पोखरा एयरपोर्टबाट पृथ्वीचोकतिर जाँदा नागढुंगाको उकालो पार गरेपछि बायाँतिर छ, यो रेस्टुरेन्ट।
दुईतले घरमा एउटा सटरमा देव फ्रेस हाउस लेखिएको मासुपसल छ। एकातिर होटल र अर्कोतिर न्यू रेस्टुरेन्ट लेखिएको बीचमा ढोका छ। ढोकाबाहिर खानाका परिकारका नाम लेखिएका छन् । हामी निगरानीका लागि न्यू रेस्टुरेन्टभित्र छिर्यौँ। निकै फराकिलो स्पेस भएको यो रेस्टुरेन्टमा एकातिर काउन्टर थियो भने दायाँबायाँ टेबुल–कुर्सी राखिएका थिए। एक र अर्को टेबुलको बीचमा पर्दा हालेर एकअर्कालाई झ्वाट्टै नदेख्ने बनाइएको थियो।
रेस्टुरेन्टमा दुई युवती मोबाइल चलाएर बसिरहेका थिए। हामीले चिया÷खाजा के खान पाइन्छ भनेर सोध्यौँ। दुईमध्ये एक युवतीले ‘यहाँ चियाखाजा त केही छैन’ भनिन्। कोल्ड ड्रिंक्स, जुस, बियर मात्रै पाइने जानकारी गराइन्। ‘बिहानको ९ मात्रै बजेको छ। केको बियर खानु? हामी त खाजा खान पाइन्छ कि भनेर आएको?’ हामीले भन्यौँ। ‘खाजा त छैन, जुस खानुस्,’ ती युवतीले भनिन्।
हामीले दुई वटा रियल जुस र एक बोतल पानी माग्यौँ। त्यति नै बेला एक युवती रातोपिरो हुँदै आइपुगिन्। हामीलाई जुस र पानी दिने युवतीले माथि रहेकी साथीलाई तल पुलिस आएको भनेर अत्याएर आएकी रहेछिन्। हामीलाई देखेर पुलिस होइन भन्ने लागेपछि लामो सास फेरिन् र साथीलाई गाली गरिन्। ‘हेर् न ! अर्कोपल्ट तँलाई पनि यसै गरी सातो लिन्छु,’ उनले आफ्नी साथीलाई भनिन्।
‘किन तपाईंहरू डराउनुभएको? यहाँ के गर्न आउँछन् र पुलिस?’ हामीले प्रश्न गर्यौँ। ‘आउँछन् नि बेला–बेलामा हामीलाई पक्रन’ युवतीले भनिन्। ‘किन पक्रनु नि? रेस्टुरेन्टमा काम गर्नेलाई?’ हामीले केही थाहा नपाएजसरी प्रश्न गर्यौँ। ‘तपाईंहरू यहाँ पहिला आउनुभएको थिएन र?’ एक युवतीले उल्टै प्रश्न तेस्र्याइन्। हामी दुईमध्ये एक जनाले पहिला पनि धेरै पटक आइसकेको बताएपछि ‘त्यसो भए त थाहा होला नि ! यहाँ विशेष काम हुन्छ’ भनेर ती युवतीले हामीलाई रेस्टुरेन्टमा हुने हर्कतबारे बुझाउन खोजिरहेकी थिइन्। हामी दुईमध्ये एक जनाले चिरपरिचितजस्तै व्यवहार गरेपछि दुई जना युवती चुरोट सल्काउँदै नजिकै कुर्सीमा बसेर ‘बियर खाऊँ न’ भन्न थाले। हामीले ‘बियर त हामी खाँदैनौँ, जुस खाने भए खानुस्’ भनेपछि तीनै जनाले जुस खान थाले।
‘बिहानै आउनुभएको छ। बोहनी नबिर्गानुस् है’ भन्दै युवतीहरू जुस र चुरोट खान थाले। त्यति नै बेला उनीहरूले ‘आमा’ भनेर सम्बोधन गर्ने एक जना महिला कोठाभित्रबाट बाहिर आइन्। उनी नै यो रेस्टुरेन्टकी सञ्चालक रहेको उनीहरूले बताए। घरबाट भागेर आएको बताउँदै एक युवती ‘आमा’ रेस्टुरेन्ट सञ्चालिकाले आफूलाई धेरै सुधारेको बताउँदै थिइन्। आमाबुबा नै वैदेशिक रोजगारीमा गएको र घरमा दाइ र आफू मात्रै भएको बताउने ती युवती आमाले ‘काम’ दिएपछि आफूलाई ढुक्क भएको बताउँदै थिइन्।
‘खाजा, खाना केही पनि नपाइने ठाउँमा चार÷चार जना स्टाफ किन चाहियो नि?’ हामीले भन्यौँ।
‘दाइहरू कति ल्याङ हानिरा’को। थाहा पाएर पनि थाहा नपाएजस्तो। हाम्रो काम नै अर्को हो। कति बेला हामी चारै जना व्यस्त हुन्छौँ। अहिलेलाई दुई जना व्यस्त हुनुपर्ला। तपाईंहरू दुई जना मात्रै आउनुभएको छ।’
