चीन–अमेरिका व्यापार युद्धले चर्को रूप लिइरहेका बेला चीनले आइतबार श्वेतपत्र जारी गरेको छ । राज्य परिषदको प्रेस कार्यालयले ‘चीन–अमेरिका आर्थिक तथा व्यापारिक छलफलमा चीनको अडान’ विषयक श्वेतपत्रमार्फत चीनले अमेरिकासँगको आर्थिक तथा व्यापारिक छलफलमा आफूले लिएको राजनीतिक अडानबारे प्रकाश पारेको हो ।

वाणिज्य उपमन्त्री तथा अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि उपप्रतिनिधि वाङ सौवन र राज्य परिषदको सूचना कार्यालयका उपनिर्देशक क्वो वेइमिनले कुल ८ हजार ३ सय शब्दको श्वेतपत्र जारी गरेका हुन् ।

सन् २०१८ को मे महिनादेखि चीन–अमेरिका व्यापारिक संघर्ष चर्किंदै गएको थियो । यो संघर्षको एक वर्ष पूरा भएपछि चीनले बेइजिङमा श्वेतपत्र सार्वजनिक गरेको हो । श्वेतपत्रले औंल्याएअनुसार अमेरिकाले हाल भन्सार वृद्धि गर्नुले द्विपक्षीय आर्थिक व्यापारिक समस्याको समाधान गर्नुको सट्टा झन् बखेडा झिकेको छ ।

चीनले कुनै विकल्प नदेखेपछि बाध्य भएर प्रतिकार गर्नुपरेको दाबी श्वेतपत्रले गरेको छ । चीनले भनेको छ, ‘सहकार्यमार्फत व्यापारिक घर्षण अन्त्य गरी साझा फाइदाका पक्षमा चीन उभिएको छ, त्यसका लागि छलफल नै समाधानको आधार हो, सैद्धान्तिक समस्यामा चीन दृढताका साथ उभिनेछ ।’

व्यापारिक रस्साकसी अन्त्य गर्ने उद्देश्यले चीन र अमेरिकाबीच गत वर्षको फेब्रुअरीदेखि नै संवाद सुरु भएर यहाँसम्म आइपुग्दा धेरै विषयमा सहमति भइसकेको थियो । कैयन् व्यवधानहरू पार भएको भन्दै चीनले सहमति उल्लंघन गर्ने अमेरिकाको दम्भबाट समाधान निस्कन नसकेको निचोड निकालेको छ ।

गत वर्षको मेदेखि नै व्यापारिक घर्षण निदानका लागि छलफल प्रारम्भ भए पनि ‘३०१ छानबिन’ प्रतिवेदन सार्वजनिक गर्दै पचास अर्ब अमेरिकी डलरका चिनियाँ सामानमा भन्सार कर असुल्ने अमेरिकी घोषणापछि स्थिति बिग्रन पुगेको हो ।

श्वेतपत्रमा चीनले गत वर्षको मे महिनामा दुवै मुलुक व्यापारिक संघर्ष नगर्ने सहमतिमा पुगेको १० दिन नबित्दै अमेरिकाले सहमति तोडेर चीनका लागि भन्सार कर असुल्ने योजना लागू गर्ने घोषणा गरेको उल्लेख छ । यस वर्षको मेसम्म आइपुग्दा अमेरिकाले दुई खर्ब चिनियाँ सामानका लागि भन्सार कर १० प्रतिशतदेखि २५ प्रतिशतसम्म उकासेको छ ।

अमेरिकाबाट विश्वको स्थिरतामै धक्का

चीनका अनुसार अमेरिकाले भन्सार थोपरेर दुवै देशका अलावा विश्व बजारको विश्वास र स्थिरतामा नै धक्का दिएको छ । चालु वर्षको अप्रिलसम्म चीनबाट अमेरिका निर्यात परिमाण ५ महिना लगातार ५ महिनामा घटदै आएको छ भने अमेरिकाबाट चीन निर्यात परिमाण पनि लगातार घटिरहेको छ । यस अनिश्चितताको समाधानका लागि दुवै देशका व्यवसायहरूले प्रतीक्षा गरिरहेका छन् । विश्व व्यापार संगठनले पनि २०१९ को वृद्धिदर ३.७ बाट २.६ प्रतिशतसम्म तल झारेको छ ।

भन्सार बढाउनु अमेरिकाकै लागि प्रत्युत्पादक

अमेरिकाले भन्सार असुल्ने कदमबाट अमेरिकी आर्थिक वृद्धिमा नै गम्भीर क्षति पुर्‍याउने छ । अमेरिकी व्यवसायको उत्पादन लागतमा वृद्धि, अमेरिकी बजार भाउको वृद्धि, अमेरिकी आर्थिक वृद्धि तथा जनजीवनमा प्रभाव तथा अमेरिकाबाट चीनलाई निर्यातमा बाधालगायत तत्कालै अमेरिकाले भोग्नुपर्ने क्षति हुन् ।

अमेरिकी वाणिज्य संघलगायतका संस्थाहरूले सार्वजनिक गरेको संयुक्त प्रतिवेदनबमोजिम, अमेरिकाले चीनबाट अमेरिकालाई निर्यात सबै उत्पादित वस्तुमाथि २५ प्रतिशत भन्सार कर असुलेमा आगामी १० वर्षमा अमेरिकाको गार्हस्थ उत्पादन परिमाण १० खर्ब अमेरिकी डलरभन्दा कम हुनेछ ।

व्यापार वार्ता विफलताको दोषी अमेरिका

चीन–अमेरिका व्यापार वार्ताको पछिल्लो चरणमा आइपुग्दा चीन नै सुरुवाती विन्दुतिर फर्किएको अमेरिकाको आरोप छ । एकपक्षीय रूपमा भन्सार असुलीको चीनले विरोध गरेको हो र बाध्य भएर जवाफी कदम चालेको हो । चीनले भनेको छ, ‘आर्थिक व्यापारिक सम्झौता सम्मान र दुवै पक्षको हितको आधारमा हुनुपर्छ ।

सम्झौताको पूर्वसर्त भनेको अमेरिकाले असुलेको सबै भन्सार कर रद्द गर्ने र सम्पन्न हुने सम्झौता सन्तुलित र दुवै पक्षको हितअनुकूल हुनुपर्ने भन्ने हो ।’

चीन इमान्दार, अमेरिका बेइमान

व्यापार वार्तामा चीनजत्तिको इमान्दार अमेरिका नदेखिएको उसको दाबी छ । इमान्दारी नै विमर्शको आधार भएको चीनले ठहर गरेको छ । अमेरिकाकै इच्छाबमोजिम आपसी मतभेद हटाउन चीन प्रभावकारी तरिका र उपायको खोजीमा जुटेको हो । आपसमा भएका ११ चरणसम्मका उच्चस्तरीय वार्तामा निकै ठूलो प्रगति हासिल हुनुमा पनि चीनको विश्वसनीयता र प्रतिबद्धता पालना नै थियो ।

सहकार्य र साझा विजय नै उज्ज्वल भविष्य

चीनले अझै पनि सहकार्य नै एउटै मात्र सही छनोट र साझा विजयबाट मात्रै उज्ज्वल भविष्यको पाइला चाल्न सकिने दोहोर्‍याएको छ । अमेरिकाले चीनसँग एउटै दिशातिर अघि बढदै आपसी आदर, समानता र हितको भावना लिएर विद्यमान मतभेदको नियन्त्रण गरेर आपसी सहयोगलाई सबल पार्ने आशा चीनले लिएको छ ।

आर्थिक पुनरुत्थानमा गम्भीर चुनौती

अमेरिकाको जोरजबर्जस्तीले विश्वव्यापीमा नकारात्मक प्रभाव पार्नेमा चीन चिन्तित देखिएको छ । अमेरिकाले विश्व व्यापार संगठनको नियमविपरीत अनेकौं व्यापारिक संरक्षणका कदमहरू चालेर बहुपक्षीय व्यापारिक व्यवस्था ध्वस्त पार्नुका साथै विश्वव्यापी औद्योगिक तथा आपूर्ति शृंखलामै प्रहार गरेको चीनको ठहर छ । बजारमुखी विश्वास खस्काएर विश्वव्यापी आर्थिक पुनरुत्थान गर्ने गम्भीर चुनौती अमेरिकाले दिएको पनि चीनको आरोप छ ।

चीनले विश्वको परिस्थिति हेरेर

आफ्नो कदम चाल्ने तर खुलापनतर्फ अग्रसर चीनले विश्वसित अझ गहन अन्तर्क्रिया गरेर अझ विकसित तथा समृद्धिलाई विश्वव्यापी बनाउने अठोट लिएको छ । चीनले सुधार तथा खुलापनलाई अझ गहन गर्नुका साथै अनेकौं महत्त्वपूर्ण कदम चाल्नेछ ।

चिनियाँ सञ्चार माध्यमहरूका अनुसार यो श्वेतपत्र चिनियाँ, अंग्रेजी, फ्रेन्च, रसियन, जर्मनी, स्पेनिस, अरेबिक र जापानी भाषामा पनि प्रकाशित भएको जनाइएको छ । चीन–अमेरिका व्यापार संघर्षलाई लिएर चीनले दोस्रोपटक यस्तो श्वेतपत्र जारी गरेको हो । यसअघि गत वर्षको सेप्टेम्बर २४ मा यस्तो श्वेतपत्र जारी गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार