धनन्जय बुढा, काठमाडौं । जनयुद्ध घाइते तथा अपांगहरुले गिरफ्तार आफ्ना साथीहरुलाई रिहा नगरे फेरि आमरण अनसनसहितका संघर्षमा जाने चेतावनी दिएका छन् ।

जनयुद्ध तथा जनआन्दोलनका घाइते योद्धाहरुको व्यवस्थापन सरोकार संघर्ष समितिले बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर सरकारले गिरफ्तार गरेका आफ्ना साथिहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।

जेठ १२ गते गृहमन्त्रालयबाटै समितिको संयोजकसहित ११ साथीहरुलाई गिरफ्तार गरेर थप पीडा र अन्यय दिएको पत्रकार सम्मेलनमा बताइएको छ । ‘द्वन्द्वका घाइते तथा अपाङ्गता दिगो ब्यवस्थापन समिति’ को बैठकमा भएको छलफललाई लिएर गृहमन्त्रीको ठाडो आदेशमा आफ्ना सहकर्मीलाई प्रहरीले गिरफ्तार गरेको पत्रकार सम्मेलनमा उनीहरुले बताए ।

संघर्ष समितिकी सदस्य जुम्लाकी इन्दु न्यौपानेले आफ्नो जीवनसाथीलगायत ११ जना सहकर्मीहरुलाई मन्त्रालयबाटै प्रहरीले गिरफ्तार गरेको बताइन् ।

“कार्यदलको संयोजक गृहमन्त्रालयकी सह–सचिव इन्दु घिमिरेसँग कार्यदलको बैठक बसिरहेको थियो । केही विषयमा सामान्य विवाद भयो । घिमिरेले हाम्रा मागप्रति नकारात्मक धारणा राखेपछि सामान्य भनाभन भएको थियो । त्यतिकैमा गृहमन्त्रीकै ठाडो आदेशमा संयोजक बिक र अन्य सकर्मीहरुलाई प्रहरीलाई गिरफ्ता गरेर लग्यो” न्यौपानेले भनिन् । जनयुद्धमा गृहमन्त्री रामबहादुर थापालगयातका नेताहरुले आफूहरुलाई लड्न आदेश दिएको बताउँदै उनले आफ्ना कुरा राख्दा गिरफ्तार गर्न निर्देशन दिनु दुःखको कुरा भएको बताइन् ।

त्यस्तै दैलेखका नरवीर दमाइले विगत साढे एक वर्षदेख आफूहरु राज्यसँग न्युनतम रुपमा भरणपोषण र औषधि उपचारको लागि माग गर्दा उल्टै जेल हाल्नु गैरजिम्मेवारी मात्र नभएर अमानवियताको पराकाष्टा नै भएको धारणा राखे । दमाइले हिजो लड्न र मर्न आदेश दिने प्रचण्ड पार्टी अध्यक्ष अनि दुइतिहाइको सरकारका गृहमन्त्री रामबहादुर थापाको हातमा सबैथोक हुँदा पनि उल्टो अन्यायमा पर्नु दुर्भाग्य भएको बताउँदै भने,“हिजोको बलिदानीप्रति हाम्रो पूर्ण गौरव भएपनि आज यी नेताहरुको मनस्थिति देख्दा दुःख लाग्छ, अनि एकान्तमा प्रश्न उठ्छ के यिनै हुन त हाम्रा क्रान्तिका महानायक र नायकहरु ?”

कालिकोटका भिमे बुढाले पनि पत्रकारहरु समक्ष निकै दुखेसो पोख्दै भने,“परिवार, समाजबाट छिछि र दुरदुर भइएको छ, अपाङ्ग शरीर लिएर कता जाऊँ ? राज्यसँग कम्तिमा पनि सम्मान जनक जीवन ज्युने आधार माग्नु भन्दा अरु केहि गर्न सक्ने अवस्था नै छैन । तर राज्य झन जेल कोच्न खोज्छ खोई के गर्ने ।” कालिकोटकै रत्न नेपालीले देशको परिवर्तनको ज्यान हत्केलामाथि राखियो तर, देश हैन नेताहरु परिवर्तन भएकोले आफूहरुको यो हालत भएको बताए ।

“देश परिवर्तनको लागि भन्दै मर्न र मार्न निर्देशन दिने नेताहरुले नै अहिले आफ्ना कुरा राख्दा गिरफ्ता गर्न लगाउने ठाउँमा पुगे । निकै दुःख लागेको छ । नेताहरु सडकबाट सत्तामा पुगे, गरिबबाट धनि भए तर हामी सबल र सक्षमताबाट अपाङ्ग र घाइते भयौं, फेरि पनि आफ्ना कुरा राख्दा हामी नै जेल जानु पर्ने भयो” नेपालीले भने । उनले आफूहरु जनयुद्धमा मरेको भए ठिक हुने लाग्ने गरेको बताउँदै भने, “बरु युद्धमा सहादत प्राप्त गरेको भए कसैको हेपाई त खाइन्न थियो होला ।”

संघर्ष समितिका सदस्य समेत रहेका नेपालीले फरक मत राखेकै कारण सरकारले आफ्ना साथीहरु गिरफ्तार गरेको बताउँदै तत्काल रिहा गर्न माग गरे । यदि रिहा नगरे फेरि आमरण अनसनसहित संघर्षमा जाने चेतावनी समेत दिए ।

जनयुद्धका घाइतेहरुले अधिकारसहितको गणतन्त्र सेनानी परिचयपत्र प्रदान गर्नुपर्ने, समय सान्दर्भिक जीवन निर्भाह भत्ता उपलब्ध गराउनु पर्ने, घाइतेहरुलाई निःशूल्क स्वास्थ्य उपचार स्वदेश वा विदेशमा गराउनु पर्ने, बालबच्चालाई उच्च शिक्षासम्म निःशूल्क गर्नुपर्ने तथा जनयद्धका घाइतेहरुको पुर्न–अबलोकन प्रतिशत निर्धारण खारेज गर्नुपर्नेलगायतका मागहरु राख्दै आएका छन् ।

गिरफ्तार सबै जनालाई महानगरिय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार