
वार्ताका बारेमा हामीले सुस्पष्ट दृष्टिकोण के राखेका छौँ भने यो जनता र राज्य, विद्रोही र सत्तापक्ष होइन अनि एउटा राज्य र अर्को राज्य हैन, सङ्घर्षशील शक्ति र दमन गरिरहेको शक्तिका बीचमा वार्ता हुने र भइराखेका विषयहरू छन् ।
यो भइराखेको विषय हो । यसमा हामी निरपेक्ष विरोध गर्ने, हुँदै हुँदैन भन्ने कुरा पनि गलत हो र सजिलै भइहाल्छ र त्यहीँबाट गइहाल्छ भन्ने कुरा पनि गलत हो । प्रयोगले के साबित गरेको छ भने समस्याहरू आएपछि, सङ्घर्षहरू भएपछि, विद्रोहहरू भएपछि, युद्धहरू भएपछि वार्ता पनि राजनीतिकै एउटा धार हो । त्यो राजनीतिभित्रै आउँछ, आउँदाखेरि त्यसको प्रयोग पनि हुन्छ भन्नेमा हामी स्पष्ट छौँ । त्यसमा हाम्रो कुनै द्विविधा छैन । अब दोस्रो कुरा के छ भने वार्ताको सीमा देखियो नि । वार्ताको सीमा विश्वव्यापी रूपमा पनि देखियो हैन, हाम्रै देशमा पनि देखियो । अमेरिका र सोभियत सङ्घले पनि वार्ता गरे तर अहिले सबै वार्ताबाट फर्केर गए । कहिले अमेरिकाले उता वार्ता भङ्ग गर्छ, कहिले हिजोको सोभियत सङ्घ, अहिलेको रुसले भङ्ग गर्छ । टुटे नि त सबै । अहिले चीन र अमेरिकाको बीचमा एउटा व्यापार युद्ध भन्नेछ, ट्रेड वार भन्ने चलिरहे छ । चलिराखेकै छ । अब समस्या फेरि बढिराखेको छ । त्यो त भइराखेकै छ । वार्ताको एउटा के सीमा देखियो भने यही पनि भो । यहीँ पनि राणा र काङ्ग्रेसबीच वार्ता भयो । त्यसपछि पञ्चायत र बहुदलहरूका बीच वार्ता भए ।
हाम्रो जनयुद्धमा पनि वार्ता भए तर एउटा सीमा के देखियो भने वार्तालाई ठीक ढङ्गले ग्रहण गर्न सकिएन, त्यसलाई प्रयोग गर्न सकिएन भने परिणामहरू जनताले अपेक्षा गरेअनुसार नआउने, राज्यको आवश्यकताअनुसार नआउने पनि देखियो । यसका सीमाहरू देखिए । राम्रो पनि भयो । कैयौँ ठाउँमा यसले शान्ति ल्याएको छ । परिवर्तन पनि गरेको छ । त्यो राम्रो पनि छ तर सीमा पनि छन् । हामीले के भन्यौँ भने सार्थक वार्ता ठीक छ गर्ने । सार्थक वार्ता, औचित्यपूर्ण वार्ता, परिणाममुखी वार्ता, एउटा निष्कर्षमा लैजाने वार्ता आवश्यक हुन्छ । त्यसका लागि हामी पूरै वार्ताविरुद्ध छौँ भन्ने कुरा मात्रै होइन । आजकै सन्दर्भबाट हेर्नुभने भने पनि उहाँहरूले त सर्त राख्नुभएको छ अहिले । हामी सुन्छौँ, हतियार बुझाउनुपर्छ । यहाँ ३५ दिने अल्टिमेटम पनि दिनुभयो केपीजीले । एउटा त हतियारको कुरा ठूलो वहसको कुरा छ । हामीसँग हतियार छ कि छैन भन्ने कुरा छुट्टै कुरा हो तर उहाँले छ भनेर पहिले नै तोकेर त्यो हतियार ल्याएर दिनुपर्छ हामीलाई अनि वार्ता भनेर भन्नुभएछ । अर्कोचाहिँ संसदीय व्यवस्था मान्नुपर्ने भनेजस्तो सुन्छु म । अर्को केके–केके, अब सङ्घर्ष हुँदैन, त्याग्नुपर्छ । यसरी पहिला सर्तहरू तेस्र्याएर वार्ताको भ्रममा जनतालाई भ्रमित पारेर दमन गर्छु भन्ने जो सरकारले सोचिरहेको छ त्यस्तो शैलीको वार्ताको औचित्य छैन । सम्भावना छैन । नेपालमा मजदुरहरूको अधिकार छैन । नेपाल त अहिले मजदुरको देश भइसक्यो भने पनि हुन्छ । कहाँ काम गर्छन्, नेपालबाहिर कति छन्, त्यो कुरा छोडदिऊँ । समग्रमा सायद सबभन्दा बढी मजदुरहरूले भाग लिने देश भनेको, श्रमिक जन्माउने देश सायद हाम्रै भइसक्यो ।
५०-६० लाख त बाहिर गएका छन् । मजदुरको मान्यता नपाउने, एकदम तल्लो तहको के, सामान्य, घरमा बसेको दासजस्तो बनाएर राख्ने श्रमिकहरू हामीले भोगेका छौँ । मजदुरको अधिकारको कुरा खै ? अहिले नेपालका मजदुरको कुरा मात्रै अब गर्नु हुँदैन हामीले । जहाँ गए पनि पुँजीवादी व्यवस्थाकै मजदुर त हुन् नि । अमेरिकाले हाम्रा दाजुभाइहरूलाई बनाउने मजदुरै हो् । भारतले बनाए पनि मजदुरै हुन् । चीनले बनाए पनि मजदुरै हुन् । मलेसिया र कतार जसले बनाए पनि हाम्रा नेपाली त मजदुरै त हुन् । विश्वभरिका पुँजीपतिले जहाँ शोषण गरे पनि, जहाँ चलाए पनि यी मजदुर हुन्, नेपालकै मजदुर । नेपालदेखि लिएर कतारसम्म फैलिएर छन् ती मजदुर । मजदुरहरूको अधिकारको कुरा यहाँ हुनुपर्छ । किसानको अधिकारको कुरा खै ? त्यो हुनुपर्छ । महिलाहरूको, नारीहरूको अधिकारको कुरा के हो ? आज चलिरहेको छ नि बहस, घुमाइफिराइ महिलालाई फेरि सम्पत्तिबाट वञ्चित गर्ने ? जुन दिनदेखि, हजारौँ वर्षदेखि महिलाहरूलाई सम्पत्तिबाट विहीन बनाएर पुरुषले जसरी दासत्व लाद्यो, महिलामाथि हाम्रा नारीमाथि अमानवीय दासत्व लाद्यो, त्यसको विद्रोह त पूरा भएकै छैन त । कानुनमा दुईचारवटा खेस्रा लेखेर केही महिलाहरूलाई माथिमाथि पु¥याएर हुन्छ ? जन्मिने बित्तिकैबाट नारीलाई समान अधिकार स्थापित गर्ने कुरा छ । त्यसपछि आउँछ दलितहरूको अधिकारको कुरा, नेपालका उत्पीडित जाति–जनजातिहरूको कुरा । यो सबैलाई हल गर्न तयार छ त सरकार ? राज्य ?
वार्ताले त्यसलाई गम्भीर रूपमा केन्द्रित गर्दै आएको छ त ? ठीक छ । हामी छलफल गर्न तयारै छौँ । हामीले यसरी हेरेका छौँ वार्तालाई । जहाँसम्म अनौपचारिक ढरूगले हाम्रा विभिन्न शुभचिन्तक मित्रहरूले कोसिस गरिरहनुभएको छ, त्यसलाई त हामी स्वागत गर्छौं ।
इरातोखबरसँगको अन्तर्वार्ताको सानो अंश ।







