नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरणका बेला आलोपालो प्रधानमन्त्री चलाउने सहमतिको प्रसंग उप्काउँदै अबको १५ महिनापछि आफू प्रधानमन्त्री हुने अभिव्यक्ति सार्वजनिक गरेसँगै सिंगो पार्टीवृत्त तरंगित भइरहेको सन्दर्भमा उपप्रधान एवं रक्षामन्त्री तथा पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलसँग कान्तिपुरका श्रीश भण्डारी र दुर्गा खनालले गरेको कुराकानी :

पार्टी अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्री चलाउने सहमतिको प्रसंग उप्काउँदै अबको १५ महिनापछि आफू प्रधानमन्त्री हुने खालको कुरा गर्नुभयो । के त्यस्तै सहमति भएको हो ?

यो प्रश्नसँगै मैले एउटा प्रसंग झल्यास्स सम्झिएँ । पूर्वप्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहालजी केही समयअघि भारत जानुभएको थियो । भारतका केही सञ्चार माध्यममा उहाँलाई उद्धृत गरेर समाचार पनि आए । संयोगले एउटा टेलिभिजन अन्तर्वार्ता मैले पनि सुनेको/हेरेको थिएँ । त्यसमा प्रश्नकर्ता सञ्चारकर्मीले ‘तपाईंको त सहमति यस्तो यस्तो भएको छ रे’ भन्ने हिसाबले जिज्ञासा राखिन् । उहाँ (दाहाल) ले यस्तो सहमति छ भन्ने आशयले नै उत्तर दिनुभएको थियो ।

>मलाई त्यो उत्तर सुन्दा त्यति स्वाभाविक लागेको थिएन । म पार्टी केन्द्रीय सचिवालयको सदस्यलाई त्यो सहमतिको कुरा थाहा छैन । ‘किन यस्तो भन्नुभयो होला ?’ सहमति नै भएको भए पनि किन त्यहाँ भनेको होला ? भन्ने लागेको थियो । अध्यक्ष फर्केपछि मैले सचिवालयको बैठकमै ‘त्यहाँ (भारत) त्यस्तो कुरा आयो, हामीलाई त केही थाहा छैन । भएकै हो (सहमति) भने पनि तपाईंले त्यहाँ भनेको चाहिँ त्यति ठीक लागेन’ भनें । त्यसबेला उहाँ (दाहाल) ले मेरो जिज्ञासाको जवाफ दिँदै भन्नुभयो, ‘वास्तवमा त्यहाँ त्यस्तो कुरो भएको होइन, आमरूपमा सञ्चार माध्यममा यस्तो भन्ने गरिन्छ ।’

त्यो जवाफबाट मेरो चित्त त बुझेको त थिएन, तर चुप लागेको थिएँ । तपाईंले अहिले जिज्ञासा राखेपछि त्यो प्रसंग सम्झिएँ । दुइटा पार्टीका दुई अध्यक्षले पार्टी एकताको महान् काम गर्नका लागि छलफल र सहमति गर्नुभयो । त्यसको एउटा उचाइमा महत्त्व छ । कुनै सहमति समझदारी थियो भने पनि त्यो जसरी बाहिर आयो, उचित र उपयुक्त तरिकाले आएन । गलत सन्देश दिने, त्यसको प्रभाव र परिणाम नकारात्मक हुने हिसाबले बाहिर आयो । यस किसिमले कुराहरू बाहिर आउनु हानिकारक हो । त्यस किसिमको समझदारीका सन्दर्भमा मचाहिँ अलिक अलमलमै छु । सहमति भनेर आएको डकुमेन्ट मैले पनि हेरेको छु । यदि त्यो हो भने पनि त्यो अहिले त्यस्तो ढंगले कुरा गर्दा त्यसको राजनीतिक प्रभाव र सन्देश के जान्छ भन्ने ख्याल गरिएन, सोचिएन ।

उपयुक्त समय भएन भनेर केलाई इंगित गर्न खोज्नुभएको हो ?
१५ महिनापछि वा एक वर्षपछि होला रे । तर यसले हाम्रो राज्य सञ्चालनसँग गाँसिएका विषय, सामाजिक रूपमा त्यसको प्रभाव र असरहरू के हुन्छन् ? हामी लामो समयदेखि राजनीतिक अस्थिरताबाट आक्रान्त बन्यौं । नेपाली जनताले राजनीतिक अस्थिरताको दुर्भाग्यपूर्ण अवस्था झेल्नुपर्‍यो । अब त्यो राजनीतिक अस्थिरता अन्त्य होस् र स्थायित्व कायम होस् भनेर जनताले चाहेका हुन् । अनि अहिले पनि प्रकारान्तरले राजनीतिक अस्थिरताको सन्देश जाने हिसाबले हामीले आफूलाई प्रस्तुत गर्छौं भने त्यो त राम्रो भएन ।

सहमति कार्यान्वयन नहुने आशंका बढेकाले पो अध्यक्षले यो कुरा बाहिर ल्याउनुभएको होला कि ?

त्योबारे त उहाँसँग नै आवश्यक छलफल होला । आवश्यक पर्दा उहाँसँगै बुझौंला । तर के हो भने, त्यसले राम्रो सन्देश गएन । यो प्रक्षेपण गरेर बाहिर जनदबाब सिर्जना गर्ने मनसाय त अवश्य पनि होइन होला । एउटै पार्टीभित्र जनदबाब सिर्जना गरेर ‘यस्तो गर्छौं’ भन्ने मेरो आदरणीय अध्यक्षले कसरी सोच्नु भयो होला र ? त्यो म कल्पना पनि गर्न सक्दिनँ । हिजो दुइटा पार्टी हुँदा केही समझदारी भयो होला अब त एउटा सिंगल पार्टीभित्र रहेर जिम्मेवारीको व्यवस्थापन गर्ने कुरा हुनुपर्ने हो नि । अलग ढंगले सोच्नु हुँदैन । यदि दुइटा अध्यक्षबीचमा समझदारी थियो भने पनि त्यही हिसाबले त्यो समझदारीलाई कायम राख्नुपर्ने हो । तर ‘पब्लिक कन्जम्पसन’ को विषय बनाउने कुरा उचित होइन ।

तपाईंहरू त आफूलाई व्यवस्थित पार्टी भन्नु हुन्छ । त्यत्रो सहमति भएको कुरा पार्टीको बैठकमा कहिल्यै प्रस्तुत भएन त ?

तपाईंहरूले साविकको नेकपा एमाले सम्झेर व्यवस्थित भन्नुभएको होला । हामी व्यवस्थित हौं । (व्यंग्य मिश्रित भावमा) अब एकताबद्ध भएर थप व्यवस्थित हुँदा यस्तो अवस्था देखा परेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार