सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी र सरकारका महत्वपूर्ण निर्णयहरु गर्न थालेपछि सरकार बाहिर रहेका ‘हेभी वेट’ नेताहरु उनीविरुद्ध रणनीति निर्माणमा जुटेका छन्।

सरकारको विदेश नीतिदेखि लिएर संवैधानिक अंगका नियुक्ति समेतमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निर्णय लिन थालेपछि पार्टीका तीन शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालबीच पटक–पटक छलफल भएको छ।

र, उक्त छलफलमा प्रधानमन्त्री ओलीको एकलौटी शैलीलाई चुनौति दिनुपर्ने निष्कर्ष निकालेको बताइएको छ। बहुचर्चित झम्सिखेल बैठकपछिका बैठकहरुबाट यी नेताहरुले त्यस्तो निष्कर्ष निकालेको बुझिएको छ।

तीन पूर्व प्रधानमन्त्रीहरुसँग पार्टीका प्रभावशाली नेताहरु पनि छलफल र संघर्षको तयारीमा छन्।  अनावश्यक विदेश यात्रा, वैदेशिक मामिला र सामरिक महत्वको नीतिमा अपारदर्शी तथा एकल निर्णय, संवैधानिक अंग तथा कुटनीतिक पद नियुक्तिमा स्वेच्छाचारिता जस्ता विषयलाई लिएर उनीहरुले चुनौति दिन र परिआएमा प्रक्रियागत तरिकाले शक्ति प्रदर्शन गर्नुपर्ने विकल्पबारे छलफल बुझिएको छ।

‘अमेरिकी खेमामा संलग्न हुने अर्थात नेपालको असंलग्नताको नीति विपरित जानेगरी ‘इन्डो प्यासिफिक स्ट्राटेजी’को अशं बन्ने, व्यक्तिगत रुपमा आफूहरुप्रति बफादारहरुलाई संवैधानिक निकायमा स्थान दिने जस्ता कामले नेकपा र नेतृत्व जनताको नजरमा गिर्दो तथ्यले पनि हामीलाई पिरोलेको छ। त्यसैले ओली विरुद्ध खुलेर लाग्नु पर्ने परिस्थिति छ’, ओलीविरुद्धको रणनीतिमा सामेल एक नेताले भने।’

नेकपाका तीन पूर्वमन्त्री वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल र घनश्याम भुषाल लगायत नेताहरुसँग छुट्टाछुट्टै परामर्शमा रहेको र यो रुपमा ओलीको निरन्तरता राष्ट्रका लागि घाटा हुने निष्कर्ष छ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार