नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको झन्डै २६ करोडमा अपचलनमा झन्डै २२ करोड अनियमितताका मुख्य अभियुक्त अरुणकुमार पाठकले आत्मसमर्पण गरेका छन्।
५ जेठदेखि फरार अभियुक्त पाठक १६ दिनपछि मंगलबार जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएका हुन्। पत्रकार सम्मेलन सकिए लगत्तै सादा पोशाकका प्रहरीले उनलाई नियन्त्रणमा लिए। उनले भारतको हरिद्वार, अयोध्या, इलाहावादमा तीर्थाटन गरिरहेको बेला परिवारका सदस्यमार्फत सम्पर्कमा आएको बताए।
उनले आफू भाग्नुपर्ने कारणबारे विज्ञप्तिमा भनेका छन्, ‘मसँग भएको जायजेथा बेचेर पनि ममाथि थोपरिएको आर्थिक भार व्यहोर्न नसक्ने भएपछि सबै कुरा छोड्छाड गरेर परिवारका सदस्यलाई समेत जानकारी नगराइ भाग्नुबाहेक मेरासामु अर्को कुनै विकल्प थिएन।’
सहकारी सञ्चालक समितिले उनलाई २१ करोड ९४ लाख ३६ हजार एक सय ४२ रुपैयाँ अपचलन गरेको अभियोग लगाएको छ। पाठकले १६ वैशाखमा उक्त रकम एक वर्षभित्र फिर्ता गर्ने लिखित कबोल गरेका थिए। ‘मेरो हिस्सामा आउने अपचलनको भागिदार म स्वयं रहनेछु र यस संस्थामा जम्मा गरेको जनताको रकम फिर्ता गर्न, गराउन तयार छु, पाठकले पत्रकार सम्मेलनमा सहकारीको रकम अपचलन गरेको स्वीकार गर्दै छानबिन समितिको प्रतिवेदन अनुसार आफूले फिर्ता गर्ने बताए।
‘छानबिन समितिले मेरो दायित्वमा जे निकाल्छ।म आफ्नो पूरै सम्पत्ति बेचेर भए पनि तिर्न तयार छु। अब म यो संस्थामा काम पनि गर्दैन। हरहिसाब सबै बुझाएर विदा लिन्छु, उनले भने, ‘तर, उनले आफू एक्लैले २२ करोड रुपैयाँ भने अपचलन गरेको होइन।‘
२०७६ वैशाख १ गतेका दिन संस्थाको कार्यालयमा बोलाइ मलाई परिबन्धमा पारी रकम हिनामिना गरेको भनी रु ९ करोड ९४ लाख ३६ हजार एक सय ४२ रुपैयाँ र दायित्वभित्र रहेको भनि १२ करोड रुपैयाँको कागज जालझेलपूर्वक गराइएको हो , उनले विज्ञप्तीमार्फत् सञ्चालक समितिलाई आरोप लगाएका छन्।
सहकारी संचालक समितिका अध्यक्ष हरदेव बक्स चौधरीले भने अपचलनबारे सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीको छानबिन प्रतिवेदनको रिपोर्ट अनुसार चारैजनालाई बोलाउँदा उनीहरुले आफैले रकम कबोल गरेर कागजातमा सही गरेको बताएका छन्। ‘कुनै करकाप र जालझेल गरेको होइन। हामीले पैंसा चलाएका छौं।
फिर्ता गर्छौं भनेर आफैले कबोल र सहीछाप गरेका हुन्, चौधरीले प्रष्ट पारे, ‘चारजना अभियुक्तमध्ये दुईजनाले त रकम नै फिर्ता गरिसके।अर्को एकजनाले केही रकम फिर्ता गरेको छ। अरु पनि दिन्छु भनेको छ। पाठकले अहिले किन करकाप गरेको भनिरहेका छन्।मैले बुझेको छैन।’
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले सहकारीको रकम अपचलनका मुख्य अभियुक्त अरुणकुमार पाठकलाई नियन्त्रणमा लिएको स्वीकारे। उनले छानबिन समितिको प्रतिवेदनका आधारमा मात्र अभियुक्तलाई मुद्दा चलाउने वा नचलाउने बारे अघि बढ्नेबारे भने, ‘यो विषय टुंगो नलाग्दासम्म पाठक प्रहरीकै नियन्त्रणमा हुनेछन्। छानबिनको रिपोर्टका आधारमा मुद्दा चलाउने प्रक्रिया अघि बढ्छ।’
अधिकतम् पूँजी ५२ करोड रुपैयाँ रहेको सहकारीका चारजना कर्मचारीले २६ करोड अनियमिता गरेका छन्। संचालक समितिले २३ जेठमा १० प्रतिशतका दरले रकम बाँड्ने जनाएको छ।annapurnapost
https://www.youtube.com/watch?v=QO4IngCbHpw







