कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले पत्ता लगाउन नसकेको भनेर देशभर आलोचना हुने गरेको छ ।

सरकारले निर्मलाका हत्यारालाई किन पत्ता लगाउन सकेन ? यो प्रश्नमा थुप्रै आरोप लाग्ने गर्छन् । तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले हत्याराबारे खुलासा गरेका छन् ।

नेता कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको दाबी गरेका छन् । नेपाल शिक्षक संघ प्रदेश नम्बर ५ को सभालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्छ भनेर किन भन्नुभएको थाहा छ ? किनकि हत्यारा बालुवाटारमै छ ।’

कार्यक्रममा बोल्दै कोइरालाले सुनकाण्डका दोषी पनि बालुवाटारमै रहेको बताए । सुनकाण्डका दोषी प्रधानमन्त्रीसँगै चाइनादेखि भियतनाम पुगिरहेको दाबी गरे ।

नेता डा. कोइरालाले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफू थुनामा रहेका बेला राजासँग सम्झौता गर्न दबाब दिएको समेत बताएका छन् । ‘२०६२/०६३ को जनआन्दोलन बेलामा राजालाई तपाईंहरूलाई छोड्दैन हस्ताक्षर गरेर छुट्नुस् भन्नुभएको थियो,’ उनले भने, ‘उहाँ त्यतिबेला वयलगाडा चढेर अमेरिका पुगिन्छ भन्दै हिँड्नुहुन्थ्यो ।’

आफूहरू लोकतान्त्रिक आन्दोलनमा लागेका बेला प्रधानमन्त्री ओली पक्राउ पनि नगरेको उनले स्मरण गरे । प्रधानमन्त्री ओली शक्तिको भोको रहेको कोइरालाको दाबी छ । ‘ओलीजी सर्वसत्तावाद, अधिनायकवाद र निरंकुशतावादको ठ्याक्कै प्रतिबिम्ब हो,’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार