गणतन्त्रको कुरा गर्दा सबै सम्झिने १९ दिनको आमहडताल हो । त्यो एउटा निर्णायक घडी थियो। धेरैले यसको चर्चा गर्छन्। तर, गणतन्त्रको पृष्ठभूमि २००७ सालकै क्रान्तिले तयार गरेको थियो।

राणा शासनमा शिक्षा, मानव अधिकारका लागि कुरा उठाउनेलाई मृत्युदण्ड दिइन्थ्यो । त्यसकारण राजतन्त्र फाल्ने सोच जनताको दिमागमा त्यतिबेला नै पलाएको थियो। हामी २०४६ सालपछि राजनीतिमा आएको पुस्ता हौं। तर मूल भूमिका भने २०६२-६३ मै खेल्यो हाम्रो पुस्ताले ।

राजतन्त्र फाल्नको पृष्ठभूमि लामो छ। २०४६ सालको आन्दोलनताका म ६-७ कक्षामा पढ्थें। त्यसबेला कतैकतै भित्तामा लेखिएको थियो राजतन्त्र विरोधी नारा। म त्यसबेला आफूभन्दा ठूला दाइसँग पनि राजनीतिक कार्यक्रममा जान्थेँ ।

समाजको असमानता भन्ने कुरा मैले सानैमा बुझेकी थिएँ। तर, कस्तो हुन्छ भन्ने बुझेको थिइनँ। जब राजनीतिक सम्पर्कमा पुगेँ, त्यसपछि बोध भयो। राजनीतिक हिसाबले सचेत भएँ। त्यसपछि अनेरास्ववियुमा काम गरे। बहुदल आएपछि पार्टी गतिविधिमा सामेल भएँ।

गणतन्त्रको स्पेस छ भन्ने कुरा मदन भण्डारीको थियो। उहाँले भन्नुभएको थियो- ‘राजतन्त्र रहे वा नरहे केही फरक पर्दैन, उसले जनताको अधिकार खोस्दैन भने केही हुँदैन।’ त्यो भाषण हाम्रा लागि गाइड लाइन भयो।

२०५८ जेठ १९ सम्मको समय आउँदा हाम्रो विचार फरक भयो। हामीले प्रजातन्त्रका लागि कति लड्ने? भनेर सोच्यौं। एक पटक दिने अर्को पटक खोस्ने भन्ने भइरहेको कुरालाई मनन गर्‍यौं।

२०५९ असोजमा भएको राजाको घोषणापछि अनेरास्ववियुले आन्दोलन गर्‍यो। निरंकुश राजतन्त्र मुर्दाबाद भन्ने नारा लाग्न थाल्यो।  त्यसबेलासम्म हामीलाई मिडियाले पनि धेरै स्पेस दिएको थिएन।

जब मिडियामा बढी सेनसरसिप हुन थाल्यो त्यसपछि हामीले स्पेस पाएका थियौं। अहिलेको जस्तो सोसल मिडिया थिएन तर मूलधारको मिडिया र मिसन मिडिया सक्रिय थियो।

५९ साल असोज १९ गतेपछि चर्चा चल्यो- पार्टीहरुले केही गर्न सक्दैनन् राजा नै ठिक थिए। यो राजनीतिक दलमाथि चुनौती थियो। त्यसबेला दलहरूभन्दा अगाडि हामी विद्यार्थी रह्यौं। हामी विद्यार्थी एक भएर बस्यौं र आन्दोलन गर्‍यौं।

त्यसपछिका कदमले ६२-६३ को आन्दोलनसम्म पुर्‍यायो। त्यस बीचमा बुद्धिजीवी, पत्रकार, व्यापारीहरू राजाको घरमा पनि पुगेका थिए। भोज खाएका थिए।  माघ १९ पछि जुन बेला थोरै मान्छे सडकमा थिए त्यस बेलालाई सम्झिन्छु।

चप्पल लगाउनेले हो गणतन्त्र ल्याएको। तर फाइदा टाइसुटवालाले लुटे। गणतन्त्र ल्याउन सडकमा चप्पल छोड्ने उनीहरूको जीवनमा गणतन्त्रले खै के परिवर्तन ल्यायो ? यो निकै गम्भीर विषय हो।

२०६१ माघ १९ गते राजाले कु गरेपछि राजनीतिक दलहरुको चेत खुल्यो। हामी विद्यार्थी त पहिलादेखि नै आन्दोलन गरिरहेका थियौं। हामीले नखोसिने प्रजातन्त्रको कुरा गरेका थियौँ। त्यो भनेको राजतन्त्र फाल्ने नै थियो। त्यसपछि दलहरु एक ठाउँमा आए। बल्ल एउटा पक्षले जित्ने भयो।

०५९ सालतिर राजतन्त्रविरुद्ध गरेको मिनि जनमत संग्रह र राजतन्त्रको सान्दर्भिकता विषयमा गरेको छलफल अझै सम्झना छ। राजनीतिक दलका नेताहरु आन्दोलनमा आउन थालेपछि चर्चा चल्यो। तर ब्याकग्राउन्डमा उही विद्यार्थी थिए। म्याजिक चप्पल लगाउनेहरू थिए सडकमा ।

तर, गणतन्त्र आएपछि फेरि पनि अगाडि त्यही कोट लगाउने र टाई लगाउनेहरु नै भए।

आन्दोलनका बेला दमन हुँदा विभिन्न ठाउँबाट ट्रकका ट्रक चप्पल भेटिन्थ्यो। त्यसले के प्रमाणित गर्छ भने सडकमा त्यही चप्पल लगाउनेहरु थिए। चप्पल लगाउनेहरुले हो गणतन्त्र ल्याएको । तर फाइदा टाइसुटवालाहरुले लुटे । गणतन्त्र ल्याउन सडकमा चप्पल छोड्ने उनीहरूको जीवनमा गणतन्त्रले खै के परिवर्तन ल्यायो ? यो निकै गम्भीर विषय हो ।

अहिले हामीले ल्याएको गणतन्त्रलाई हामीले नै राम्रो बनाउने हो। गणतन्त्रमा राष्ट्रपति बलियो संस्था हो तर हाम्रो देशमा भने यो संवैधानिक छ। संविधानले सीमाहरु तोकेको छ। यो गरिमामय हुनुपर्छ भन्ने हो। गणतन्त्रको उपलब्धि यसलाई पनि मान्न सकिन्छ कि जनताको छोराछोरी राष्ट्र अध्यक्ष बनाउन सक्छ।

यो गणतन्त्रको एक दशकमा के देखियो भने गणतन्त्र संस्थागत गर्न छलफल गर्नुपर्छ। समस्या पहिचान गर्नुपर्छ। सामाधान खोजिनुपर्छ। अहिले पनि राजनीतिक आमसहमतिको आवश्यकता छ।
राजनीतिक दार्शनिक कारणले समाज बुझ्ने कुरा फरक हुन्छ। हामीले संविधान निर्माण गर्दैगर्दा सबैलाई सम्मान गर्‍याैं। एउटा समाजवादबाट प्रतिबद्ध हुँदै संविधान निर्माण गर्‍यौं। अरु जे भए पनि हाम्रो सामूहिक एजेन्डा समाजवाद हो। यस्तो समाज समाजवादतर्फ जान कसरी भन्ने कुरामा ध्यान दिनुपर्छ। तर, त्यसतर्फ कसैले ध्यान दिएको देखिएन।

समाजको पिँधमा हुने मान्छेले परिवर्तनमा साथ दिन सक्छन्। तर उपभोग गर्ने समाजको टुप्पामा भएका मान्छेले नै हो। जसले रङ चाँडो-चाँडो बदल्न सक्छन्। आज पनि त्यो आन्दोलनका म्याजिक चप्पलधारीलाई के दिएका छौं र? तर, रङ बदली-बदली सुविधा लिनेहरुको बोलवाला छ जहाँ पनि।

वडादेखि राष्ट्रपतिसम्म हामी नै छौं । तर हामीले समाजका तल्लो तहका मानिसका लागि केही गर्न सकेनौं।

सुधारिने त हामी राजनीतिकर्मी हौं। विभिन्न पदमा भएकाले नै हो। कर्मचारीले काम गरेन, व्यापारीले कर छले, काम गर्न दिएनन् भन्नाले हुँदैन। राजनीतिक पार्टी र राजनीतिक पार्टीले सञ्चालन गर्ने सरकारको जिम्मा हो त्यो।

कानुन पनि माफियाको स्वार्थअनुसार बन्छ। माफियाले पहिले राज्यको केन्द्रमा प्रभाव पर्छ। जब संसद्मा आउँछ त्यसपछि त्यहाँभित्र खेल्छ। निजी स्वार्थ पूरा गर्न एउटै पार्टीका सांसदको वर्ग चरित्र फरक हुन्छ। माफियाले त्यस्तै खालका मान्छेलाई उसले समात्छ र काम फत्ते गर्छ । हामी कसका लागि काम गर्दैछौं भन्ने थाहा पाउनुपर्छ ।

कतिपयले उठाउँछ गणतन्त्रका लागि हामी परिपक्व थिएनौं भन्ने कुरा उठ्छ। तर, नेपाली राजनीतिक दललाई त्यो भन्ने सुविधा छैन। जानी बुझीकन शान्तिपूर्ण तबरले गणतन्त्र आएको हो। राजाले पत्रकार सम्मेलन गरेर छोडेको हो।

गणतन्त्र घोषणा भएको थियो तर मलाई विश्वास थिएन। घोषणा भए पनि कार्यान्वयन हुँदैन कि जस्तो मलाई लागेको थियो। तर, कार्यान्वयन भयो। त्यसकारण हामी तयार थिएनौँ भनेर भन्न मिल्दैन।

राजतन्त्र फालेर राष्ट्रपति जस्तो संस्था बनायौं। अब यो राष्ट्रपति जस्तो संस्थालाई राजाको जस्तो बनाउनु हुँदैन। यहाँ केही बहस छन्। प्रधानमन्त्रीले पनि केही दलिल पेस गर्छ कि विश्वभर ‘माई गभर्मेन्ट’ भन्ने चलन छ।

म के भन्छु भने अंग्रेजी र नेपालीमा शब्द धेरै छन्। अंग्रेजीमा यू हुन्छ तर नेपालीमा तिमी, तपार्इं, तँ जस्ता धेरै हुन्छन्। त्यसकारण त्यो ठीक होइन। परम्परा चलिरहेको छ भने पनि नेपाली जनताले यस्तो परम्परा मान्दैन।

दस वर्षअगाडि हामीले यही कुरा परिवर्तन गरेको अनि आज त्यही कुरा गर्ने? यो भएन । जनताले सुन्दा प्रिय हुनुपर्‍यो। यो स्वीकार गर्नुपर्छ भन्ने दबाब दिनु भएन। राजतन्त्र फर्कने सम्भावना छैन । यो मुलुकलाई प्रयोगशाला बनाउन तयार छैन । जनताको चाहना पनि छैन।

नेपालसमयसँगको कुराकानीको सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार