बीबीसी । महिलाको जीवनमा शारीरिक रुपमा बच्चालाई जन्म दिनुभन्दा ठूलो पीडादायी क्षण सायदै अरु केही होला । यसको दीर्घकालीन असर भनेको लाखौं महिलाहरुलाई ट्रमाको समस्या हुने भए पनि बेवास्ता गरिएको छ ।
तीन बजेको थियो । जब म सपनाबाट झल्याँस्स व्युँझिएँ, मेरो सिरानी पसिनाले भिजेर चिसो भएको थियो र शरिर काँपीरहेको थियो । जुन डरलाग्दो सपनाले मलाई हरेक रात तर्साउँथ्यो आज पनि त्यही सपना दोहोरिएको थियो । मलाई था’छ म मेरै ओछ्यानमा छु र सुरक्षित छु । यो सत्य हो कि मेरो जीवनमा कुनै पनि खतरा छैन । तर, म त्यो डरलाग्दो सपनालाई बिर्सिन सक्दिन, जसले हरेक रात मलाई तर्साउँछ । अध्याँरोमा कुनै आवाज आउँछ कि भनेर म एकदमै सतर्क रहन्छु ।
यो एकप्रकारको भोगिसकेको पीडाको तनावले सिर्जना गरेको असन्तुलन (पीटीएसडी- पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअडर) हो । पीटीएसडी भनेको डरलाग्दै कुनै दृश्य घटना पटक-पटक दिमागमा खेलिरहनु तथा सपनामा दोहोरीरहँदा उत्पन्न मानसिक भय हो । यसलाई ‘शेल्सशक’ पनि भनिन्छ । पहिलोपटक प्रथम विश्वयुद्धको अन्त्यपछि त्रासदीपूर्ण हिंसाको दृश्यका प्रत्यक्षदर्शीहरु प्राय: यस्तो समस्या (पीटीएसडी) देखापरेको थियो । प्रथम विश्वयुद्धको एक शताब्दी बितिसकेको छ । तर पीटीएसडीलाई अझै पनि युद्धसँग जोडेरमात्र अर्थ लगाउने गरिएको छ र यो प्राय: पुरुषलाई मात्र हुन्ने भन्ने मान्यता छ ।
तर, विश्वमा लाखौं महिलाहरु यो समस्याबाट ग्रसित छन् । यसको कारण कुनै युद्ध लडेर वा देखेर नभई बच्चा जन्माउँदा हुने पीडाबाट, जुन समस्या मैले भोगिरहेकी छु । जस्तोसुकै दुखाईबाट भए पनि यसको लक्षण समान किसिमका हुनसक्छन् ।
बेलायतको कलेज हस्पिटल विश्वविद्यालयका मातृत्व मानसिक स्वास्थ्य विशेषज्ञ प्याट्रिक ओ ब्राइनले भने, “पीटीएसडीको समस्या भएका महिलाहरु डराउने, एक्लो महसुस गर्ने, बच्चा जन्माउँदा भएको पीडा बारम्बार सम्झिरहने, एउटै सपना दोहोरीरहने, टोलाउने हुन्छन् ।”
यस्ता सबै नकारात्मक असर भइरहेको भए पनि सन् १९९० पछिमात्रै अमेरिकन साइक्याट्री एसोसियसनले महिलाले बच्चा जन्म दिइसकेपछि पीटीएसडी हुन्छ भन्ने विषयलाई फरक कोणबाट व्याख्या गरेको थियो । एसोसियसनले पीटीएसडी वास्तवमा आम मानवले भोग्ने भन्दा फरक खालको पीडा भएको भनेर व्याख्या गर्यो । तर, पछि यसलाई कुनै गम्भीर प्रकृतिको चोट लागेमा वा मानिस घाइते भएको समयमा व्यक्ति निकै डराएमा, बेसाहारा महसुस गर्ने तथा भयानक दृश्य देखेमा पनि पीटीएसडी हुनसक्ने भनेर व्याख्या गरिएको छ ।
