भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आजै मात्र नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने बताउनुभएको थियो ।
प्रेस सङ्गठन पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझाउने अवस्था नरहेको बताउँदै सरकारी सेवा प्रवाहलाई परिवर्तन गर्नसके मात्रै राजनीतिक परिवर्तनको अनुभूति हुने धारणा राख्नुभएको थियो ।
उहाँले यसका लागि आफू नेतृत्वको मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै मालपोत तथा नापी कार्यालयमा सरलीकृत फारम तथा अनलाइन प्रणालीको विकास भइरहेको र यी कार्यालयलाई ढिलो चाँडो कागजविहीन प्रणालीमा रुपान्तरण गर्ने मन्त्रालयको लक्ष्य रहेको जानकारी दिनुभयो ।
उहाँले अबको डेढ वर्षमा देशभरिका सबै मालपोत कार्यालयमा डिजिटल प्रणालीबाट सेवा प्रवाह गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो । यसअघि ६ वटा मालपोत कार्यालयलाई परीक्षणको रुपमा डिजिटल प्रणाली लागू गर्दा यी कार्यालयबाट छ महिनामा राजश्व सङ्कलन रु एक अर्ब ५० करोडले वृद्धि भएको दृष्टान्त पेश गर्दै मन्त्री अर्यालले सेवा प्रवाहलाई आधुनिक बनाउनुको विकल्प नरहेको धारणा राख्नुभयो ।
साथै उहाँले सरकारी जग्गामा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, अतिक्रमित जग्गामा रहेको बसोबास हटाएरै छाड्ने दृढता पनि ब्यक्त गर्नुभएको थियो । मन्त्री अर्यालले बालुवाटारमा भएको जग्गा अतिक्रमणको विभिन्न तीन वटा निकायबाट छानबिन भइरहेको जानकारी दिनुभयो ।
यही बेला मन्त्री अर्यालको विशेष निर्देशनमा चाँगुनारायण नगरपालिकाले पर्यटकीय क्षेत्र नगरकोटमा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गरी सरकारी तथा सामुदायिक वन क्षेत्र र सडक सीमाको जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको हो।
आइतबार २० वटा टहरा भत्काएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। यसअघि सडक सीमा, सरकारी सार्वजनिक र वन क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन नगरपालिकाले सूचना जारी गरी मार्फत आग्रह गरेको थियो।
तर, अनाधिकृतरुपमा बनाइएका घर टहरा नहटाएपछि टहरा भत्काउन सुरु गरेको नगरप्रमुख मिश्रले बताउनुभयो । ‘पहिलो चरणमा आइतबार नगरकोट क्षेत्रमा बनेका २० घर टहराहरु भत्काइएको हो,’ नगरप्रमुख मिश्रले भन्नुभयो, ‘सनसेट भ्यु प्वाइन्ट, गड्गडे बसपार्क क्षेत्र र कुसुम सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी बनाएका घर टहरा भत्काएका हौं।’
अतिक्रमण गरी बनाइएका घर टहरा तीन चरणमा भत्काउने योजना रहेको मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दोस्रो चरणमा भ्युटावर क्षेत्र र भट्टेडाँडा बजारका सरकारी जग्गामा बनेका टहरा भत्काउने र तेस्रो चरणमा खरिपाटीदेखी गड्गडेसम्मका अतिक्रमित टहरा भत्काउने योजना छ।’
जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र जिल्लास्थित सुरक्षा निकायहरुको संयुक्त प्रयासमा अतिक्रमित घर टहरा भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ। नगरकोट क्षेत्रमा मात्र १६० रोपनीभन्दा बढी सामुदायिक वन, सरकारी र सडक सिमा भित्रका जग्गा अतिक्रमण गरी घर टहरा निर्माण गरी होटल, रेष्टुरेन्टलगायतका व्यवसाय सञ्चालन हुँदै आएको वन कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
वन कार्यालयले एक दशकअघिदेखि सो क्षेत्रमा अतिक्रमण गरी बनाएका घर टहरा हटाउने प्रयास गरे पनि राजनैतिक दललगायतको दवावका कारण सकेको थिएन।
यसअघि नगरपालिकाले अतिक्रमण गरी बनाइएका घर टहरा स्थानीय आफैंले भत्काउन समय सीमासहितको सूचना जारी गरेपछि स्थानीय र व्यवसायीको टोलीले तत्काल घर टहरा नभत्काउन नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए।
https://www.youtube.com/watch?v=-zi8TGI8nMI&t=95s