उनीहरूले सीधा–सीधा सेक्स प्रस्ताव गरिसकेका थिए। हामी केही समय अलमल गर्ने र कुराकानी गरेर फुत्किने योजनामा थियौँ। उनीहरू ‘माथि जाऔँ’ भनिरहेका थिए। ‘हामीले यहाँ त नबस्ने डर हुन्छ’ भन्यौँ। उनीहरूले ‘यो रेस्टुरेन्ट सञ्चालकको गेस्टहाउस पनि छ त्यहाँ जाऔँ’ भने। दुई हजारमा सबै काम फत्ते हुने भन्दै युवतीहरू बिहानको बोहनी राम्रो बनाउन लागिपरेका थिए। हामीले रेस्टुरेन्टभन्दा माथिको सेटअप हेर्नका लागि ‘माथि हेरुँ अनि मात्र बसुँला’ भन्यौँ। एक जनाले हामीलाई माथि लगिन्। चार वटा चिटिक्क परेका कोठा थिए। ‘यहीँ हो बस्ने, डर मान्नुपर्दैन’ भन्दै युवती हामीलाई मनाउने प्रयास गरिरहेकी थिइन्। हामीले अरू दुई जना साथी पनि रहेको र उनीहरूलाई लिएर आउने भन्दै बाहिर निस्कन खोज्यौँ।
चारमध्ये एक युवतीले ढोकामा उभिएर बाहिर निस्कन दिइनन्। ‘दुई बोतल बियर किनेर दिनुस् अनि मात्र बाहिर जान पाइन्छ’ भन्दै ढोकामा उभिएर बाटो छेकिन्। उनले भनेजस्तै दुई बोतल बियर किनिदिएर त्यहाँबाट हामी उम्कियौँ।
निगरानी नम्बर २
जेठ ९ गते, बिहीबार, बिहान १० बजे
निर्भाना रेस्टुरेन्ट, नागढुंगा
निर्भाना र न्यू रेस्टुरेन्ट बीचमा कबाडी संकलन केन्द्र छ। निर्भाना, न्यू रेस्टुरेन्टबाट पोखरा एयरपोर्टतिर छ। एकतले यो घरको छतमा पिल्लर ठडिएका छन्। युनिक होटल एन्ड थकाली किचेनसँग जोडिएको छ । बिहानको १० बजे यो रेस्टुरेन्ट छिर्दा यहाँको माहोल मदिरामय थियो। दुई वटा टेबुलमा एक÷एक जोडी बियर खाएर बसिरहेका थिए। यो रेस्टुरेन्ट पनि फराकिलो नै थियो। भित्रको सेटअप पनि आकर्षक देखिन्थ्यो। हामीले खानाका परिकार हेर्नका लागि मेनु माग्यौँ। तर, त्यहाँ रहेकी युवतीले ‘केको मेनु चाहियो र? बियर, हार्ड ड्रिंक्स के खाने भन्नुस् न’ भनिन्।
‘हामी त खाजा खान पाइन्छ कि भनेर आएको,’ हामीले भन्यौँ।
‘यस्तो ठाउँमा पनि भोकै आउने हो त? यहाँ त शक्तिशाली भएर आउने र शिथिल भएर जाने हो,’ ती युवतीले जिस्किँदै भनिन्।
अन्दाजी तीन वर्षको बच्चा लिएर एक युवती अधबैँसे पुरुषसँग बसेर बियर पिउँदै थिइन्। काखमा छोरो च्यापेर चुरोटको धुँवा उडाउँदै बियर पिउँदै गरेकी ती युवतीले दूध खुवाउनुपर्ने बच्चालाई बियरको घुट्को लगाइदिइन्। बच्चालाई बियर खुवाएको देखेपछि हामीले ‘किन बहिनी, यति सानो बच्चालाई बियर खुवाएको?’ भन्यौँ। बियरले मातेकी उनी ‘तिमीहरूलाई के मतलब? मेरो बच्चा हो। म जे खान्छु, त्यही खुवाउने हो’ भन्दै कराउन थालिन्। बच्चा काखमा लिएर ग्राहकसँग बसेर बियर खाइरहेकी ती युवतीलाई हामीले ‘यो बच्चाको बाउ होलान् नि?’ भनेर सोध्यौँ।
उनले जंगिँदै ‘छैन बाउसाउ, तिमीहरू बाउ बन्ने भए बन, होइन भने नकराओ’ भन्दै हामीलाई हपारिन्। हामीसँग टेबुलमा बसिरहेकी अर्की युवती हामीलाई ‘उसको बच्चा हो जेसुकै गरोस्, हामी हाम्रो काम गरुँ न’ भनिरहेकी थिइन्। हामीसँग दुई जना युवती दिए। उनीहरूलाई एक÷एक बोतल बियर किनिदिएर हामी केही बेर गफ गर्न थाल्यौँ। उनीहरूले बियर खाँदै गर्दा निर्भानामा हुने यौनधन्दाको बारेमा बताए। भित्रपट्टि सुरक्षित कोठा रहेको र एक पटक यौन सम्पर्क राखेको दुई हजार लिने गरेको जानकारी दिए। दुई हजारमा रेस्टुरेन्ट सञ्चालकले आधा लिने गरेको जानकारी उनीहरूले दिए। बिहान १० बज्दा नबज्दै निर्भानामा पनि चार जना युवती कामका लागि आइसकेका थिए।
annapurnapost







