अलैंची उत्पादक किसान तथा व्यवसायीले आगामी साउनदेखि दोहोरो निकासी करको मार नझेल्ने बताएका छन् । विगत दुई वर्षदेखि दोहोरो करको मार झेल्दै आएका व्यवसायीले यो महिनाभर लागेको ठेक्कावाहेक आगामी साउनदेखि दोहोरो कर नतिर्ने बताएका हुन् ।
अलैंची उत्पादन भएको जिल्लामा निकासी कर र भण्डारण गरेर भारत प्रवेश गराउँदा कर तिर्दै आएका कृषक तथा व्यवसायीले सरकार समक्ष अलैंचीको दोहोरो कर हटाउन माग गरिरहेका छन् । उत्पादन भएको जिल्लाबाट निकासी कर तिरेपछि सरल ढंगले निर्यात गर्न पाउने कानुनी व्यवस्था रहेको व्यवसायीको भनाइ छ ।
किसान तथा व्यवसायीले जिल्ला समन्वय समितिलाई प्रतिकिलो १० रूपैयाँ निकासी कर तिर्ने गरेका छन् । अलैंची भण्डारण गरिने जिल्लामा पनि जिल्ला समन्वय समितिले प्रतिकिलोग्राम २ रूपैयाँ २६ पैसा निकासी कर लिने गरेको अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले बताए ।
“भण्डारण गरेको नगरपालिकामा भण्डारण बापत प्रतिबोरा १० रूपैयाँ कर तिर्दै आएका छौं,” कार्कीले भने, “भारततर्फ निर्यात गर्दा मेचीनगर नगरपालिकाले पुनः सेवा शुल्कका नाममा प्रतिगाडी २ हजार रूपैयाँसम्म लिने गरेको छ ।”
स्थानीय तहबाट लगाइएका अन्य कर गैरकाननी भएएको उनको भनाइ छ । यस्ता करले आर्थिक अध्यादेश २०७४ को गलत व्याख्या गरेको उनी बताउँछन् । महासंघले वाणिज्यमन्त्री, कृषिमन्त्री र उत्पादित प्रदेशका मुख्यमन्त्रीलाई करको मार घटाउन ज्ञापन पत्र बुझाइसकेको छ ।
दोहोरो करले अलैंची किसानलाई थप व्ययभार थपेकाले तत्काल अन्त्य हुनुपर्ने माग व्यवसायीको छ ।







