धेरै समस्या गरिसकेपछि ज्ञानेन्द्रलाई दिइएको शंकाको लाभ पनि सकिइसकेको थियो ।

त्यो स्थितिमा मैले बेबी किंगको प्रस्तावलाई सोझै अस्वीकार गरें । तर गिरिजाबाबु र शेरबहादुरजीले त्यो मानिसकेका थिए ।

शेरबहादुरको रिसः नरसंहार गराउन चाहेको हो ?

मलाई गिरिजाबाबुले फोन गर्नुभयो । माधव बाबु, शेरबहादुरसँग कुरा गरेर सहमति गर्नुहोस् । उहाँले शेरबहादुरजीको मुखबाट राजाको २०६३ वैशाख ८ गते बेलुकाको वक्तव्यलाई स्वीकार गरौं भन्न लगाउनुभयो ।  मैले हुन्न, स्वीकार गर्न सकिन्न, आन्दोलन रोक्न सकिन्नँ भनें ।

शेरबहादुरजी रिसाउनु भयो, उहाँले तपाईंले नरसंहार गराउन चाहनुभएको हो, सहमति गर्ने यति मौका मिलिरहेको छ भन्नुभयो । मैले हुँदैन, धोकाघडीबाट पनि शिक्षा पाउनु भएन ? हिम्मत नभएको मान्छे ! हिम्मत नभए छोड्नुस् मैदान भन्ने मान्छे मै हुँ । उहाँको प्रतिक्रिया चाहिँ मराउन खोजेको, मराउन खोजेको भन्ने नै रह्यो ।

राष्ट्रसंघ र विदेशी राजदूतहरुको दवाब

त्यो बीचमा मलाई भारत, बेलायत, अमेरिका र नर्वेका राजदूतहरुले फोन गरेका थिए । उनीहरुको भनाइ यति पाएकोमा सहमति गरिहाल्नुहोस्, त्यसपछि अगाडि बढ्नुहोला भन्ने थियो । तर मैले हुँदैन नै भनें ।

सधैंभरि हामीलाई होच्याउने कुरा प्रतिगमन आधा सच्चिएको भन्ने नै थियो । वास्तवमा, हामीले ज्ञानेन्द्रलाई शंकाको लाभ दिएका थियौं तर त्यसको प्रयोग भएन । यति धोका खाइसकेपछि, हण्डर ठोक्कर खाइसकेपछि पनि नचेत्ने त्यो पार्टी कस्तो होला । त्यसैले हामीले अब हुँदैन भन्यौं । वैशाख ९ गतेका दिन राष्ट्रसंघका प्रतिनिधि म्याथु कहाने मसँग कुराकानी गर्न बल्खु आए । उनलाई मैले भनें, यसमा तपाईंहरु हात नहाल्नुहोस् । तपाईंहरुले हात हाल्न कुनै जरुरी छैन ।

मैले कुटनीतिक भाषामा भनें, राजालाई कुरा गर्न मन छ भने सिधैं आए हुन्छ । नारायणहिटी र कोटेश्वर टाढा छैन तर नारायणहिटी र न्यूयोर्क धेरै टाढा छ । न्यूयोर्क र पुल्चोक पनि धेरै टाढा छ । पुल्चोकबाट कोटेश्वर वा बल्खु नजिक हुन सक्छ तर मेरो घर कोटेश्वर र नारायणहिटी पनि धेरै नजिक छ ।

साँच्चै राजाले कुरा गर्न चाहेको थियो भने नजिकै छैन त ? आए हुँदैन त ?

राजाका प्रतिनिधिसँगको भेट र हामीले तयार गरेको ड्राफ्ट

त्यसको भोलिपल्ट नै नारायणहिटीबाट कुराकानी गर्न पशुपतिभक्त महर्जन आए । हाम्रो स्थायी कमिटिको बैठक बसेको थियो । हामीले भन्यौं, राजाले पूर्ण रुपमा सार्वभौमसत्ता जनताको हातमा हस्तान्तरण गर्नुपर्छ । अब आधाउधी कुराले हुँदैन ।

हामीले एउटा वक्तव्यको ड्राफ्ट दियौं । गिरिजाबाबुले पनि एउटा वक्तव्य दिनुभयो । हामीले बेलुकी गिरिजाबाबुको निवासमा एउटा मिटिङ गर्यौं । म र भरतमोहन त्यहाँ गयौं । त्यहीँ राजाले घोषणा गर्ने वक्तव्यको ड्राफ्टमा छलफल गर्यौं । सहमतिको त्यो ड्राफ्टमा यसो गरौं, उसो गरौं भन्ने छलफल त भयो तर अन्त्यमा हामीले जे प्रस्ताव राखेका थियौं, त्यो अनुसार नै अन्तिम ड्राफ्ट तयार भयो ।

जस्ताको तस्तै पढ्न भनी दिइएको ड्राफ्टमा दरवारले दुई वाक्य थप्यो

त्यो ड्राफ्ट ज्ञानेन्द्रले जस्ताको तस्तै पढ्नु पर्छ भन्यौं । त्यसमा दरवारले दुईटा कुरा मात्रै थप्योः एउटा माथि प्यारा देशवासीहरु र तल पुछारमा श्री पशुपतिनाथले सबैले कल्याण गरुन् । त्यो बाहेक, सबै जस्ताको तस्तै राजाले घोषणा गरे । राजाले वैशाख ११ गते राति ९ बजे घोषणा गर्नुपर्ने थियो, ११ बजे घोषणा गरे ।

रातोपाटी अनलाइनसँगको कुराकानीको सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार