अमेरिका । अमेरिकाको उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरूको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ ।
यौन शोषणका लागि महिलालाई ललाइफकाइ जालमा पार्ने ती व्यक्तिले दशौं वर्ष जेलमा बसेपनि त्यस्तै कुकर्म नछाडेको पाइएको छ ।
सन् २०१२ मा रेकर्ड गरिएको र उटाह राज्यका अधिकारीहरुले हालै सार्वजनिक गरेको विवरणमा मेल्भीन रोल्यान्ड नामका ती व्यक्तिको कथा समेटिएको छ ।
व्यभिचारमा फसेका मेल्भीनले किशोरी र जोखिममा परेका महिलालाई लोभ्याउने, व्यक्तिगत वा अनलाइनबाट भेटेका महिलालाई चलाखीपूर्वक आफ्नो जालमा पार्ने गरेको प्रहरीको भनाइ छ ।
तिनै ३७ वर्षीय रोल्यान्डले सोमबार राति वासिङ्टनको पुलम्यान निवासी २१ वर्षीया लरेन म्याक–क्लस्कीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ ।
लरेनमाथि गोली चलाउने रोल्यान्डले पनि लगत्तै आत्महत्या गरेका थिए । पीडितकी आमा जील म्याक–क्लस्कीले रोल्यान्डले झुटो कुरा बताएर छोरीलाई फसाएको बताइन् । त्यही थाहा पाएर छोरीले एक महिनासम्म चलेको प्रेमसम्बन्ध तोडेकी थिइन् ।
रोल्यान्डले आफ्नो नाम, उमेर र आपराधिक इतिहास सबै झुटो बताएका थिए । लरेन म्याक–क्लस्कीले त्यसपछि विश्वविद्यालयका प्रहरीसमक्ष यौन प्रताडनाको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । गोलीकाण्ड हुनुअघि लरेनको परिवारले रोल्यान्डविरुद्ध मुद्दा दर्ता गर्ने तयारी समेत गरिरहेको थियो ।
उटाहका अधिकारीहरुले सन् २०१० देखि २०१८ सम्मको पृष्ठभूमि विश्लेषण गर्दा रोल्यान्डको व्यवहारमा कुनै परिवर्तन नआएको र महिलासँग नजिक हुन अनलाइनको प्रयोग निरन्तर गरिरहेको बताएका छन् ।
यसै वर्षको सुररुमा रोल्यान्डले आफू परिवर्तन भइसकेको बयान दिएका थिए। उनले जेलमा रहँदा बनाएको दौंतरी र एक बच्चाका पिताले आफूलाई सहानुभूति दिएको तथा नियम कानूनका बारेमा धेरै सिकेको बताएका थिए ।







