रुसको जशिंस्क शहरमा बम बनाउने कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका छन्।
रसियाली सेनाका लागि बम बनाउनुका साथै भण्डारण गरिने कारखानामा विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ। विस्फोटका कारण त्यहाँ वरिपरि रहेका १८० वटा घरमा समेत क्षति पुगेको छ।
घाइते हुनेमा ३८ जना कारखानाका कामदार र ४१ जना स्थानीय रहेको बताइएको छ। धेरै घाइतेहरुलाई सिसाले लागेको र हाल १५ जनाको अस्पतालमा उपचार भइरहेको छ। विस्फोटका कारण उत्पन्न कम्पनका कारण कारखाना र वरिपरिका घरहरुका सिसाहरु फुटेको बताइएको छ।
अधिकारीहरुका अनुसार विस्फोटका समयमा कारखानामा पाँचजना कामदारमात्रै रहेका थिए। उनीहरु सबैको उद्धार गरिएको थियो।
विस्फोट हुनुको कारणबारे अनुसन्धान सुरु भएको छ। प्रहरीका अनुसार कारखानाले सुरक्षा सम्बन्धी मापदण्डको उल्लंघन गरेको आशंकामा केन्द्रित रहेर अनुसन्धान भइरहेको छ।