बच्चा जन्मिँदाको चरणको महिलाका लागि निकै पीडादायी अवस्था हो । महिला गर्भवती भएदेखि नै स्वास्थ्यमा गम्भीर समस्या भइहाल्छ कि अथवा मृत्यु पो हुन्छ कि भन्ने भयले पहिलेदेखि नै महिलाहरु मानसिक तनावमा हुन्छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार गर्भवती हुँदा देखिने समस्या तथा बच्चा जन्माउँदा विश्वमा हरेक दिन ८०३ महिलाको मृत्यु हुने गरेको छ ।
बच्चालाई जन्म दिइसकेपछि कति महिलाहरु ‘पोस्टनेटल पीटीएसडी’ बाट ग्रसित हुन्छन् भन्ने आधिकारिक तथ्यांक सीमितमात्रै पाइन्छ । आधिकारिक तथ्यांकको कमी हुनुको मुल कारण बच्चालाई जन्म दिइसकेपछि महिलाहरु कस्तो अवस्थामा हुन्छन् भन्ने अध्ययनको अभाव हो । एक अध्ययनका अनुसार बच्चा जन्मदिने चार प्रतिशत महिलामा यस्तो समस्या हुने गरेको छ ।
ट्रम्याटिक डेलिभेरीका एक तिहाइ महिलाहरुमा यस्तो समस्या देखिने गरेको सन् २००३ मा गरिएको एक अध्ययनमा उल्लेख छ । जसमा डेलिभरीको समयमा हुने जटिल उपचार तथा जीवनमरणको दोसाँधबाट गुज्रिएका महिलाहरुमा पीटीएसडीको समस्या देखापर्छ ।
विश्वमा हरेक वर्ष एक करोड तीस लाख शिशुहरुको जन्म हुन्छ । जसमा ठूलो संख्यामा पीडित महिलाहरु पीटीएसडी समस्याबाट ग्रसित छन् र यसबाट मुक्ति पाउने प्रयत्न गरिरहेका छन् । तर उनीहरुको यकिन पहिचान हुन सकेको छैन ।
पोस्टनेटल पीटीएसडी समस्याबाट आमासँगसँगै बुबा पनि उत्तिकै पीडित हुने गरेको बताइएको छ । पुरुषहरुले उनीहरुको महिला साथीले बच्चा जन्माउँदा पीडाका कारण हुने चिच्याहट तथा डेलिभरीको प्रत्यक्षदर्शी बन्दा महसुस गरेको पीडाका कारण पुरुषहरुमा पनि पीटीएसडीको समस्या हुने गरेको पाइएको हो ।
पीटीएसडीको समस्याबाट ग्रसित भएकाहरुको जीवन नै प्रभावित हुने अध्ययनले देखाएको छ । यसका लक्षणहरु विभिन्न किसिममा देखिने गर्छन् । ” मैले बच्चा जन्माउँदा भोगेको पीडा अहिले पनि झलझली दिमागमा आउँछ”, बेलायतकी एक महिला लीओनाइ डोनेसले भनिन्, ” म अहिले पनि खतरामुक्त भइनसकेको महसुस हुन्छ र म जहिले पनि निकै सावधान रहन्छु ।”
सन् २०१६ मा छोरालाई जन्म दिइएकी एक अर्की महिला लुसी वेबरले अहिले असन्तुलित व्यवहार गर्न लागेको र सानो-सानो कुरामा पनि रिसाउने गरेको बताइन् । “म मेरो बच्चालाई एक्लै छोड्न सक्दिन र कसैले समातेको पनि मन पर्दैन”, उनले भनिन्, “बच्चालाई केही नराम्रो पो भइहाल्छ कि भन्ने कुराले पिरोल्छ ।”
अनुसन्धानकर्ता लण्डनस्थित क्वीन म्यारी विश्वविद्यालयकी एलिजावेथ फोर्ड र सस्सेक्स विश्वविद्यालयकी सुसन ऐयर्सका अनुसार बच्चा जन्माउँदा समस्या झेलेका सबै महिलाहरुलाई पोस्टनेटल पीटिएसडी नहुन पनि सक्छ । “बच्चा जन्माउँदा पूर्णरुपमा नियन्त्रण गुमाएका र गर्भवती हुँदा तथा बच्चा जन्माउँदा स्यारसुसार अपुग भएका महिलाहरुलाई पीटीएसडीको जीखिम उच्च हुन्छ”, अनुसन्धानकर्ताले लेखेका छन् ।
स्टेफेन (नाम परिवर्तन) ले भनिन्, “म गर्भवती हुँदा स्याहारको कमी भयो । सन्तुलित आहार नमिल्नुका साथै माया र हसौला पनि मिलेन । मैले छोरा जन्माएँ । जुन एकदमै निलो जन्मियो । उसलाई तत्कालि विशेष उपचार कक्षमा लगियो । जुन कुरा मलाई घण्टौंसम्म पनि बताइएन ।”
‘मेक बर्थ बेटर’ अभियन्तासमेत रहेकी क्लिनिकल साइकोलोजिस्ट इमा स्भानबर्गले पीटीएसडी भएका महिलाले स्टेफेनकोजस्तै साझा समस्या सुनाउने गरेको बताइन् । उनले भनिन्, “हामी बारम्बार सुन्ने गरेका गुनासाहरु हेर्दा उचित हेरचाह र खानपानमा ध्यान नदिँदा पाइएको छ।”
इडेनबर्गस्थित नेपियर विश्वविद्यालयका अनुसन्धानदाता जेनिफर पेटरसन यदि महिलाले बच्चा जन्माउँदा निकै पिडा हुन्छ भन्ने विषयमा थोरै पनि सचेतता अपनाउने हो भने पीटीएडीको जोखिम कम हुने बताउँछन् । अध्ययनका अनुसार केही महिलाहरु भने बच्चा जन्माउनुभन्दा पहिले नै पीटीएसडीको समस्याबाट ग्रसित हुने गरेका छन् ।
अधिकांश महिलाहरु बच्चा जन्माउनु एक जीवन परिवर्तन गर्ने खुड्किलो भएको स्वीकार गर्छन् । यस समयमा उचित सहयोग, हेरचाह र खानपानमा विशेष ध्यान दिनुपर्छ । जसलेगर्दा पीटीएसडी हुने जोखिम केही हदसम्म कम गर्न सकिन्छ ।
“यौन दुर्व्यवहारको सिकार भएका, डिप्रेसन तथा अन्य मानसिक रोगबाट गुज्रिएका महिलाहरुमा पीटीएसडी हुने जोखिम उच्च हुन्छ । उनीहरु सामान्य महिलाभन्दा पाँच गुणा बढि जोखिममा हुन्छन्,” पूर्वीलन्डनस्थित एनएचएसमा कार्यरत पेरिनेटल साइक्याट्रिक रेबिका मुरेले भनिन् ।
ससेक्स विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार पीटीएसडीको समस्या भएका महिलाहरुको उनीहरुको पुरुष साथीसँग सम्बन्धमा नकारात्मक असर गर्छ । यौन सम्बन्धमा नकारात्मक हुने, असहमति जनाउने, सानो सानो कुरामा पनि दोषारोपण गर्ने हुन्छ । जसले गर्दा बच्चा र आमाको सम्बन्धमा प्रभाव पर्छ ।
पिटीएसडी भएका महिलाहरुको मेडिकेसन र व्यवहारजन्य थेरापी गरेर उपचार गर्न सकिन्छ । संवाद थेरापी, जसले मानिसहरुको सोच्ने र व्यवहार गर्ने तरिकामा परिर्वतन ल्याउँछ । पिटीएसडीको जोखिम कम गर्न स्वयंसेविकाहरुलाई गर्भवति र सुत्केरी महिला स्यहारका विषयमा तालिम तथा विभिन्न चेतनामुलक कार्यक्रम चलाउनेपर्ने विभिन्न अध्ययनहरुको सुझाव छ ।







